आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

द्रुतमार्ग निर्माणका क्रममा सट्टाभर्ना बापत लगाएका बिरुवा सङ्कटमा

मङ्गलबार, ०९ फागुन २०७९, ०९ : ३२
मङ्गलबार, ०९ फागुन २०७९

बारा । बारा कोहल्वी नगरपालिकाले चालु आर्थिक वर्षमा लगाएको नदीजन्य पदार्थको ठेक्काले  काठमाडौँ–तराई मधेस द्रुतमार्ग क्षेत्रमा कटान भएका रुखको सट्टाभर्ना स्वरूप लगाईएको बिरुवाहरू मर्न थालेका छन् ।

ठेकेदार कम्पनीले बकैया खोलाबाट टिपरद्वारा नदीजन्य पदार्थ द्रुतमार्ग निर्माण सट्टाभर्ना वृक्षारोपण क्षेत्र र वन क्षेत्रबाट ओसार—पसार गरेसँगै सेनाले लगाएका नयाँ बिरुवाहरू मर्न थालेका हुन् । सरकारले उच्च प्राथमिकतामा राख्दै राष्ट्रिय गौरवको आयोजना काठमाडौँ-तराई  द्रुतमार्ग निर्माणका लागि एउटा रुख कटान भए बराबर २५ बिरुवा रोपण गर्ने योजना अनुसार कोहल्वी नगरपालिका २ हैसियत बिग्रिएको खाली वन क्षेत्रमा सेनाले वृक्षारोपण गरी बिरुवा हुर्काउँदै आएको थियो ।

ठेकेदार कम्पनीले नदीजन्य पदार्थ ढुवानी गर्न तामागढी साझेदारी वन व्यवस्थापन समितिको संरक्षित वन क्षेत्र र काठमाडौँ-तराई द्रुतमार्ग सडक आयोजना वृक्षारोपण कार्यदल निजगढको वृक्षारोपण वन क्षेत्रको कच्ची सडकबाट झुरझुर अस्थायी प्रहरी चौकी हुँदै मुख्य सडकमा नदीजन्य पदार्थ ओसार—पसार गरी रहेको छ । दैनिक एक सयको हाराहारीमा टिपर गुडेसँगै नेपाली सेनाले संरक्षण गरी रहेको १५ हजार बोट, बिरुवालाई नराम्ररी असर परि रहेको छ भने, तामागढी साझेदारी वन व्यवस्थापनको वन क्षेत्र, राष्ट्रिय वन क्षेत्रका लाखौं बोट, बिरुवा, रुखहरूलाई समेत असर परेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

त्यसैगरी त्यहाँ रहने चराचुरुङ्गी, वन्यजन्तु र पानीका स्रोतहरू समेत प्रत्यक्ष वा अप्रत्यक्ष प्रभावित भएका छापिएको काठमाडौँ तराई द्रुतमार्ग सडक आयोजना वृक्षारोपण कार्यदल निजगढका प्रमुख एवं मेजर उज्ज्वल केसीले बताए ।

‘केही दिन अघि सम्म हेरौँ-हेरौँ लाग्ने हरिया बोट बिरुवा टिपर गुडाएपछि अहिले धुलोले पात छोपिएर हेरी नसक्नु छ, केही साना बिरुवा त मर्न थालिसकेका छन्’— मेजर केसीले भने । सेनाले वृक्षारोपण गरेका बिरुवा रेखदेखका लागि राखेका हेरालु समेत धुलोका कारण काममा आउन छोडेको सेनाले जनाएको छ  ।

biruwa2

‘प्रहरी कार्यालयको  छेवैबाट धुलो उडाउँदै टिपर कुदाउँदा पनि  प्रहरी चुपचाप बस्छन् । ठुलाबडाले जे गरेपनि हुने रहेछ, ठुलाबडालाई कानुन लाग्दैन क्या हो ?’ एक  स्थानीयले भने । कोहल्वी नगरपालिकाले चालु आर्थिक वर्षको जेठ मसान्तसम्मका लागि आव्हान गरेको नदीजन्य पदार्थको ठेक्का  प्रसाई निर्माण सेवा प्रा.लि., रियन्स निर्माण सेवा प्रा.लि., सिद्धार्थ  निर्माण सेवा प्रा.लि., राम दुलारी कन्स्ट्रक्सन प्रा.लि.-जेभी कोहल्वी बाराले ४ करोड १ रुपैयाँमा सकार गरेको हो ।  नगरपालिकाले ५७ लाख ११ हजार ८३५ घन फिट नदीजन्य पदार्थको न्यूनतम ठेक्का सकार रकम ३ करोड ९९ लाख ८२ हजार ८४८ रुपैयाँ ६९ पैसा तोकेको थियो ।

स्थानीय तह नगरपालिकाले तयार गरेको नदीजन्य पदार्थको आईईई रिर्पोटमा वन जंगल, कुनैपनि बोट बिरुवा, रुख, वातावरण, मानव बस्तीलाई कुनै असर नगर्ने गरी नदीजन्य पदार्थको उत्खनन, सङ्कलन, ओसार—पसार गर्नुपर्ने स्पष्ट लेखिएको छ । प्रति दिन बढीमा ३ सय घन मिटर भन्दा बढी नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने उल्लेख छ । तर ठेकेदार कम्पनीले निजगढ तामागढी स्थित बकैया खोलामा दैनिक दर्जनौँ सङ्ख्यामा टिपरहरू प्रयोग गरेर बकैया खोलाबाट नदीजन्य पदार्थ ओसारपसार गर्दै आएका छन् ।

ghurghur

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले आईईई रिर्पोटमा तोकिए विपरीत मापदण्ड विपरीतको नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, ढुवानी गरे जो—कोहीलाई पनि कानुनी कारबाही अघि बढाउने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप