आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगार विभागमा तारा बरालसहितका सामाजिक अभियान्ता कुटिए

म्यानपावर व्यवसायी र अभियान्ताबीच कुटाकुट
मङ्गलबार, १६ फागुन २०७९, २१ : ३३
मङ्गलबार, १६ फागुन २०७९

काठमाडौं । वैदेशिक रोजगार विभागमा म्यानपावर व्यवसायी र सामाजिक अभियान्ताबीच कुटाकुट भएको छ । दुई पक्षबीच झपड हुँदा सामाजिक अभियान्ता भनिने तारा बरालसहित केही व्यक्ति घाइते भएका छन् । 

झडपपछि प्रहरीले बरालसहित ५ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेकी बरालको भने ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बराललगायतको समूह वैदेशिक रोजगारीमा ठगिएका पक्षमा नाराबाजी गर्दै विभागमा पुगेका थिए । त्यही क्रममा मेनवपावर व्यववसायीहरुले उनीहरुमाथि कुटपिट गरेका हुन् । संयौंको संख्यामा विभागमा पुगेका अभियान्ताहरु र म्यानपावर व्यवसायीहरुबीच विवाद भएको थियो । त्यसपछि झपडको अवस्थामा पुगेको हो । 

झडपपछि आफूमाथि निर्घात कुटपिट गरिएको बरालले बताएकी छन् । प्रहरीको उपस्थितिमै बरालमाथि हेलमेटले प्रहार गरेका थिए । त्यही क्रममा उनको टाउकोमा चोट लागेको छ । विभागमा छलफलको क्रममा रहेको बेला पछाडिबाट आएका म्यानपावर व्यवसायीले हट्नु भनेर पछाडिबाट हेल्मेटले हानेको उनीहरुको भनाई छ । 

बाबा म्यानपावरले कम्बोडियो पठाउने भनेर केही व्यक्तिहरुलाई ठगी गरेको आरोप पीडितहरुको छ । विभागमा छलफलपछि म्यानपावर व्यवसायीले पैसा फिर्ता दिने सहमति भएको थियो । तर, तीन महिनादेखि कुरेर बस्दा पनि आफ्नो पैसा फिर्ता नपाएको भन्दै पीडितहरु विभागमा पुगेका थिए । त्यही बेला म्यानपावर व्यवसायी र सामाजिक अभियान्ताहरुबीच विवाद भएको हो । 

विवादको क्रममा म्यानपावर व्यवसायीहरुले बरालसहित युट्युबर तथा पीडितहरुमाथि कुटपिट गरेका थिए । उक्त घटनापछि विभागमा गएर होहल्ला गरेको तथा शान्ति सुरक्षामा खलल पुर्‍याउने काम गरेको भन्दै २ जना महिला र ३ जना पुरुषलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । आफ्नो पैसा फिर्ता माग्न भन्दै पीडितहरु विभागमा पुगेका थिए । विभागका महानिर्देशक उमाकान्त आचार्यले नै पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्देशन दिएका थिए । 

तर, म्यानपावर व्यवसायीहरुले पैसा नदिएको भन्दै पीडितहरु पुनः विभागमा पुगेका थिए । विभागमा पुगेका उनीहरुमाथि मेन पावर व्यवसायीहरुले कुटपिट गरेका थिए । कुटपिट गरेको थाहा पाएपछि बरालसहितको टोली विभागमा पुगेको थियो । पीडितहरुलाई साथमा लगेर गएकी बरालले सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै यदि पीडितलाई म्यानपावर व्यवसायीले कुटेको खण्डमा आफूहरुले विभागका हाकिमलाई नै कुट्ने चेतावनी दिएकी थिइन् ।  

त्यही क्रममा म्यानपावर व्यवसायीहरुले युट्बरमाथि कुटपिट गरेका थिए । त्यसपछि बरालमाथि पनि कुटपिट गरेका हुन् । पछिल्लो समय विभागमा दिनदिनै होहल्ला गर्ने, युट्युबरहरुलाई बोलाएर नाराबाजी गर्ने जस्ता क्रियाकलाप हुँदै आएको छ । त्यसपछि विभागको सूचना जारी गरेर पीडितलाई परिचयपत्रको आधारमा मात्र भित्र प्रवेश दिने नीति ल्याएको थियो । तर, जनशक्तिको अभावमा त्यो नीति लागू गर्न नसकिएको विभागले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप