आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अफ्रिका क्षेत्र स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

मङ्गलबार, १६ फागुन २०७९, २० : ०६
मङ्गलबार, १६ फागुन २०७९

काठमाडौँ । गैरआवासीय नेपाली संघको महिला विभागअन्तर्गतको महिला स्वास्थ्य तथा शिक्षा कार्यदलले आफ्ना गतिविधिहरू क्षेत्रीय गत रूपमा जानकारी गराउने उद्देश्यले अफ्रिका क्षेत्रीय स्वास्थ्य सचेतना र सल्लाह कार्यक्रम जुममार्फत सम्पन्न गरेको छ । यस कार्यक्रममा स्वास्थ्य विज्ञहरूले पछिल्लो समय स्वास्थ्य समस्या र त्यसका कारण आत्महत्याजस्ता गम्भीर घटनाहरू बढिरहेकोमा चिन्ता व्यक्त गर्दै ती समस्या सम्बोधनका लागि गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।   

कार्यक्रममा स्वास्थ्य विज्ञहरू डा प्रेरणा दाहाल, डा तिलकराम खरेल, डा तरुण प्रधान, प्रो मुकुन्द बहादुर खत्री क्षेत्री लगायतका स्वास्थ्य विज्ञहरूले नेपाल, अफ्रिका साथै विश्वका विभिन्न क्षेत्रमा देखा परेका स्वास्थ्य समस्याका साथै मानसिक स्वास्थ्यका बारेमा अध्ययन पत्र प्रस्तुत गर्दै नेपालसहित विदेशमा रहेका नेपालीहरूमा मानसिक स्वास्थ्य समस्याको जोखिमको क्रम बढ्दो रूपमा रहेको बताएका छन्  । उनीहरूले  नेपालमा मात्रै नभई डायस्पोरामा रहेका नेपालीमा पनि मानसिक स्वास्थ्य समस्या विकराल बन्दै गएको भन्दै उक्त स्वास्थ्य जोखिम न्यूनीकरणका लागि काम गर्नुपर्ने  बताएका छन् । 

कार्यक्रममा बोल्ने विज्ञहरूले स्वास्थ्य समस्याका विषयमा खुलेर कुरा गर्न  नचाहेको कारणले स्वास्थ्य परामर्श नै नपाउने जिकिर गरे । उनीहरूका अनुसार ८० प्रतिशत आत्महत्या मानसिक स्वास्थ्यका कारण हुने गरेको पाइएको बताएका छन् । मानसिक स्वास्थ्य समस्या हुने र समस्याग्रस्तमध्ये धेरैजसो मानसिक स्वास्थ्यसेवाको पहुँच बाहिर हुने गरेको विज्ञहरूले जानकारी गराए। मनोपरामर्श, खानपान र शारीरिक व्यायाम, योग, ध्यान लगायतका गतिविधिमा ध्यान दिन प्रोत्साहन गर्न सके समस्या केही हदसम्म समाधान हुने उनीहरूको भनाई थियो ।  

विज्ञहरूले महिलाहरूको स्वास्थ्य समस्याका बारेमा प्रस्तुति गर्दै अनुसार पछिल्लो समय महिलाको पाठेघरभित्र र पाठेघरको मुखको क्यान्सर, अण्डाशयको क्यान्सर बढ्दो क्रममा रहेको बताए । यस बारेमा जनचेतनाको अभावले गर्दा कयौँ महिलाको ज्यान जाने गरेको कारण त्यस सम्बन्धमा व्यापक जनचेतनाका फैल्याउनुका साथै  सरकार र सरोकारवालासँगको समन्वयमा र योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो । साथै अफ्रिका क्षेत्रका साथै अन्य क्षेत्रमा समस्या रूपमा रहेको क्षय रोगबारे जानकारी दिँदै यसको न्यूनीकरणमा पहल भएका गतिविधिहरू बारे प्रकाश पारिएको थियो । 

कार्यक्रममा संघका अध्यक्ष डा बद्री केसीले कोभिडको समयमा दिन रात खटेर सहयोग गर्ने सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीहरू प्रति धन्यवाद प्रकट गरे । साथै उनले वैदेशिक रोजगारीमा मध्यपूर्व लगायत अन्य क्षेत्रमा रहेका नेपाली श्रमिकहरूमा देखा परेको स्वास्थ्य समस्या बारे प्रकाश पार्दै यसको समाधानका लागि सबै जना लाग्नु पर्ने बताए । अध्यक्ष कुल आचार्यले स्वास्थ्य प्रति सजग हुन सबैलाई आग्रह गर्दै स्वस्थ रहन स्वास्थ्यकर खानपानका साथै शारीरिक व्यायाममा जोड दिए ।  

महिला उपाध्यक्ष यास्मीन बेगमले आज विज्ञहरूले गर्नु भएको प्रस्तुति निकै उपयोगी रहेको र यसले हाल देखा परेको स्वास्थ्य समस्या न्युनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्तै गर्दै कार्यक्रममा सहभागीहरू सबै प्रति आभार प्रकट गरे। 

संघकी महिला सचिव तथा कार्यदलका अध्यक्ष एवं कार्यक्रम संयोजक डा. एलिनी पोखरेल सुवेदीले कार्यक्रममा सभापतित्व गर्दै  विश्वभर फैलिएका गैरआवासीय नेपालीहरूलाई नै स्वास्थ्यबारे जानकारी दिने उद्देश्यले यो कार्यक्रमको थालनी गरिएको र भर्चुअल माध्यमबाट दोस्रो चरणको कार्यक्रम अफ्रिका क्षेत्रमा गरिएको बताउँदै यस कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप