आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा १४ देशका चिकित्सकले दिन्छन् सेवा

मङ्गलबार, १६ फागुन २०७९, ०७ : २२
मङ्गलबार, १६ फागुन २०७९

काठमाडौं । नेपालमा १४ देशका चिकित्सकले काम गरेको पाइएको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार हाल नेपालमा ३१८ जना विदेशी चिकित्सक कार्यरत छन् । काउन्सिलबाट अनुमति लिएका विदेशी चिकित्सकमध्ये सबैभन्दा धेरै भारतीय छन् । नेपालमा २७२ जना भारतीय चिकित्सक कार्यरत रहेको काउन्सिलले जनाएको छ ।

यस्तै, २१ अमेरिकी चिकित्सक, स्वीडेनका ४, अस्ट्रेलियाका ४ चिकित्सक पनि नेपालमा कार्यरत छन् । काउन्सिका अनुसार  फिनल्याण्डका २, कोरियाका २ चिकित्सकले नेपाल मेडिकल काउन्सिलमा नाम दर्ता गराएर काम गरिरहेका छन् ।

यसैगरी थाइल्याण्ड, रसिया, रोमानिया, नर्वे, न्युजिल्याण्ड, डेनमार्क, सिङ्गापुर र ट्रिनिडाड एण्ड टोबागोका एक–एक नागरिकले पनि मेडिकल काउन्सिलमा नाम दर्ता गराएर चिकित्सकीय सेवा दिइरहेका छन् । उनीहरू निजी अस्पताल, तथा मेडिकल कलेज लगायतमा कार्यरत छन् ।

हालसम्म मेडिकल काउन्सिलमा ३२ हजार २१८ जना चिकित्सकले नाम दर्ता गरेका छन् ।

विदेशी चिकित्सकले प्रक्रिया नपु-याए यस्तो हुन्छ कारवाही

विदेशी चिकित्सकलाई प्रक्रिया पूरा नगरी काम गराउने संस्था र काम गर्नेलाई कारवाही गरिने नेपाल मेडिकल काउन्सिलले जनाएको छ । मेडिकल काउन्सिलमा दर्ता भइ कार्यरत विदेशी चिकित्सकले नवीकरणको म्याद सकिएको ३५ दिनभित्र नवीकरणका लागि आवेदन दर्ता नगरेको वा आवदेन स्वीकृत नभएको अवस्थामा चिकित्सकीय अभ्यास गरेको पाइएमा त्यस्तो विदेशी चिकित्सकले आगामी २ वर्षसम्मका लागि पुनः दर्ता हुन पाउँदैनन् ।

यस्तै, विदेशी चिकित्सकलाई बिना दर्ता वा दर्ता नवीकरण नगरी चिकित्सकीय काममा लगाउने संस्थालाई चेतावनीसहित  बढीमा २ वर्षसम्म सो संस्थामा कुनै पनि विदेशी चिकित्सकको दर्ता नवीकरण नगर्ने व्यवस्था रहेको काउन्सिलले जनाएको छ ।

काउन्सिलका अनुसार विदेशी चिकित्सकले बिना दर्ता काम गरेको अवधिमा बिरामीलाई हानी नोक्सानी हुन गएको कुनै उजुरी वा सिकायत भएमा त्यस्तो चिकित्सकलाई कारवाही गरिने छ ।

काउन्सिलमा ६६ उजुरी

नेपाल मेडिकल काउन्सिलले सन् २०२२ मा व्यावसायिक आचारसंहिता सम्बन्धी ६६ वटा उजुरी परेको जनाएको छ । काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीका अनुसार ६६ वटा उजुरीमध्ये २० वटामा निर्णय भइसकेको छ भने ४६ वटा विचाराधीन छन् ।

निर्णय भएका २० उजुरीमध्ये ५ वटा कारवाही गरिरहनु नपर्ने, ३ वटामा चिकित्सकलाई सचेत गराइएको, ४ वटामा अस्पताललाई निर्देशन दिएको, ६ वटामा थप कारबाही गर्नुपर्ने देखिएको, २ वटामा केन्द्रीय अनुसन्धान ब्युरो मार्फत कारबाही अगाडि बढाउनुपर्ने देखिएको रजिष्ट्रार डा. अधिकारीले बताए ।

विशेषज्ञ चिकित्सक दश हजारभन्दा बढी

नेपाल मेडिकल काउन्सिलमा दर्ता हुने विशेषज्ञ चिकित्सकको संख्या १० हजारभन्दा बढी छ । काउन्सिलका अनुसार विशेषज्ञता हासिल गर्ने चिकित्सकको संख्या १० हजार ८० पुगेको हो । जसमा ७ हजार ११० र पुरुष र २ हजार ९७० जना महिला छन् ।

१ हजार ८८ इन्टरनल मेडिसिन विशेषज्ञ चिकित्सकको रुपमा काउन्सिलमा दर्ता गराएका छन् । जसमा ९७७ पुरुष र १११ महिला रहेको काउन्सिलले जनाएको छ ।

जनरल सर्जरीमा ९ सय ४७ जनाले काउन्सिलमा नाम दर्ता गराएका छन् । जसमध्ये ८९५ पुरुष र ५२ जना छन् । यस्तै, ९ सय ९४ जनाले स्त्री तथा प्रसुति रोग विशेषज्ञका रुपमा नाम दर्ता गराएका छन् । जसमा ७०८ पुरुष र २८८ महिला छन् । अर्थोपेडिक्सतर्फ ७ महिला र ७९८ पुरुष गरी ८०५ विशेषज्ञ चिकित्सक छन् ।

काउन्सिलका अनुसार पेडियाट्रिकमा ७८१ जनाले दर्ता गरेकामा ७८९ पुरुष र ७ महिला छन् । एनेस्थेसियोलोजीमा विशेषज्ञता हासिल गर्ने ६७७ मध्ये ५०० पुरुष र १७७ महिला छन् । रेडियोलोजी तथा इमेजिङमा विषेशज्ञता हासिल गर्ने ६६३ जनामध्ये ५४० पुरुष र १२३ महिला छन् ।

सूचीबाट हटाइयो १४३ चिकित्सकको नाम

नेपाल मेडिकल काउन्सिलको दर्ता सूचीबाट १४३ जना चिकित्सकको नाम हटाइएको छ । १४३ जना चिकित्सकको नक्कली प्रमाणपत्र प्रमाणित भएपछि उनीहरूको नाम दर्ता सूचीबाट हटाइएको हो ।

मृत्यु र जाली प्रमाणपत्र प्रमाणित भएका चिकित्सकहरूको नाम दर्ता सूचीबाट हटाउने प्रावधान छ । दर्ता खारेजीमा परेका सबै चिकित्सकको विवरण वेभसाइटमा राखिएको काउन्सिलले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप