आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

ओली–प्रचण्ड सत्ता सहकार्य : ६५ दिनमा औपचारिक रूपमै ‘ब्रेक’

प्रचण्डको नयाँ यात्रा कति सहज ?
सोमबार, १५ फागुन २०७९, १८ : ०८
सोमबार, १५ फागुन २०७९

काठमाडौँ । मंसिर ४ को आम निर्वाचनपछि गत पुस १० मा एकाएक बनेको एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सत्ता सहकार्य ६५ दिनमा औपचारिक रूपमै टुटेको छ । सोमबार पार्टी केन्द्रीय सचिवालयमार्फत नेकपा एमालेले प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने र मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेसँगै प्रचण्ड–ओलीबीचको सहकार्यमा तत्काललाई पूर्णविराम लागेको हो ।

प्रधानमन्त्री प्रचण्डले गत फागुन १२ गते राष्ट्रपतिमा रामचन्द्र पौडेललाई सघाउने निर्णयमा सहमति गरेसँगै ओली–प्रचण्ड सहकार्य अनौपचारिक रूपमा टुटेको थियो । तर एमाले सरकारमै रहेकाले उनीहरुबीचको सहकार्य औपचारिक रूपमा टुटेको घोषणा हुन बाँकी थियो । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनसम्म सरकार नछोड्ने मनस्थितिमा रहेको एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई पछिल्ला दिनमा प्रधानमन्त्रीले गरेको व्यवहारबाट सन्तुष्ट थिएन ।

मन्त्रिपरिषद् बैठकबाटै परराष्ट्रमन्त्री विमला राई पौड्याललाई  जेनेभा भ्रमणमा पठाउने निर्णय गरेको सरकारले आइतबार अचानक उनको भ्रमण रद्द गरेपछि एमाले थप आक्रोशित बन्न पुग्यो । प्रधानमन्त्री प्रचण्डले मन्त्री पौडेलको भ्रमण रद्द गर्न निर्देशन दिएको भोलिपल्ट फागुन १५ गते एमालेले बैठक राखेर प्रचण्डसँगको सत्ता सहकार्यलाई टुङ्ग्याउने निर्णय गरेको हो ।

एमालेको सहयोगमा गत पुस ११ गते प्रचण्डले प्रधानमन्त्रीको शपथ लिएका थिए । सोही दिन एमाले पनि सरकारमा सहभागी भएको थियो । एमालेका ८ मन्त्रीले सोमबारै प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजीनामा दिएका छन् । यसबीचमा प्रचण्ड नेतृत्वको सरकारले सरकारको न्यूनतम नीति तथा कार्यक्रम ल्याएको थियो । सोही नीति तथा कार्यक्रम अन्तर्गत मुलुकको आर्थिक स्थितिमा सुधार ल्याउने तथा विकासका कामलाई गति दिने सरकारको योजना थियो ।

प्रचण्डको नयाँ यात्रा कति सहज ?

प्रधानमन्त्री प्रचण्डले एमालेसँगको सम्बन्ध तोडेर एमालेको ठाउँमा कांग्रेसको साथ लिने तयारी गरेका छन् । सोही अनुसार राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई जिताउने आठ दलबीच सहमति भैसकेको छ । आठ दलका तर्फबाट राष्ट्रपतिमा फागुन १३ गते पौडेललाई उम्मेदवारी दिन लगाए लगत्तै बालुवाटारमा आयोजित कांग्रेसका स्वर्गीय नेता महेन्द्रनारायण निधिको स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ राजनीतिक यात्राको सुरुवात भएको बताएका थिए ।

‘जति वेला हामी शेरबहादुर देउवाजीको घरमा पटक पटक मिटिङ बस्ने गर्थ्यौ, के गर्ने ? कसरी जाने भन्ने हुन्थ्यो’, ओलीले गरेको संसद् विघटनपछिको अवस्था स्मरण गर्दै प्रचण्डले भनेका थिए, ‘त्यति वेला यो नयाँ गठबन्धनको वैचारिक, राजनीतिक आधार के ? त्यतिकै सत्ता र कुर्सीका लागि मात्रै गठबन्धन भयो भने त्यो गठबन्धन टिक्दा पनि टिक्दैन,त्यसले जनतालाई दिँदापनि दिँदैन भनेर छलफल गर्थ्यौ ।’

त्यस्तै उनले एमालेसगँको सहकार्य छोडेर कांग्रेससँगको पुरानै सहकार्यमा फर्किनुमा संविधान, लोकतन्त्र र समावेशी समानुपातिक सिद्धान्तको मान्यतालाई आधार बनाएर गठबन्धन गरेको बताए । ‘त्यसको आवश्यकता र औचित्य अहिले पनि छ मात्रै होइन अझै झन् बढेको छ  । त्यस कारण मलाई लाग्छ–हामीले नयाँ यात्रा सुरु गरेका छौ, मैले हिजो नयाँ यात्रा सुरु भयो नेपालको भनेको छु र यो यात्रा सफल पनि हुन्छ’, प्रचण्डको भनाइ छ ।  

तर प्रचण्डले यस्तो बताइरहँदा कतिपयले भने प्रचण्डले राजनीतिक समीकरण फेरेर थप राजनीतिक अस्थिरता निम्त्याएको टिप्पणी भइरहेको छ । के प्रचण्डले भनेजस्तै एमाले छोडेर कांग्रससँग प्रचण्डले गरेको सत्ता सहयात्रा र नयाँ राजनीतिक यात्रा सफल होला त ? नागरिक समाजका अगुवा श्याम श्रेष्ठ भन्छन्–प्रचण्डले सफल हुने विश्वास राख्नु बेग्लै कुरा हो, तर फेरिएको सत्ता समीकरणमा इमानदारिता कायम रहला भन्न सकिँदैन ।

उनले पछिल्लो समीकरण कुनै विचार, सिद्धान्त र नैतिकताका आधारमा नबनेकाले यसै भन्न नसक्ने बताए । ‘कुनै वैचारिक अडान, सिद्धान्त र नैतिकता नै छैन यिनीहरूमा । फाइदा जेबाट हुन्छ त्यही गर्छन् । यो गठबन्धनभन्दा अर्को गठबन्धन बनाउँदा हुने देखे भने फेरि अर्कैतिर पनि लाग्न सक्छन् । किनभने नैतिकता र सिद्धान्त भए पो जाँदैनन् भन्न सकिन्छ केही पनि नभएपछि जे पनि हुनसक्छ’, श्रेष्ठको भनाइ छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप