आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माओवादी बैठकपछि प्रवास समन्वय समिति सक्रिय

सोमबार, १५ फागुन २०७९, १६ : ३१
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति र केन्द्रीय समिति बैठकपछि प्रवास समन्वय समिति सक्रिय भएर लागेको छ । माओवादी बैठकपछि पार्टी सङ्गठन सुदृढीकरण र विस्तारको २ महिने अभियान सुरु भएपछि प्रवास समन्वय समितिले समेत सक्रियता बढाएको हो । प्रवास समन्वय समिति अन्तर्गतको ६ क्षेत्रीय समिति  र ३१ देशका जन प्रगतिशील मञ्चको सङ्गठन विस्तार, पुनर्गठन, भेला सम्मेलन गर्ने निर्णय गरिसकेको छ । यस्तै पार्टीलाई आफ्नै जगमा उभ्याउन उद्देश्यले सुरु भएको २ महिने अभियानमा केन्द्रित भई घनिभूत रूपमा काम भइरहेको प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले बताए ।

सरकारसँग विदेशमा भएका नेपालीका समस्या सुल्झाउन प्रवास समन्वय समितिले पुलको रूपमा काम गरी रहेको शर्माले दाबी गरे । ‘प्रवास समन्वय  समितिको बैठक भर्खरै सकियो । बैठकले प्रत्येक देशमा रहेका नेपाली जनप्रगतिशिल मञ्चको बैठक बस्ने, राष्ट्रिय समिति, क्षेत्रीय समितिको बैठक बस्ने छौँ । पार्टी सङ्गठन सुदृढीकरण र व्यवस्थित बनाउन बनाउनतिर लाग्ने छौँ’ शर्माले भने, ‘पार्टीको यो दुई महिने अभियानमा पार्टी नयाँ सदस्यता थप गर्ने, पुराना सदस्यको नवीकरण गर्ने र सङ्गठनको लेभीलाई व्यवस्थित गर्ने छाै ।’ पार्टीको तल्लो तहसम्म बैठक, भेला र सम्मेलन गरेर आलोचना र सुझाव दुवै सङ्कलन गरेर पार्टीलाई पुनर्जीवन दिइने शर्माले बताए । 

यस्तै प्रवास समन्वय समितिका सह–इन्चार्ज लक्ष्मण पन्तले जन प्रगतिशील मञ्च मार्फत सङ्गठित भएका नेपालीलाई समेट्न भौतिक रूपमा उपस्थित भएर सङ्गठन निर्माणमा लागिने बताए । ‘पार्टी सदस्यता बनाउने, सदस्य भएकालाई कमिटी प्रणालीमा राख्ने, चुस्त दुरुस्त बनाउने छौँ’ पन्तले भने, ‘आवश्यकता हेरेर भौतिक रूपमा  उपस्थित हुनुपर्ने भएमा उपस्थित भएर सङ्गठन निर्माणमा केन्द्रित हुने छौँ । अरू प्रवासी नेपालीका समस्या भए सरकारसँग राखेर पहल गर्नेछौँ ।’ माओवादी प्रवास समितिले अन्य पार्टीको भन्दा विदेशी नेपालीको पक्षमा धेरै काम गरेको पन्तले दाबी गरे ।

माओवादीको नेतृत्वमा प्रचण्ड सरकार निर्माण भएपछि विदेशी नेपालीका समस्या समाधान गर्न निरन्तर ध्यानाकर्षण गराई रहेको पन्तले बताए । ‘हामी पार्टीका अध्यक्ष प्रचण्ड सरकारको नेतृत्व गर्न गएपछि विदेशी नेपालीका समस्या समाधान गर्न निरन्तर ध्यानाकर्षण गराइरहेका छौँ । अरू आवश्यक परेमा सरकारलाई ध्यानाकर्षण गराएर समाधानतिर गराइने छ’ पन्तले भने, ‘कोरिया जाने नेपालीसँग चर्को हवाई भाडा लिएको पाएपछि सरकारलाई ध्यानाकर्षण गराएपछि सम्बोधन भयो । प्रवासी नेपालीका समस्या साधन गर्न अधिकार सम्पन्न शक्तिशाली आयोग बनाउन माग गर्‍यौँ । त्यसमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ ।’

सरकारले विदेशमा रहेका नेपालीको समस्या समाधान गर्न श्रम डेस्क राख्ने निर्णय समेत गरेको पन्तले बताए । विदेशमा रहेका नेपालीका समस्या देखिने बित्तिकै सरकारलाई दबाब दिने गरेको पन्तले बताए । माओवादीको प्रवास समन्वय समितिको जन प्रगतिशील मञ्चमार्फत १० हजारभन्दा बढी सङ्गठित भएका छन् । त्यसमध्ये सबैभन्दा बढी भारतमा अखिल भारत नेपाली एकता मञ्च, युरोप, अमेरिकाज, मध्यपूर्व, एसिया लगायतमा माओवादी राम्रो उपस्थिति छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप