आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत नाला सफाइ

मलमूत्र नालामै विसर्जन गर्दा सफाइमा समस्या
मङ्गलबार, ०९ फागुन २०७९, १९ : ५३
मङ्गलबार, ०९ फागुन २०७९

बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ ले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत नाला सफाइ थालेको छ । तर, मानव तथा चौपायाको मलमूत्र विसर्जन हुने गरेका कारण सफाइमा समस्या भइरहेको सफाइकर्मीहरु बताउँछन् ।

घरबाट निस्किने फोहोर पानीको निकासका लागि निर्माण गरिएका नालामा मानिस र चौपायाको मलमुत्रसमेत विसर्जन हुने गरेको छ । ग्रामीण भेगका केही वडामा नालालाई नै फोहोरको निकास बनाएर घर, गोठ, शौचालय निर्माण गर्ने तथा बाख्रा, कुखुराको खोर बनाउने गरिएको छ । जसका कारण दुर्गन्ध बढेको र सफाइमा समेत समस्या देखिएको सफाइकर्मीको भनाइ छ ।

‘नालामा दिसा, पिसाब, सिसा, गोबर सबै फ्याँकेका छन्, सफाइ गर्न धेरै गाह्रो छ,’ जीतपुरसिमरा उपमहानगर–११, खैरहवाकी लालमुनी देवी रामले भनिन्, ‘सफाइ गर्न वडाले मास्क, जुत्ता, ड्रेस केही दिएको छैन । हामीले नै त्यस्ता आवश्यक सामान ल्याउने गरेका छौं ।’

अर्की सफाइकर्मी सुनितादेवी रामको गुनासो पनि उस्तै छ । ‘वडाले हामीलाई मास्क, जुत्ता, हातमा लगाउने पञ्जा पनि दिएको छैन, सबै आफै किनेर लगाउन भनेको छ,’ उनले भनिन्, ‘नत्र काम छोड्देऊ भन्छ, घाउचोट लाग्यो भने आफै उपचार गर्नुपर्ने भनेको छ ।’

नाला सफाइका क्रममा केही महिलाले सिसाले काटेर घाउ चोट समेत लागेको गुनासो गरेका छन् । जीतपुरसिमरा उपमहानगर वडा नं ११ ले सोमबारदेखि ३ जना पुरुष र २७ जना महिलालाई खटाएर वडा अन्तर्गतका नाला सफाइ सुरु गरेको छ ।

उपमहानगरले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत गत वर्षको बजेटबाटै दलित तथा विपन्न बेरोजगार परिवारलाई रोजगारी दिएको हो । जसअन्तर्गत नाला सफाइ, बाटोको खाल्टाखुल्टी पुर्ने तथा कुलो, पैनी सफाइको काम भइरहेको छ ।

वडा नं ११ ले दैनिक ५७७ रुपैयाँ ज्यालादारीमा बिहान १० बजेदेखि ५ बजेसम्म काममा खटाउँदै आएको छ । वडाध्यक्ष विन्दालाल साहले ग्रामीण भेगको बाटो र नालासँगै जोडेर घर, गोठ, शौचालय बनाउने गरेका कारण सफाइमा धेरै समस्या भएको बताए ।

‘देहाततिर यस्तो समस्या धेरै छ, बाटोसँगै जोडेर घर बनाउँछन्, कति ठाउँमा त हामीले रोकेका छौँ तर दिनकै चौकीदारी गर्न सकिँदैन,’ उनले भने, ‘केहीको जग्गा २÷४ धुरमात्रै हुन्छ । उनीहरुलाई हटाउन पनि सकिँदैन, धेरै जग्गा हुनेले पनि बाटो र नालासँगै जोडेर घर, गोठ, शौचालय बनाउँदा धेरै समस्या छ ।’

वडा नं ११ ले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको ३ लाख बजेटबाट नाला सफाइ सुरु गरेको हो । वडाध्यक्ष साहले सफाइमा खटिएका महिलाहरुलाई सुरक्षा साम्रगीहरु दिने विषयमा उपमहानगरबाट कुनै जानकारी नआएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप