विभिन्न जिल्लामा ४ जना मृत फेला
काठमाडौँ । विभिन्न जिल्लामा ४ जना मानिस मृत फेला परेका छन् । प्रहरीको दैनिक समाचार बुलेटिनका अनुसार शनिबार र आइतबार काठमाडौं, धनकुटा र कैलालीमा ४ जना मृत फेला परेका हुन् । शनिबार काठमाडौँ महानगरपालिका–३१ बानेश्वर क्याम्पस अगाडि सडकमा एक वृद्ध मृतअवस्थामा फेला परेका छन् । मृत फेला परेका वृद्ध रामेछाप
दोरम्बा गाउँपालिका–९ घर भई हाल सोही क्याम्पस नजिक तरकारी बजार छेउ छाप्रोमा बस्ने ६१ वर्षीय धनबहादुर रहेको प्रहरीले जनाएको छ । त्यस्तै धनकुटामा पनि एक युवक मृत फेला परेका छन् । मृत फेला पर्नेमा जिल्लाको छ थर जोरपाटी गाउँपालिका–५ माथिल्लो खोप्ताक बस्ने २७ वर्षीय रामबहादुर लिम्बु रहेका छन् । लिम्बु साँगुरीगढी गाउँपालिका–१ स्थित घुमाउने भिरमा शनिबार मृत अवस्थामा फेला परेका हुन् । गत बिहीबारदेखि हराएका उनको शव प्रहरीले भीरमा फेला पारेको हो ।
उता, कैलालीमा पनि एक वृद्ध मृत फेला परेका छन् । जिल्लाको कैलारी गाउँपालिका–७ सडकपुर बसन्ता बस्ने ७५ वर्षीय लाहनु चौधरी घर नजिक सडक छेउको नालीमा आइतबार मृत फेला परेका हुन् । त्यस्तै कैलारी गाउँपालिका–४ के गाउँ बस्ने ४० वर्षीया लक्ष्मी विक पनि शनिबार मृत फेला परेकी छन् । उनी आफ्नै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । मृत फेला परेका सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैहरकोे जानकारी दिएको छ ।