आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

जसपाको अन्तर्घात छानबिन प्रतिवेदन कार्यान्वयनमा आशंका

बिहीबार, १८ फागुन २०७९, २२ : ३१
बिहीबार, १८ फागुन २०७९

काठमाडौँ । आम चुनावमा अन्तरर्घात भएकोबारे जनता समाजवादी पार्टी नेपालले छानबिन गरेको छ । पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाको संयोजकत्वमा गठित कार्यदल स्थलगत अध्ययन सकेर काठमाडौं फर्किएको छ । प्रतिवेदनलाई अन्तिम रुप दिने काम भइरहेको संयोजक थापाले बताए ।

आगामी हप्ता पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई प्रतिवेदन बुझाउने उनको भनाइ छ । चुनावमा अन्तर्घात भएको विवरण प्राप्त भएको र थुप्रै नेता त्यसमा दोषी देखिएको पनि उनले जनाए । दोषीमाथि कारबाहीका लागि सिफारिससहित पार्टीमा प्रतिवेदन बुझाउने उनले बताए ।

कति जना दोषी छन् भन्ने छान्ने काम अझै नसकिएको पनि उनले जानकारी दिए । जिल्ला जिल्लामा लिएको बयान तथा कार्यदललाई प्राप्त बयानहरुलाई भिडाउने काम भइरहेको र त्यसको आधारमा दोषी ठहर गरी कारबाहीका लागि सिफारिस गर्ने उनले बताए ।

कारबाही स्वरुप पार्टीबाट निलम्बन तथा निष्काशनसम्मको सिफारिस हुन सक्ने बताइएको छ । तर यो प्रतिवेदन कार्यान्वयन हुनेमा पार्टीभित्र आशंका भइरहेको छ । २०७४ को चुनावमा पनि पार्टीका कार्यकारिणी समिति सदस्य रणध्वज कन्दङ्वाको संयोजकत्वमा अन्तर्घात छानबिन गर्न कार्यदल गठन भएको थियो । तर त्यो कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयनमा आएन ।

कार्यदलका संयोजक थापाले भने, ‘हामीले प्रतिवेदन तयार गरेर पार्टीलाई बुझाइदिने हो, हामी चाहन्छौं कि त्यो कार्यान्वयनमा आओस् तर पार्टीले के गर्छ, थाहा छैन ।’ पार्टीका अध्यक्ष स्वयंले नै यसपटक अन्तर्घातबारे चासो लिइरहेका छन् । सप्तरी–२ बाट अध्यक्ष उपेन्द्र यादव  पराजित हुनुको कारण पार्टीका कतिपय नेता दोषी देखिन्छन् । त्यही भएर छानबिन प्रतिवेदन कार्यान्वयनमा आउने सम्भावना रहेको एक नेताले बताए ।

२०७४ को चुनावबारेमा कार्यदलले ३९ जना नेतालाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसमध्ये आठ जनालाई पार्टीबाट निष्काशन र ३१ जनालाई निलम्बनका लागि सिफारिस गरेको थियो तर त्यो प्रतिवेदन नै कार्यान्वयनमा नआएको तत्कालीन कार्यदलका संयोजक कन्दङ्वाले बताए ।

प्रतिवेदन कार्यान्वयनका लागि शीर्ष नेताहरुले नै चासो नलिएको उनको गुनासो थियो । उनले भने, ‘प्रतिवेदन मेहनत गरेर तयार गरियो । पछि त्यो कार्यान्वयनमा नआउँदा खिन्न हुन्छ । यस पटक पनि मलाई कार्यदलमा बस्न भनिएको थियो तर पहिलाको प्रतिवेदन कार्यान्वयनमा नआएका कारण मलाई बस्नै मन लागेन ।’

यसपटकको प्रतिवेदन कार्यान्वयनमा आउनेमा आशावादी रहेको बताउँदै उनले पार्टीका अध्यक्ष उपेन्द्र यादव आफै चुनाव हारेका कारण प्रतिवेदन कार्यान्वयनमा आउने सम्भावना रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप