आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अहङ्कार होइन करुणा जगाउने शिक्षाको आवश्यकता

सोमबार, ०८ फागुन २०७९, १७ : ०६
सोमबार, ०८ फागुन २०७९

शिक्षित कसलाई भन्ने ? 
एक दिन एउटा कार्यक्रममा जाने क्रममा गाडीमा चडेँ । चालकले ‘कीर्तिपुर विश्वविद्यालयको प्रोफेसर क्वाटरबाट एक जना पाहुनालाई उठाउनु छ सर’ भन्दै हुइँक्याए । गाडी प्रोफेसर–क्वाटर पुग्यो । एक अधबैँसे महिला गाडीमा चढिन् । शिष्टाचार आदानप्रदान भयो । चिना–परिचय गरियो । नेपालको सबैभन्दा शिक्षितहरू बस्ने ठाउँमा बस्नुभएको रहेछ मेडम भन्दै गफगाफ गर्न के सुरु मात्र गरेको थिएँ ! मेडमले मुख बिगार्दै ‘प्रोफेसर भनेर के गर्नु ! पढाउन जाँदा करेसामा लगाएको सागपातमा खकार्दैै हिँड्छन्’ भनिन् । 

विश्व प्रसिद्ध विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा उत्तीर्ण भएर वर्षौं वर्ष अरूलाई शिक्षित बनाउने कार्यमा लागेका प्रोफेसरलाई शिक्षित भन्ने कि नभन्ने ।

शिक्षाविद् कसलाई भन्ने ? 

एउटा कार्यक्रममा उद्घोषकले एक व्यक्तिलाई डाक्टर, प्राध्यापक, विज्ञ, विश्वविद्यालय विजेता, सुनको तक्माले सम्मानित (गोल्ड–मेडलिस्ट) साथै लगायत थरीथरीका उपमासहित वरिष्ठ शिक्षाविद् भन्दै मञ्चमा भाषण गर्न बोलाए । विज्ञले भाषण सुरु गरे– ‘आजको भूमण्डलीकरणको युगमा पृथ्वी एउटा सानो गाउँ  भएको छ । अहिलेको आर्टिफिसियल इन्टेलिजेन्सको जमानामा हाम्रो शिक्षा प्रणालीलाई समसामयिक बनाउनुपर्छ । अझै प्रतिस्पर्धी बनाउनुपर्छ ।’ उनले थपे– ‘आज भन्दा ४०–५० वर्षअघि एसएलसी पास गर्नेलाई हात्तीमा चढाएर बजार परिक्रमा गराउने चलन थियो । बिनाप्रस्तस्पर्धा जागिर पाउँथ्याँे । तर अहिले जमाना बदलिएको छ । अब पढेर, पास गरेर मात्र पुग्दैन । प्रतिस्पर्धा बढेको छ । जसले सबैलाई पछार्छ, सबैलाई जित्छ, उही अब्बल हुन्छ, विज्ञ कहलिन्छ । आज मास्र्टस् गरेको एक नेपालीले बेलायत तथा अमेरिकाका विश्व प्रसिद्ध युनिभर्सिटीबाट मास्र्टस् गरेकासँग प्रतिस्पर्धा गर्नुपर्छ । अबको प्रतिस्पर्धा केवल मानिससँग मात्र हैन, कृत्रिम बुद्धिमता भएका च्याट–जीपीटी, बार्ड जस्तासँग छ । यी कृत्रिम बृद्धिमता भएका यन्त्रले मानिसको व्यवहार अध्ययन गर्ने र त्यो एल्गोरिदमको आधारमा मानिसले के गर्दैछ भनेर अनुमान गर्न सक्ने अनि सोहीबमोजिम काम गर्ने कृत्रिम मानव यन्त्रसँग आजका विद्यार्थीले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । त्यसैले आजको शिक्षा भनेको अहिलेको प्रतिस्पर्धामा सबैभन्दा खरो उत्रन सक्ने शिक्षा आजको आवश्यकता हो’ भन्दै भाषण ठोक्दै थिए । पिँडीमा बस्नेहरूले वाह ! दामी बोल्यो भन्दै ताली बजाए ! 

के हामीलाई प्रतिस्पर्धा सिकाउने शिक्षा चाहिएको हो ? 

प्रतिस्पर्धा गर्न सिकाउने कि प्रेम, स्नेह गर्न सिकाउने ! सहिष्णुता सिकाउने ! जहाँ प्रतिस्पर्धा हुन्छ त्यहाँ ईष्र्या हुन्छ । जहाँ ईष्र्या हुन्छ, त्यहाँ द्वेष हुन्छ । कलह हुन्छ । जालझेल हुन्छ । लडाइँ हुन्छ । युद्ध हुन्छ । इतिहास साछी छ– गएको तीन हजार ४ सय वर्षको इतिहासमा ३,१३२ वर्ष युद्धमा बितेको रहेछ (द न्युयोर्क टाइम्स ६ जुलाई २००३– ह्वाट एभ्री पर्सन सुड नो एबाउट वार)’ कम्तीमा २६८ वर्ष  मान्छे युद्ध नगरी शान्तिसँग बसे भन्ने लाग्ला तर त्यो समयलाई शान्तिको समय भन्नुभन्दा पनि युद्धको तयारीमा लागेको समय भन्नुपर्ला । 

विद्वान् र अनपढबीचमा भिन्नता के ? 

एक साँझ एक विद्वान मित्रलाई (अदालती भाषामा) भेट्न उनको ल फर्ममा गएँ । कोभिडको महामारी पछाडि ल फर्म खासै चलाउन सकिएन । घरपरिवार, अफिस चलाउन हम्मे हम्मे परेको बताउँदै तिनले सहयोग गर्न अनुरोध गरे । एक मित्रको नाताले साथीको ल फर्म राम्रोसँग चलिदेओस् भन्ने लाग्यो । 

फर्कने क्रममा साँझतिर एक होटेलमा पसे । चिया मगाए । एक ग्राहक कुनामा चुपचाप फटाफट रक्सीमासु खाएर उठे । काउन्टरमा पैसा तिरे । निक्लन बढे । साहुनीले साहुतिर फर्केर यस्तो ग्राहक भगवानले दिनैपिच्छे पाठाइदिए हुने नि भन्दै गर्दा ती मनुवाले सुने । अनि पछाडि फर्के र भने– मेरो व्यवसाय राम्रोसँग चलो भने म नै दिनैपिच्छे आउँला । बरु मेरो व्यवसाय राम्रोसँग चलोस् भनेर भगवान्सँग प्रार्थना गरिदिनुस्– ती मनुवाले भने । साहुले के व्यवसाय गर्नुहुन्छ भन्दा  ‘त्यही अघि यहाँ दिएको कोइला बेच्छु,’ उनले भने । कोइला कहाँबाट ल्याउनुहुन्छ भन्दै साहुले सोधे । ती मनुवाले पशुपतिको घाटबाट ल्याउँछु भनेँ । 

मैले मेरा पढेलेखेका विद्वान् मित्रको ल फर्म राम्रोसँग चल्न झैझगडा, मुद्दामामिला बढोस् भनेर कामना गर्नुपर्दा, ती अनपढ (अरूको नजरमा) साहुनीले त्यस्तो ग्राहकको व्यवसाय फस्टाउनुमा आर्यघाटमा धेरै लास पोलिऊन भनेर सोच्नुपर्दा, म कथित शिक्षित भनाउँदो र ती अनपढ साहुनीले जीवन बाँच्ने सन्दर्भको सोचाइमा फरक के भयो होला ! त्यस्तै मेरा पढेलेखेका विद्वान र ती अशिक्षित कोइला बेच्ने बीच जीवनबाँच्ने तौरतरिकामा रूपमा फरक देखिएला तर सारमा के फरक भयो ! म घोत्लिदै हिँडे । 

विज्ञ कसलाई भन्ने ? 

एक पल्ट कर्मचारी छान्ने सन्दर्भमा एक जेन्डर स्टडिजका विज्ञ (उनको भनाइमा)लाई अन्तर्वार्ता लिने संयोग मिल्यो । यसै क्रममा जेन्डर स्टडिज पढ्नको कारण सोधेँ । जेन्डर स्टडिज नयाँ विषय भएको र यसको स्कोप राम्रो रहेको उनले बताए । एक जेन्डरको विज्ञ जसमा जेन्डरसम्बन्धी संवेदनशीलता, मर्म तथा सञ्चेतनासँग कुनै साइनो छैन । यो विषय पढेर समाजमा रूपान्तरणका लागि पहल गर्ने कुनै चाहना छैन, सोच छैन भने त्यस्तो कथित विज्ञ जनाउने खोस्टोको के काम ! त्यस्तो खोस्टो देखाएर विज्ञ हुँ भन्ने अहङ्कारको पोकोको के काम ! जेन्डर विषय यहाँ प्रसङ्गवश उल्लेख भएको मात्र हो । अहिले कलेज तथा विश्वविद्यालमा पढाउने सबै विषयको यथार्थ भनेको जागिर खाने औजार र विज्ञ हुँ भन्ने अहङ्कार उत्पन्न गराउने एउटा खोस्टो बनेको छ ।   

महाज्ञानी कसलाई भन्ने ? 

यस धर्तीका सर्वकालीन महानतम वैज्ञानिक अबलर्ट आइन्सटाइनले मृत्युको सन्निकटको अवस्थामा यस ब्रह्मान्डमा आफूले जानेको अत्यन्त सीमित रहेको र जान्न बाँकी अनन्त रहेको स्विकार्दै आफूले आफूलाई परमअज्ञानी भनेका थिए । प्राचीनकालका (४७०–३९९) एन्थेसका एक युनानी दार्शनिक शुकरातको विद्वता चारैतिर फैलिएको थियो । केही युवाहरू शुकरातलाई भेट्न गए । हाम्रा गाउँघरमा तपाईंलाई महाज्ञानी भन्छन् । त्यही भएर तपाईंको दर्शन गर्न आएका– ती युवकहरूले सुकरातलाई भने । ‘जब म सानो थिएँ । जीवनको त्यति अनुभव थिएन । जीवन र जगत्का बारेमा जानकारी थिएन । हो, त्यतिखेर म महाज्ञानी छु भन्ने लाग्थ्यो । जब युवा भएँ, जिन्दगी बिताउन भौँतारिन थालेँ । धेरै हन्डर, ठक्कर खाएँ । समाजलाई चिन्न थालेँ । जीवन के हो भन्ने विस्तारै बुझ्न थालेँ । तथापि म केही त जान्दछु भन्ने अझै लाग्दैथियो । जब जब ममा जति धेरै अनुभवको वर्षा हुन लाग्यो, जति म लामो अनुभवको जिन्दगी बाँच्दैगएँ, ममा रहेको ज्ञानको भ्रम, अहङ्कारको घर विस्तारै भत्किँदै गयो । अहिले म जिन्दगीको उत्तराद्र्धको जीवन बाँच्दैछु । मृत्यु शामितको जीवन बाँच्दैछु । यसै क्रममा मैले केही जानेको रहेनछ भन्ने सत् ज्ञानको आभास भयो । म महाज्ञानी हैन, महाअज्ञानी रहेछु भन्नेमा अहिले ममा कुनै भ्रम रहेन’– शुकरातले भने । तिमीहरू जाओ ! आफ्नो गाउँ फर्क र त्यहाँका मानिसलाई भनिदेऊ शुकरात महाज्ञानी हैन महाअज्ञानी रहेछन् भनेर । युवाले शुकरात महाज्ञानी हैन महाअज्ञानी रहेछन्, उनले भनेको भनेर गाउँका बुद्धलाई सुनाए । बुद्धले मुस्कुराउँदै जसले आफूलाई परमअज्ञानी सम्झन्छ उसैका लागि परमज्ञानको द्वार खुल्छ भने । 

शिक्षा केका लागि ? 

एक दिन एक  ‘नामुद’ (चलनचल्तीको भाषामा तर व्यवहारमा धेरै पैसा असुल्ने) प्राइभेट स्कुलको गाडीमा ‘एडुकेसन फर बेटर फ्युचर’ (सुन्दर भविष्यका लागि शिक्षा) लेखेको देखे । स्कुलका नानीबाबुलाई अहिले मेहनत गरेर पढे भविष्य राम्रो हुन्छ । सुखमय हुन्छ । त्यसैले मेहनत गरेर पढ भन्न खोजेको होला भन्ने लाग्यो । गाडीमा यसरी लेख्न लगाउने व्यक्ति पक्कै पनि त्यो स्कुलमा ठूलै मान्छे भनेर चिनिने प्रिन्सिपल तथा त्यसको फाउन्डर नै हुनुपर्छ होला भन्ने पनि लाग्यो । 

ती ससाना नानीबाबुहरूको बेटर फ्युचर कुन समयलाई र कस्तो अवस्थालाई भनेको होला ! एसईई दिँदा तथा पास हुँदाको समयलाई भनेको हो कि ? कलेज पढ्दाको समय या पढाइ सकेर जागिर खाँदाको समय हो कि ? या त दाम्पत्य जीवनको सुरुवातको समय या छोराछोरी हुर्काउँदा या पढाउँदाको समय हो कि ? या त आफ्ना छोराछोरीे हुर्काइ बढाइ या बिहेबारी गर्दा या सबै छोराछोरी नातिनातिना सात समुद्र पारि ग्रिनकार्ड लिई बसेको अवस्था र आफू जीवनको उत्तराद्र्धमा सकस तथा निरासाको जीवन बाँच्दै मृत्यु कुरिरहेको अवस्था, कुनलाई भन्न खोजेको हो ? 

समाजमा रूपान्तरणका लागि पहल गर्ने कुनै चाहना छैन, सोच छैन भने त्यस्तो कथित विज्ञ जनाउने खोस्टोको के काम ! त्यस्तो खोस्टो देखाएर विज्ञ हुँ भन्ने अहङ्कारको पोकोको के काम ! 

जुन शिक्षाले पल–पलमा आनन्द जीवन बाँच्न सिकाउँदैन तर भविष्यमा सुख प्राप्ति हुन्छ भन्दै झुटको खेती गर्ने शिक्षाको के काम ! शिक्षा यस्तो होस् जब बालबालिकाले ग्रहण गर्दा जिन्दगीको सबैभन्दा उत्कृष्ट आनन्दको महसुस गराओस् ! जीवनोपयोगी शिक्षा त्यो हो, जसले पलपलको जिन्दगी आनन्दसँग बाँच्न सिकाओस् र अरूलाई पनि गरिमाको जीवन बाँच्न मद्दत गरोस् । प्रेरणा दिन सकोस् । अहिले पढ्दा सास्ती भए पनि भविष्य सुखी हुन्छ भन्ने उधारो शिक्षा केवल व्यापारको शिक्षा हो, झुटको खेती हो । 

यस धर्तीमा पाइने असङ्ख्यक जीवनमध्ये मानिसले (आफूले–आफूलाई) सबैभन्दा विवेकशील प्राणी हो भन्न विद्यालयमा सिकाएको, घोकाएको सम्झन्छु । मानिस सामाजिक प्रााणी हो । सबैभन्दा चलाख, चेतनशील आदि विशेषण पहि¥याउँदै रटाको सम्झन्छु । अहिले महसुस हुन्छ । के यो साँच्चै हो त ? के धर्तीका अन्य प्राणी तथा जीवजन्तुले मानिस सबैभन्दा चेतनशील प्राणी हो भनेर स्वीकारेका छन् ! आफूले आफूलाई संसारको सबैभन्दा चेतनशील, चलाख हुँ भनेर स्वघोषणा गर्ने मान्छेलाई १५–२० वर्ष एक सूत्रीय घोटिएर, करले, मन नलागी–नलागी घोक्नु, पढ्नुको प्रमुख कारण त्यही जाबो एक माना अट्ने पेट पाल्नै हो भने यस्तो सर्वशक्तिमान मनुष्यलाई निरीह बनाउने आत्मघाती शिक्षा किन पढाउने ! 

असङ्ख्य जीवजन्तु जनावरलगायत सबै प्राणीले आफ्नो आयु बाँचेका छन् । मान्छेका हेराइमा एउटा तुच्छ कछुवाले मानिसको भन्दा तीन गुणा लामो आयु बाँच्छ । यस धर्तीमा असङ्ख्यक अन्य जीव–प्राणी कसैले पेट पाल्न मान्छेले जस्तै कोलाहल मच्याएका छन् ? मान्छेलो जस्तो ढाँट, जालझेलको पेसा अपनाएका छन् ? 

एक हल गोरू धपाउँदै लैजाँदा एक किसानसँग बाटामा भेट भयो । गफगाफमा ‘गोरू मेरा हुन् । मैले पालेको– उनले भने । ती गोरु छाडा छोड्दा के खान नपाएर मर्छन् भन्दै मैले सोधेँ । के को मर्नु ! साँढे हुन्छन्, साँढे– किसानले भने ।  मनमनै सोँचेँ– मान्छेले गोरू पालेको हो कि, गोरूले मान्छे पालेको ! गोरूले मान्छेलाई पालेको छ भन्न म लाज हुने भएर मान्छेले गोरू पालेको भनेको होला भन्ने लाग्यो । धर्तीमा कुनै अन्य प्राणी जो आफू पालिन मानिससँग आश्रित छ ?  

चेतनशील प्राणी कसलाई भन्ने ? 

हाम्रो अस्तित्व पृथ्वीसँग गाँसिएको छ । यो सत्य हो । अर्को तीतो सत्य– यस धर्तीलाई सबैभन्दा बढी माया कुन प्राणीले गर्छ, यस धर्तीमा राज गर्ने तथा सबैभन्दा चेतलशील प्राणी मानिसले ? कि यसमा आश्रित अन्य जीवजन्तुले ? तपाईं स्वीकार गर्नुस् या नगर्नुस्– सत्य के हो भने अहिलेको अवस्थामा यस धर्तीको सबैभन्दा ठूलो शत्रु भनेको मान्छे हो, केवल मान्छे । यो धर्तीका असल मित्र भनेको अन्य जीवजन्तु र प्राणी हुन् । ती जीवजन्तु तथा प्राणीको अस्तित्वबिना यस धर्तीको कल्पना गर्न सकिँदैन (उल्टो–सुल्टो दुवै) । 

शिक्षा यस्तो होस् जब बालबालिकाले ग्रहण गर्दा जिन्दगीको सबैभन्दा उत्कृष्ट आनन्दको महसुस गराओस् ! जीवनोपयोगी शिक्षा त्यो हो, जसले पलपलको जिन्दगी आनन्दसँग बाँच्न सिकाओस् र अरूलाई पनि गरिमाको जीवन बाँच्न मद्दत गरोस् । प्रेरणा दिन सकोस् ।

यो धर्तीमा एउटै मानिस भएन भने के हुन्छ ? यस धर्तीमा एउटै मान्छे नहुने हो भने यो धर्ती झनै हराभरा हुन्छि साँच्चिकै सुन्दर, शान्त, मनमोहक हुनेछिन् । धर्ती साँच्चीकै मुस्कुराएकी हुनेछिन् । अहिलेका यो विरुप, कोलाहल, प्रदूषण अशान्त, लडाइँ, झगडा, हिंसा, युद्ध आदि सबैको जननी भनिने कथित मानिसको उपज हो । धर्तीलाई उजाड बनाउने, निरस तथा नर्क बनाउने काम यदि कसैले गरेको छ भने त्यो सबैभन्दा बढी अहिलेका कथित शिक्षित भनाउँदा मान्छेले गरेको छ । अरूले हैन ।   

त्यसैले अबको शिक्षा कस्तो हुनुपर्छ ? 

शिक्षा धर्तीलाई नष्ट हुन तथा उजाडिनबाट बचाउने हुनुपर्दछ । धर्तीलाई  साँच्चीकै स्मरणीय बनाउन प्रोत्साहित गर्ने हुनुपर्दछ । अहिलेको प्रतिस्पर्धामा आधारित शिक्षा प्रणालीबाट यो सम्भव छैन । यस्तो शिक्षा प्रणालीलाई सुधार गरेर पुग्दैन ।  पूर्ण खारेज गर्नुपर्दछ । शिक्षा भनेको धर्तीको सबैभन्दा नजिकको मित्र बनाउने हुनुपर्दछ न कि धर्तीको सबैभन्दा ठूलो शत्रु पैदा गर्ने । शिक्षा यस्तो हुनुपर्दछ, जसले उत्पादन गर्ने शिक्षित व्यक्तिले यस धर्तीलाई मात्र हैन यस ब्रह्माण्ड सबै र यिनमा आश्रित सबै सजीव र निर्जीवको अस्तित्वलाई सम्मान गर्ने, उनीहरूप्रति प्रेम, करूणाको अविर्भाव  गर्ने हुनुपर्छ । त्यस्तो शिक्षा जहाँ सफलता र असफलता सिकाउने हैन बरू अरूको अस्तिवको सम्मान गर्ने, सहिष्णुता सिकाउने हुनुपर्दछ । विद्वान हुनुको अहङ्कार हैन परमअज्ञानीको साश्वत सत्यलाई अनुभूत गर्न सक्ने शिक्षा हुनुपर्दछ ।  

जब शिक्षाले करूणामय बन्न सिकाउँछ, प्रेमिलको जिन्दगी बाँच्न प्रोत्साहित गर्दछ । त्यस्तो शिक्षाले जाबो पेट भर्ने, अन्वेषण गर्ने, ऐस–आरामको जीवन बाँच्न तड्पिरहनु पर्दैन । यी त बाई–प्रोडक्ट हुन्छ । असली शिक्षाले मानिसको जीवनमा माया, प्रेम, स्नेह, सद्भाव, करुणा ल्याउने हुनुपर्दछ । शिक्षाले केवल मानिसको अहमतालाई मलजल गर्ने नभई यस धर्तीमा आश्रित सबै निर्जीव तथा जीव प्राणीको अस्तित्वलाई सम्मान गर्नसक्ने, प्रेम गर्नसक्ने हुनुपर्छ । 

यस अन्नत ब्रह्माण्ड र अनन्त समयकालमा मान्छेको जीवन केवल एक क्षणभङ्गुर हो । यो क्षणभङ्गुरमा न जित्ने केही छ, न त हार्ने केही छ । न त यस धर्ती छोड्दा लाने नै केही छ । सहज, आनन्दको जीवन बाँच्ने र सबै जीवप्राणीलाई सहजको आनन्दको जीवन बाँच्न सहयोग पु¥याउने करुणामयी हुन प्रोत्साहन गर्ने शिक्षा आजको आवश्यकता हो । 

आफूले–आफूलाई संसारको सबैभन्दा चेतनशील, चलाख हुँ भनेर स्वघोषणा गर्ने मान्छेलाई १५–२० वर्ष एक सूत्रीय घोटिएर, करले, मन नलागी–नलागी घोक्नु, पढ्नुको प्रमुख कारण त्यही जाबो एक माना अट्ने पेट पाल्नै हो भने यस्तो सर्वशक्तिमान मनुष्यलाई निरीह बनाउने आत्मघाती शिक्षा किन पढाउने !

यस अन्नत ब्रह्मान्ड र अनन्त समयकालमा मान्छेको जीवन केवल एक क्षणभङ्गुर हो । यो क्षणभङ्गुरमा न जित्ने केही छ, न त हार्ने केही छ ।  यस धर्ती छोड्दा लाने नै केही छ । सहज, आानन्दको जीवन बाँच्ने र सबै जीवप्राणीलाई सहजको आनन्दको जीवन बाँच्न सहयोग पु¥याउने सीप कला जान्न प्रोत्साहित गर्ने शिक्षा आजको आवश्यकता हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णप्रसाद सुवेदी
कृष्णप्रसाद सुवेदी
लेखकबाट थप