सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
आवाज नभएर होला सम्पदा पनि हेपाइमा (फोटोफिचर)

आवाज नभएर होला सम्पदा पनि हेपाइमा (फोटोफिचर)

शनिबार, १३ फागुन २०७९

काठमाडौँ । इतिहास र सभ्यता हिजोको आजै बनेका हुँदैनन् । सयौं वर्षको कालखण्डका अनेकौँ तथ्यहरूको उत्खनन–अन्वेषण, अभिलेखीकरण र प्रमाणीकरण जस्ता कार्यहरूको बलमा मात्रै सभ्यता निर्माणको वास्तविक इतिहास बन्छ र जान्न सकिन्छ ।  तर दुर्भाग्यपूर्ण भन्नुपर्छ, नेपाल–सभ्यताको निर्माण–पुनर्निर्माणमा जोडिएका विभिन्न तथ्य–पक्षहरूको जगेर्ना गर्न सरकार तथा सम्बन्धित निकायहरू चुकिरहेका छन् । 

इतिहास सम्पदा संरक्षणमा हाम्रा राज्य संयन्त्रहरूको होस्ल्याङे प्रवृत्ति देख्न सकिन्छ । मन्दिरै–मन्दिरको शहरको उपमाबाट चिनिएको काठमाडौँ उपत्यकामा के–कति पुरातात्त्विक सम्पदा छन्, कति जोगिएका छन्, कति लापरवाह अवस्थामा छन् वा कति नामेट भइसके भन्ने विषयमा सम्बन्धित अधिकारीहरू नै बेखबर छन् । 

यही टिठलाग्दो अवस्था अहिले विद्यमान छ । नेपाल पहिचानका अनेक आधारहरूमध्ये एक सांस्कृतिक सम्पदा पनि हो । सांस्कृतिक सम्पदाहरुले नै नेपालको आधा पहिचान बोकेको छ । नेपाली पहिचान झल्काउने सम्पदाहरुको संरक्षण र संवद्र्धन गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्ने हो । देशको पहिचान बोक्ने सम्पदाहरुको नै संरक्षण भएन भने नेपालको मान र प्रतिष्ठा जोगिन कसरी सक्छ ? तर अवस्था त्यस्तो छैन । 

काठमाडौँ उपत्यकाका अधिकांश सांस्कृतिक सम्पदाहरू जिर्ण र बेवारिसे छन् । कतै फोहोरै फोहरे त कतै पानी आउने परम्परागत ढुंगे धाराहरुलाई संरक्षणको साटो बेन्चहरु राखेर छोपिएको छ । फुटपाथका पसलहरूले सम्पदा परिसर छपक्कै छोपिएको छ । 

सम्पदाका भित्तामा किला ठोकेर व्यापारका सामग्रीहरू झुन्ड्याइएको छ भने  सम्पदा वरपर सजावटका लागि राखिएका गमलाहरू फुटेर मानिसलाई गिज्याइरहँदा समेत त्यसको संरक्षण गर्न कोही जागरूक बनिरहेका छैनन् । मन्दिर परिसरमै पार्किङ छ, जसले बोल्न नसक्ने सम्पदाहरूलाई हेपिरहेको भान दिलाउँछ । अझ भनौ पार्किङले सम्पदा छोपिएको छ । नेपालको पहिचान दिने सम्पदाको पुनः निर्माण त परको कुरा भएका सम्पदाहरुको संरक्षण गर्न समेत सरकार लाचार छ । 

न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया