आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सर्वसाधारणलाई सूचना खोज्न अब सजिलो : शर्मा

मङ्गलबार, १६ फागुन २०७९, १३ : ३७
मङ्गलबार, १६ फागुन २०७९

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सबै सरकारी निकायका आ–आफ्नै वेबसाइटहरू हुने र सर्वसाधारणले सूचना खोज्न पनि झन्झटिलो हुने भएकाले अब एकै प्रणालीमार्फत सरकारी निकायको सूचनाहरू पाउन सकिने अवस्था आएको बताएकी छन् । उनले यसबाट धेरै खर्च कटौती हुने तथा साइबर सुरक्षाको दृष्टिले पनि सुरक्षित हुने बताएकी हुन् ।

सरकारी निकायहरूको वेबसाइटहरुबीच एकरूपता कायम गर्न एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको विकास गरिएको छ । मंगलवार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयमा एक औपचारिक कार्यक्रमका बीच सूचना प्रविधि विभागद्वारा विकास गरिएको एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको शुभारम्भ गरेकी हुन् । यस प्रणाली अन्तर्गत सूचना तथा प्रशारण विभाग, हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र मुद्रण विभागका नयाँ वेबसाइटहरू सञ्चालनमा आउने भएको छ । 

उनले भने, ‘हाम्रा सबै सरकारी वेबसाइटहरू हेर्दा खेरी विभिन्न थरी, विभिन्न डिजाइन, त्यहाँभित्र पस्दा कसको सूचना कतातिर कुनमा छ ? के छ ? भनेर सर्वसाधारणले पनि खोज्न धेरै अप्ठ्यारो हुने । विभिन्न मन्त्रालयको छुट्टाछुट्टै खोज्नुपर्ने जुन स्थिति छ, त्यो स्थितिको अन्त्य हाम्रो यो प्रणालीको विकासले गर्नेछ भन्ने लागेको छ । कार्यविधि नै पास भइसकेको हुनाले हामीलाई यसमा फलोअपको कुरा मात्रै हो । स्वाभाविक ढङ्गले सम्बन्धित मन्त्रालयले गर्ने नै छन् । आवश्यक परे हामी यहाँबाट फलोअप पनि गर्नेछौँ । सुरक्षित ढङ्गले, सरल र सहज ढङ्गले हामीले हाम्रा प्रणालीहरू चलाउन सक्नेछौँ । यसले राम्रो खर्च कटौती गर्नेछ । स्थानीय तहसम्म जाँदा खेरी सबैले आ–आफ्नो डिजाइन, सफ्टवेयर बनाउने, आ–आफ्नै तरिकाले अगाडी बढ्ने र राज्यको व्ययभार पनि धेरै हुने । सुरक्षाको पनि प्रत्याभूत नहुने जुन अवस्था बनिराखेको छ, ती कुराको अन्त्य हुने । सेवाग्राहीको सरल र सहज पहुँच हुने स्थितिको विकास भएको छ ।’

सूचना प्रविधि विभागले निकायगत वेबसाइट व्यवस्थापन गर्नका लागि सरकारी निकायलाई प्रणाली व्यवस्थापक उपलब्ध गराउने र सोही प्रयोगकर्तामार्फत सम्बन्धित निकायले आफ्नो वेबसाइटमा मेनु र उपमेनुहरू थपघट गर्न, नारा तथा लोगो राख्न, ग्यालरी, भिडियो र ब्यानर व्यवस्थापन गर्न सकिने जनाइएको छ । त्यस्तै कर्मचारीको विवरण, संगठन संरचना लगायतका कामहरू पनि गर्न सकिने बताइएको छ । त्यस्तै सबै सरकारी निकायहरूको निगरानी गरी ह्याक हुनसक्ने जोखिम कम गर्न सो को तत्काल जानकारी गराउन वेब मोनिटरिङ प्रणाली समेत सञ्चालनमा ल्याइएको जानकारी गराइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप