आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोरियामा मौसमी कामदार पठाउने भन्दै पैसा असुल्ने गिरोह सक्रिय

सोमबार, १५ फागुन २०७९, १५ : ००
सोमबार, १५ फागुन २०७९

काठमाडौं । दक्षिण कोरियामा मौसमी कामदार (सिजनल वर्कर) रूपमा पठाउने भन्दै पैसा असुल्ने गिरोह सक्रिय भएको पाइएको छ । वैदेशिक रोजगार विभागमा आफ्नो चिनेको मान्छे रहेको र कोरिया पठाइदिने भन्दै पैसा असुल्ने गिरोह सक्रिय भएको हो ।

त्यस्तो गिरोहले प्रतिव्यक्ति १ लाख रुपैयाँदेखि अढाई लाख रुपैयाँसम्म लिने गरेको पत्ता लागेको हो । रातोपाटीको समर्पकमा आएका व्यक्तिहरूले आफूलाई मौसमी कामदारको रूपमा कोरिया पठाउने भन्दै एक लाख रुपैयाँ असुलेको बताएका छन् । 

एजेण्टहरूले प्रति व्यक्ति १ लाखका दरले पैसा लिने गरेको पाइएको हो । कोरिया पठाएपछि थप पैसा तिर्नुपर्ने र अग्रिम रूपमा १ लाख रुपैयाँ मागेको पीडितहरूको भनाई छ । बारा, पर्सा लगायतका जिल्लाबाट ११ जनाले आफूहरूलाई कोरिया पठाउने भन्दै पैसा लिएको पाइएको हो । 

जबकि कोरियाले नेपालबाट मौसमी कामदार नल्याउने निर्णय गरिसकेको छ । यस्तो अवस्थामा दलालहरूले विभिन्न प्रलोभन तथा झुटा कुरा गरेर उनीहरूबाट पैसा असुल्दै आएका हुन् । 

कोरिया पठाइदिने भन्दै पैसा असुल गरेको गुनासो वैदेशिक रोजगार विभागमा समेत पुगेको छ । उक्त उजुरहरूमाथि विभागले छानबिन समेत थालेको छ । त्यस्तो कसैको पनि प्रलोभनमा नपर्न विभागले समेत सबैमा अनुरोध गरेको छ । 

विभागले एक सूचना निकालेर मौसमी कामदारको रूपमा जाँदा एक पैसा पनि तिर्नुपर्ने प्रष्ट पारेको छ । विभागका सूचना अधिकारी कृष्ण प्रसाद भुसालले  मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ को दफा ४ अनुसार मौसमी कामदारको रूपमा जाने कामदारले कुनै पनि शुल्क तिर्नु बुझाउनु नपर्ने व्यवस्था रहेको बताए । 

उक्त निर्देशिका बमोजिम मौसमी कामदार माग गर्ने र पठाउने सम्बन्धमा प्रारम्भिक प्रक्रियाको लागि सम्बन्धित नियोग र विभागमा हालसम्म कुनै पनि कागजात पेस नभएको विभागले प्रष्ट पारेको छ । 

दक्षिण कोरिया लगायत कुनैपनि मुलुकमा मौसमी कामदारमा पठाइदिने भनी कुनै व्यक्ति/संस्थाको भ्रममा नपर्न विभागले सबैमा अनुरोध गरेको हो । त्यसका लागि कसैलाई पनि रकम नबुझाउन, कुनै जानकारी आवश्यक भए स्थानीय निकायको आधिकारिक पदाधिकारी वा विभागमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप