आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओशो : अध्यात्मका इन्द्रेणी

बुधबार, १० फागुन २०७९, १५ : २०
बुधबार, १० फागुन २०७९

तेरी सुरत से नही मिलती किसिकी सुरत लेकिन,
हम जहाँ मे तेरी तस्बिर लिये फिरते है ।

बीसौँ शताब्दीको उत्तरार्ध र त्यसपछि चेतनशील मानव समाज विचारगत रूपमा ओशोमय हुन पुग्यो । आजका सबै आध्यात्मिक गुरुहरू बाहिरी दृष्टिकोणबाट हेर्दा ओशोकै फिक्का नक्कलझैँ प्रतीत हुन्छन् । साम्यवादको खण्डन गर्दै पुँजीवादको मण्डन गर्ने अनि सायरी र चुटकिलाहरू सुनाएर आफ्ना श्रोताहरूलाई जतिबेलै आफ्ना सारगर्भित र रहस्यमयी प्रवचनमा खिचिरहन सफलसिद्ध भएका ओशोलाई छोडेर सुरु गरौँ उनकै एनलाइटेनमेन्ट प्रकरणबाट ः ओशो जगतमा बुद्धत्वको नामबाट प्रसिद्ध यो अन्तिम आध्यात्मिक अनुभूति हो । यस प्रकार सबै ओशो संन्यासीहरू, ओशोप्रेमी तथा ओशो अनुरागी साधकहरूको गन्तव्य या भनौँ अन्तिम उद्देश्य नै बुद्धत्व प्राप्ति हो । यो लक्ष्यको प्राप्तिपछि पाउनलाई केही शेष रहँदैन । यो पूर्णताको स्थिति हो । परम विश्रामको प्रयासरहित अवस्था हो । आउनुस् जानौँ यो स्प्रिचुअल एनलाइटेन्मेन्टका बारेमा केही मननीय कुरा । 

२१ मार्च सन् १९५३ मा भारतको मध्य प्रदेशको जबलपुरको एउटा उद्यानमा रहेको मौलश्री नामक रुखको फेदमा ओशोलाई जुन सत्य उपलब्ध भयो तत्पश्चात उनको सम्पूर्ण खोज समाप्त भयो । यस अवस्थाको प्राप्ति सबैलाई होस् भनेर नै ओशोले जीवनभर आफ्ना अलग अलग तरिका या विधिबाट सम्झाउने प्रयास गरे । त्यस समयसम्मका प्राचीन गूढवाद या रहस्यवाद या सङ्गठित धर्महरूद्वारा निर्दिष्ट साध्यहरूमा र ओशोको आध्यात्मिक लक्ष्यमा एउटा फरक छ ।

पुरानो अध्यात्मको लक्ष्य परम सदाचार, नैतिकता र संतत्व हो जब कि ओशोको एनलाइटेन्मेन्टमा त्यो नैतिकताको अभाव छ । सदाचारको परिभाषा पनि फेरिन जान्छ । संतत्व या बुद्धत्वको दृष्टिकोण नै बदलिन्छ । बुद्ध, महावीर र शङ्कराचार्य संन्यास, वैराग्य र एकान्तवासको कुरा गर्छन् । ओशो मार्गमा बाह्य संसार सँगसँगै हिँडेर आन्तरिक संन्यासको अन्तरयात्रा गर्ने चर्चा गरिएको छ । संसार र संन्यासलाई जोडेर त्यसलाई एकसाथ स्वीकृति दिने विचारलाई ओशो जोड दिन्छन् । 

अझ अरविन्दोले जसरी त्योभन्दा अगाडि गएर भोगको पराकाष्ठलाई ओशो पनि स्वीकार गर्छन् । ओशोको एथिक्स अब कुनै कृष्ण सम्प्रदाय या भक्तिमार्गी जस्तै या टेगोरको कविता जस्तै एस्थेटिक्स बन्न जान्छ । एक जना सन्तले गाएका छन्, ‘हरिनो जन तो मुक्ति ना मांगे, मांगे जनमो जन्म अवतार रे ।।’ इशो उपनिषद्को सन्दर्भ लिएर ओशो ‘तेन तेक्तेन भुन्जिता’को कुरा गर्छन् । यो कुरा सनातन धर्म दर्शनमा अवधुत त अत्याश्रमीहरूको वर्णनमा निहित नै छ, अष्टावक्र संहितामा पनि यसको गुन्जन सुनिन्छ । अर्कातिर जे. कृष्णमूर्तिको दर्शनमा पनि यसको मेल देखिन्छ । ओशो भन्छन्, ‘ईश्वरले संसार रचेका हैनन्, ईश्वर नै जगत बनेका हुन्’ । यहाँ भोग र त्याग दुवैको महत्त्व छ, यो एनलाइटेन्मेन्ट केवल बुद्ध बन्ने हैन, यहाँ जोरबा पनि निहित छ । 

यो घटनालाई बुद्धत्व भनिए पनि बुद्धत्वका पुराना अवधारणाभन्दा यो बिल्कुल भिन्न छ । ‘ज्योति से ज्योति जले’ प्रवचन मालाको एउटा प्रश्नको जवाफमा ओशोले नै यसलाई स्पष्ट गरेका छन् । प्रश्नकर्ता भन्छन्, ‘भगवान्, तपाईं दुनियालाई के सन्देश दिन चाहानु हुन्छ ?’ ओशो भन्छन्, ‘मेरो सन्देश सङ्क्षिप्त छ, यसरी सङ्क्षिप्त छ तर त्यसमा सारा शास्त्रहरू समाहित हुन्छन् । कुनै एउटा परम्पराको शास्त्र मात्र हैन, सबै परम्पराका शास्त्र समाहित हुन्छन् र अध्यात्मवादीहरूका शास्त्र मात्र हैन भौतिकवादीहरूको शास्त्र पनि समाहित हुन्छन् । म यस्तो धर्म दिन चाहन्छु, जो आस्तिक र नास्तिक दुवैका लागि समान रूपमा उपलब्ध होस् । अहिलेसम्मका सम्पूर्ण धर्म आस्तिकलाई मात्र उपलब्ध छन्, जसले मान्छन् उनीहरूका लागि मात्र उपलब्ध छ । तर उनीहरूलाई के त जो मान्दैनन् ? के तिनीहरूलाई छोडिदिऊँ ? के उनीहरूका लागि परमात्मासम्म पुग्ने कुनै उपाय छैन ? त्यसो हो भने यो पृथ्वी पूर्ण रूपमा धार्मिक कहिल्यै हुन नसक्ने भयो । केही न केही कमी हुने नै भयो । केही मानिसहरू सधैँ अधार्मिक हुनलाई बाध्य नै भइहाले । जो मान्छ या आस्तिक छ उसले खोज्दै खोज्दैन, अनि जो धार्मिक वा आस्तिक छन् उनीहरूको अधुरो खोज या धर्म केही कमीका साथ नपुंशक नै हुने भयो । असली खोज या क्रान्ति त उसले नै गर्न सक्छ जो मान्दैन, जो केवल जान्नमा उत्सुक छ, जो ‘मान्दिन’ भन्ने शब्दका साथ आफ्नो यात्रा सुरु गर्छ । क्रान्ति त त्यही घट्ने भयो । यस जगत्का जो परम धार्मिक मानिसहरू तिनै थिए जो कुनै बेला परम नास्तिकताबाट गुज्रिए । जसले आस्तिकताबाट सुरु गरे उनीहरूको आस्तिकता सदैव कमजोर या लङ्गडो रह्यो । 

मनुष्य पूरा धार्मिक हुन नपाउनुमा यही कमजोर धार्मिकता प्रमुख कारण हो । विश्वास पनि कुनै जबर्जस्ती गर्ने कुरा हो ? यो त हुन्छ त हुन्छ, हुँदैन त हुँदैन । विश्वास नगर्दा के परमात्मासम्म पुग्ने द्वार बन्द नै हुने हो ? यो त परमात्माको अन्याय भयो । त्यस्तो अन्यायी परमात्माको के काम ? म यस्तो धर्म दिन चाहान्छु जो श्रद्धाको पनि उपयोग गरून् अनि सन्देहको पनि र जहाँ भनियोस श्रद्धाबाट पनि पुग्न सकिन्छ अनि सन्देहबाट पनि । किनकि सबै मार्गहरू त्यही पुग्ने हो । 

अर्काे कोणबाट सरल रूपमा ओशोको एनलाइटेन्मेन्टलाई बुझ्दा जब कुनै मनुष्य एक व्यक्ति बन्न जान्छ अर्थात् ऊ सबै प्रकारका बाहिरी सामाजिक, धार्मिक, राजनीतिक या नैतिक विचारधाराहरूबाट मुक्त भई निर्भय र आन्तरिक अनुशासनका साथ जिउन थाल्छ तब उसलाई एनलाइटेन्ड भन्न सकिन्छ । जो सामाजिक छैन बिल्कुल व्यक्तिगत छ, जसले सबै जाति, धर्म, राजनीतिक, तथा सामाजिक दलहरूबाट निवृत्ति पाइसकेको छ, त्यो नै एनलाइटेन्ड (ज्ञान) हो । 

ओशोले अध्यात्मलाई त्यसको बाहिरी रूपरङ, चमक–धमक, चमत्कारको रूपमा सदैव नकारेका छन् । तर जीवनलाई एक रहस्यमय वस्तुको रूपमा सदैव प्रस्तुत गरे, जो तर्क र बुद्धिभन्दा पर छ । यो पुरानो धर्मशास्त्रमा वर्णित अध्यात्मभन्दा धेरै भिन्न नयाँ धर्म या विचारधारा हो, जसमा उनले अध्यात्मलाई एउटा मनोविज्ञान सरह पेस गरे । तपाईं आफैँ सोच्नुस् त, आजका कुन साधु या बाबाजीहरू सुकरात र शास्त्रको कुरा गर्छन् ? को अध्यात्मिक गुरु फ्रायड र साइक्लोजीको गहिराइमा लिएर जान्छन् ? कुन गुरु आइन्स्टाइनको सापेक्षवाद या यस्तै आधुनिक वैज्ञानिक शास्त्रमाथि तर्कसङ्गत कुरा गर्छन् ? ओशोलाई पढेर बुझेर सकेपछि दोस्रो बाबा या अध्यात्मिक गुरु कसैको मनलाई प्रभावित गर्दैछ भने उसले ओशोलाई बुझेन, यो स्पष्टै हुन जान्छ । सारा बाबाहरूका पनि बाबा ओशो नै हुन्– र एउटा टिपिकल बाबाभन्दा ओशो अलग्गै र धेरै अगाडि छन् । कुनै पनि अध्यात्मिक गुरुमा तपाईंले जे भेट्नु हुन्छ, त्यो ओशोमा पनि भेटिन्छ  । तर जो ओशोमा भेटिन्छ त्यो अरू कोही आध्यात्मिक गुरुमा भेटिँदैन ।

फेरि पृथक् कोणबाट ओशोको आध्यात्मिक दर्शनलाई हेर्दा के भन्न सकिन्छ भने ओशोले जे बोले त्यो विशुद्ध वेदान्त हो । त्यसलाई बुझेको उपलक्ष्यमा उनका समकालीन स्वामी चिन्मयानन्दजीले जुन वेदान्तका कोर्सहरू सुरु गरेका थिए त्यसलाई बुझ्नु आवश्यक छ । तथापि त्यो कोर्सलाई गरिसकेका सबै वेदान्तिहरू त्यो परम अवस्थासम्म त पुग्न सकेनन् । तर यसको मतलब अध्ययन नै निरर्थक भन्ने होइन । त्यो अध्ययनबाटै के थाहा पाउन सकिन्छ भने प्राप्त गर्नलायक केही छैन, जो छ सो छँदैछ । 
वेदान्त स्वध्यायबाट जीव–शिवको द्वैत तिरोहित हुन जान्छ र ‘अहं ब्रह्माष्मी’को अद्वैत अनुभव हुन् जान्छ । सुरु सुरुमा आम मानिसले ओशोलाई वेदान्तको प्रोफेसरका रूपमा बुझेका थिए । वास्तवमा उनी फिलोसोफीका प्रोफेसर थिए तर हिन्दुहरूले उनलाई वेदान्तको ज्ञाता या विद्वानका रूपमा चिनेका थिए, जुन स्वाभाविक थियो ।

वेदान्तको एउटा अर्थ पारामार्थिक हो, जसलाई अरुणाचलका सन्त रमण महर्षिले स्वानुभवपूर्वक आफ्नो मौलिक ढङ्गमा सहज रूपमा व्यक्त गरे । त्यसको व्यावहारिक अर्धघटन विवेकानन्द र अरविन्दोले गरे । विवेकानन्दले वेदान्त ज्ञानलाई राष्ट्र एवं समाजको विकासमा लागू गर्ने प्रयास गरे । अरविन्दोले उपनिषद्को त्यो ज्ञानलाई व्यक्तिगत चेतनामा समष्टिको अवतरणका हेतु प्रयोग गरे, जो राष्ट्र र समाजको विकासमा उपयोगी हुन्छ । यस सन्दर्भमा ओशो फरक थिए, ओशोले उपनिषद् र वेदान्तलाई एउटा अलग आयाम दिए । विवेकानन्द र अरविन्दो दुवैको उद्देश्य कतै न कतै सामाजिक थियो, उनीहरूले समूह विकासको वकालत गरेको प्रतीत हुन्छ ।

ओशोको वेदान्तले व्यक्तिलाई नै प्रधानता दिन्छ र अन्ततोगत्वा त्यसमा समूह विकास नै निहित छ । ओशोले परोपकारवादको घोर निन्दा गरे र स्वार्थ परायणवादको वकालत गरे । समाजवाद र धार्मिकतालाई ओशोले पुँजीवाद र नास्तिकताको परिणाम भने । उनले व्यक्तिको स्वतन्त्रता र उसको विकासलाई नै प्रधानता दिए । यसकारण मानिसहरूले जुन स्थान विवेकानन्द, अरविन्दो, समाज सुधारक एवं समाज सेवक सन्त र महात्माहरूलाई दिन्छन्, त्यो स्थान ओशोलाई दिन हिच्किचाउँछन् । वास्तवमा ओशोले आफ्नो छुट्टै स्थान बनाए र उनका कुराहरू नै अद्वितीय थिए, अतुलनीय थिए र उनको तुलना कुनै सन्त या सुधारकसँग गर्न सकिँदैन ।
 
ओशोले खुलेर पुँजीवादको समर्थन गरे । तत्कालीन भारतीय र वैश्विक राजनीतिक र सामाजिक परिप्रेक्ष्यमा ओशोले मानिसहरूलाई समाजवाददेखि सावधान गराए । वेदान्तको पुँजीवादी अर्धघटन एक फरक आइडिया हो । ओशोले आफ्नो जीवनमा अध्ययनलाई नै साधना बनाए । यदि उनका कुनै अनुयायीलाई अध्ययनमा रुचि छैन भने म त उसलाई ओशो संन्यासी मान्दिनँ । 

वेदान्तमा श्ववण नै साधना हो । यदि श्रवण ठीक ढङ्गमा गरिएको छ भने मनन पनि हुन्छ अनि जीवनमा लागू पनि हुन्छ । सारा खेल सुन्ने कलासँग सम्बन्धित छ । सुनियो कि जानियो, मनन गरियो कि श्रुति फर्कियो । कसैलाई केही गर्नु छैन, कहीँ पुग्नु छैन । बुद्ध स्वभावबाट कोही कहिल्यै अलग नै छैन । आत्म स्वरूपमा सबैको सहज स्थिति छ । कृष्णमूर्ति अनि जेन बुद्धिज्म पनि यही भन्छन् । यसलाई सत्योमुक्ति भनिन्छ । यो भविष्यको विषय हैन, तिमी अहिले यहीँ बुद्ध हौ, ‘द फस्ट एन्ड लास्ट फ्रिडम’ । यदि यसलाई कसैले नुबुझेमा ओशोसँग अरू तरिका पनि छन् । सय मार्ग छन्, अनेक ध्यानका प्रयोगहरू उनले नवप्रवर्तन गरे । सबै ढेडुको ब्यापार एक इस्प्रिचुअल बिजनेस हो । यद्यपि ओशो यो मूल वेदान्त या जेनहरूको मर्मका अतिरिक्त कसैको अनुमोदन गर्दैनन् । तर पनि अन्य उपायको निरूपण पनि गरिरहन्छन् । 

वेदान्तभन्दा बिल्कुलविपरीत मार्ग जर्ज गुर्जिएफको कामबारे चर्चा गर्दै गरेका ओशो पनि देखिन्छन् । गुर्जिएफ र अस्पेन्स्की जसलाई वर्क अन वान्सेल्फ भन्छन्, फोर्थ वे भन्छन्, सिस्टम भन्छन् । त्यसको एउटा छुट्टै प्रक्रिया छ । ओशोले आफूमा जति काम गरेका थिए त्यति त गुर्जिएफ र अस्पेन्स्कीले पनि गरेका थिएनन् होला– तर उनीहरूको तरिका फरक र मौलिक थियो । यसमा अब्जर्भेसनमा जोड दिइएको छ– जस्तो कि विपश्यना । यद्यपि सिस्टमको दृष्टिकोण नै फरक छ । रमण र गुर्जिएफ दुई जना विपरीत ध्रुवबाट आफ्नो कुरा भन्दैछन्, ओशो अस्पेन्स्कीको पक्षमा थिएनन्, रमणको पक्षधर थिए । 

ओशो आधारभूत रूपमा सिस्टमको विरुद्धमा थिए किनकि तिमी जे छैनौ त्यो बन्ने प्रक्रियावाला परिभाषाप्रति ओशोको कुनै तालुक छैन । वेदान्त अर्थात् जहाँ सुन्नु नै साधना हो र जेन अर्थात् जहाँ हेर्नु नै उपासना हो, यो मान्यताप्रति ओशो सबैभन्दा निकट छन् । कृष्णमूर्ति भन्छन्, ‘सुन्नु र हेर्नु’– कृष्णमूर्ति दुवैको कुरा गर्छन् । जबकि ओशो त्यहाँभन्दा अझै पारि पुग्छन् । कृष्णमूर्ति यो सुन्ने र देख्ने या हेर्ने कुरालाई पनि एउटा कुरा गर्छन्– त्यो हो भक्ति मार्ग । यो सुन्दा कसैलाई झट्का लाग्न सक्छ कि मुलतः जे. कृष्णमूर्ति भक्तिमार्गी थिए । कसैले उनलाई तार्किक र दार्शनिक भनुन तर कृष्णमूर्ति जस्तो भक्ति प्रचारक खोज्न कठिन छ यो जमानामा । यहाँ भगवान् र भक्तको द्वैत हैन कि भक्तिको मूलसूत्र यसमा निहित छ । जो अस्तित्वप्रति र समग्रताप्रति पूर्ण समर्पित छ । यदि सुन्नु र हेर्नु, अनि अध्ययन र वर्क गर्न जटिल लागेको भए ओशो पनि यही तेस्रो मार्ग अर्थात् भक्ति या परम समर्पणलाई नै देखाउँछन् । ओशो भन्छन्, ‘आफू बिलाऊ, हराऊ, नष्ट हौ, मरो हे जोगी मरो’ । कृष्णमूर्तिको यो कुरा ताओबाट आएको हो । लाओत्सु संसारका सबभन्दा पुराना भक्त हुन् । भक्तिको यो महामार्ग सबैभन्दा कठिन मार्ग हो । थियोसोफीको सार हो ताओ, परम–स्वीकार, तथाता– यो फेमिनिन वे हो यहाँ मस्कुलिन केही पनि हैन । फिलोसोफी मस्कुलिन या पौरुष गुण हो । अनि यो फिलोसोफी हैन श्त्रैण चित्त हो, थिओसोफी हो– यहाँ पौरुष गुणको काम छैन । हामीले वेदान्त र विपश्यनालाई बुझ्न सक्यौ भने यही काफी छ । आखिरमा भक्तिको अर्थ यति नै हो कि सबै आफ्नोतर्फबाट गरिने प्रयासहरूलाई छोडिदिनु । साधक हुनका लागि अहंको आवश्यकता पर्दछ । त्यो अहंबाट मुक्त हुनु, केही नगर्नु, जतिबेला जताबाट जस्तो हावा आउँछ, त्यसैमा उड्नु, प्रवाहमा हराउनु, यो हो ताओ, यो हो भक्ति, यही हो कृष्णमूर्ति, अनि यही हो ओशो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीप कोइराला
दीप कोइराला
लेखकबाट थप