आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अहिले बनेको गठबन्धनबाट गुणात्मक परिवर्तन हुँदैन : नेता खनाल

‘एमालेले पठाएको पत्रबारे पार्टीमा छलफल हुन्छ’
आइतबार, १४ फागुन २०७९, १२ : ००
आइतबार, १४ फागुन २०७९

सुर्खेत। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले बनेको गठबन्धनबाट गुणात्मक परिवर्तनको अपेक्षा गर्न नसकिने बताएका छन् । नेता खनालले वामपन्थीहरू एक ठाउँमा आएको अवस्थामा मात्र परिवर्तन हुन सक्ने बताएका हुन् ।

आइतबार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता खनालले भने, ‘देश जुन तरिकाले अघि बढिरहेको छ, गठबन्धनहरू कति बेला, कसरी बन्ने हुन अहिले यसै भन्न सकिने अवस्था छैन । अहिले बनेको गठबन्धनबाट गुणात्मक परिवर्तन हुन्छ जस्तो मलाई लाग्दैन। अहिले नेपालका वामपन्थीहरू एक ठाउँमा आउने हो भने परिवर्तनको अवस्था छ। तर वामपन्थीहरूमा अर्कै रूप देखिन्छ ।’

उनले वामपन्थीहरुकाे बीचमा एकता हुन आवश्यक रहेको बताए । ‘तर उनीहरू भित्रै दक्षिणपन्थी छन् । त्यसैले नेकपा एकीकृत समाजवादीको तत्काल कुनै पार्टीसँग एकता हुने सम्भावना न्यून रहेको छ,’ खनालले भने । 

राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवार सहयोग गर्न माग गर्दै नेकपा एमालेले पठाएको पत्रबारे पार्टीमा छलफल गरेर निर्णय गरिने उनले बताए । ‘अहिले राष्ट्रपतिको मतका लागि पत्र आइरहेका छन् त्यो विषयमा हामी छलफल गर्छौँ,’ उनको भनाई थियो । पार्टीका अध्यक्ष माधव नेपालले भने एमालेका उम्मेदवारलाई मत हाल्न नसकिने स्पष्ट पारिसकेका छन् ।

उनले देश समाजवादी क्रान्तिमा अघि बढिरहेको बताउँदै आफ्नो पार्टी पनि त्यही दिशामा अघि बढिरहेको जिकिर गरे । नेपाली समाजवादको विशेष रूप कस्तो हुन्छ भन्ने विषयमा आफूहरू लागिरहेको उनले बताए । एकीकृत समाजवादीलाई बलियो लडाकु पार्टीको रूपमा स्थापित गर्नुपर्ने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप