आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

यस्ता छन् 'ए' डिभिजन लिग क्लबमा अनुबन्ध भएका विदेशी खेलाडी

शुक्रबार, १२ फागुन २०७९, १० : ०२
शुक्रबार, १२ फागुन २०७९

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ए डिभिजन लिग क्लबहरूले विदेशी खेलाडीहरू थप्न पाउने भएपछि अहिले क्लबहरू विदेशी खेलाडी अनुबन्धको होडमा छन् । 

पछिल्लो समय क्लबहरूले विदेशमा चर्चा कमाएका खेलाडीहरूलाई नेपालमा ल्याउने प्रयास गरिरहेका छन् । नेपालको शीर्ष डिभिजन लिगमा अफ्रिकन खेलाडीहरूको बाहुल्यता हुन्छ । तर, यो वर्ष भने भारत, उज्बेकिस्तान जस्ता देशहरूबाट पनि खेलाडी अनुबन्ध गरेका छन् । तीन पटक सरेको ए डिभिजन लिग अहिले समयमै हुन लागेको छ । 

त्यसैको लागि टोलीहरू तयारीमा छन् । विदेशी खेलाडीहरूको कोटा थप्ने एन्फाको निर्णयबाट टिमहरूको भने खास्सै प्रतिक्रिया आइरहेको छन् । 

यस्ता छन् ए डिभिजन लिगमा अनुबन्ध भएका केही विदेशी खेलाडी: 

डावान्डु डियाग्ने

मनाङ मर्स्याङ्दीले सेनेगलका डिफेन्डर डावान्डु डियाग्नेलाई अनुबन्ध गरेको छ । स्पेनिस क्लब बार्सिलोनाका पूर्व खेलाडी डियाग्नेलाई नेपाली क्लबले अनुबन्ध गर्न सफल भएको हो । 

२८ वर्षीय डिफेन्डरले बार्सिलोनाको ‘बी’ टिमबाट खेलेका थिए । बार्सिलोनाको सिनियर टोलीमा प्रशिक्षण गरिसकेका उनले डेब्यू गर्न पाएनन् ।  डियाग्नेले सेनेगलका लागि २ खेल खेलेका छन् ।

एनआरटीका तीन क्यामरुनी सहित दुई भारतीय खेलाडी

न्युरोड टिम क्यामरुनका तीन खेलाडीलाई अनुबन्ध गरेको छ । क्यामरुनका फरवार्ड निकोलस सेर्जी सङ, मिफिल्डर स्टेफेन जुनियर एनगुमबोउस र डिफेन्डर जिन एनिसेन्ट एमबौमीलाई अनुबन्ध गरेको हो ।

एनआरटीले नयाँ सिजनको लिगका लागि भारतीय फरवार्ड सैभिस सिंह र लालनुन्जामा कोल्नेलाई समेत अनुबन्ध गरेको छ । 

जाउलाखेलमा फोफान 

जावलाखेलले फरवार्ड फोडे फोफानालाई अनुबन्ध गरेको छ । फोफानाले गत सिजन सङ्कटा क्लबबाट खेलेका थिए ।

यसअघि पहिले जाउलाखेलबाट खेलेका उनी पुनः यो सिजन जावलाखेल फर्किएका हुन् ।

सेदजामोल दाभ्लातजोनोभ

मनाङ मर्स्याङ्दीले उज्वेकिस्तानका विंगर सेदजामोल दाभ्लातजोनोभलाई अनुबन्ध गरेको छ । विंगर सेदजामोल उज्वेकिस्तानको यू–१८, यू–१९ र यू–२० टिमबाट खेलिसकेका खेलाडी हुन् ।

२५ वर्षीय विंगरले उज्वेकिस्तानको शीर्ष डिभिजनको लिग खेलिसकेका छन्  । उनले किर्गीस्तानको लिग समेत खेलिसकेका छन्  ।

स्यानोउस मासोआबी

जावलाखेलले अफ्रिकी फरवार्ड एनकोटो स्यानोउस मासोआबीलाई अनुबन्ध गरेको छ । 

मासोआबी अफ्रिकी राष्ट्र लेसोथोको राष्ट्रिय टिमका फरवार्ड हुन् । मासोआबीले लेसोथोका लागि ३१ खेलमा २० गोल गरेका छन् ।

थियोफिलस आरोन, मेसुके ओलुमोउ र स्टेफन बिनोङ

नवप्रवेशी क्लब एफसी खुमलटारमा अनुबन्धित अफ्रिकी खेलाडी थियोफिलस आरोन खुमालटारबाट खेलिरहेका छन् । 

घानाका मिडफिल्डर आरोन खुमलटारबाट खेल्न भर्खरै मात्र नेपाल आएका थिए । खुमलटारले उनलाई एक सिजनका लागि अनुबन्ध गरेको हो ।

खुमलटारले अर्का दुई अफ्रिकी खेलाडी मेसुके ओलुमोउ र स्टेफन बिनोङलाई समेत अनुबन्ध गरेको छ । दुबै खेलाडी नेपालमै रहेका छन् । 

विभागीय टोलीको पनि विदेशी खेलाडी भित्राउने योजना 

विभागीय टोली नेपाल एपीएफ क्लबले गत सिजन लिगमा खराब सुरुवात हुँदा विदेशी खेलाडीलाई अनुबन्ध गरेको थियो । यो सिजन भने एपीएफको लक्ष्य लिगको सुरुवातमा नै विदेशी खेलाडी अनुबन्ध गर्ने योजना छ । 

गत सिजन लिगमा खराब प्रदर्शन गरेका कारण नै एपीएफले विभागीय टोलीमा पनि विदेशी खेलाडी अनुबन्धको बाटो खुलाएको थियो । यता नेपाल पुलिस  क्लब र त्रिभुवन आर्मी क्लब पनि विदेशी खेलाडी अनुबन्धका लागि सोचिरहेको अवस्था छ । 

लिगमा दोस्रो हुने आर्मी यो पटक भने विदेशी खेलाडी अनुबन्धको चरणमा छ । लगातार दुई सिजन आर्मी लिगमा दोस्रो भएको थियो । दुई सिजन नै मच्छिन्द्रले लिग उपाधि जितेको थियो । नयाँ सिजनको ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप