आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दैनिक १० किलो सुनले बजारको माग धान्दैन : व्यवसायी

सोमबार, ०८ फागुन २०७९, १६ : १८
सोमबार, ०८ फागुन २०७९

काठमाडौँ । सुनचाँदी व्यवसायीहरूले नेपाल राष्ट्र बैंकले अनुमति दिएको दैनिक १० किलो सुनको आयातले स्वदेशी माग नधान्ने बताएका छन् । तीन वटा व्यावसायिक छाता सङ्गठनले दैनिक १० किलो सुनले बजारको एक तिहाइ माग मात्रै धान्ने जानकारी दिएका हुन् ।

हाल केन्द्रीय बैंकले दैनिक १० किलो सुन मात्रै आयातको अनुमति दिएको छ । यसअनुसार सुनचाँदी व्यवसायीहरूले दैनिक न्यून मात्रामा सुन प्राप्त गर्छन् । जसले बजारको माग नधान्ने नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घले संयुक्तरुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा व्यवसायीहरूले बताएका हुन् ।

‘बजारमा सिजनको समयमा दैनिक ४० किलोको हाराहारीमा र अफ सिजनको समयमा पनि झन्डै १० देखि १५ किलोको हाराहारीमा कच्चा सुनको माग हुन्छ,’ सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिकरत्न शाक्यले भने, ‘तर हाल दैनिक १० किलो मात्र कच्चा सुन आयात हुने गरेकोले यति सुनले आम उपभोक्ताको आवश्यकता पुरा गर्न कठिन छ ।’ यसबाहेक विदेशबाट आउने नेपालीहरूले बिना भन्सार ५० ग्राम सम्म र भन्सार तिरेर थप १०० ग्राम सुनका गरगहना ल्याउन पाउने सुविधा छ ।

तर, यसरी ल्याइएका सुनका गरगहनाहरूलाई प्रहरी प्रशासन र भन्सार विभागले जफत गरेपछि बजारमा झनै ठुलो समस्या आइरहेको महासङ्घको भनाइ छ । सरकारले सुनका गरगहना नेपाल ल्याउँदा सम्बद्ध चेकजाँच गर्ने स्थानमा नै त्यसको वैधता परीक्षण गर्न आवश्यक हुन्छ । भन्सार बाट विधिवत रूपमा ल्याइएका गरगहनाहरू त्यस पश्चात् व्यवसायीको पसलसम्म आइपुग्छ । तर, यसरी ल्याइएको सुनलाई अवैध सम्झने, गरगहना देख्ने बित्तिकै त्यस प्रति गलत आशङ्का गर्ने जस्ता गतिविधिले व्यवसाय नै धरापमा परेको उनीहरूको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप