आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

राप्रपा प्रवक्ता श्रेष्ठलाई प्रश्न : के दुर्गा प्रसाईंले राप्रपाको एजेण्डा ‘हाइज्याक’ गर्न लागेका हुन् ?

शनिबार, २० फागुन २०७९, २२ : ५६
शनिबार, २० फागुन २०७९

काठमाडौँ । शनिवार काठमाडौँको नयाँ बानेश्वरमा मेडिकल व्यवसायीसमेत रहेका र पछिल्लो समय अभियन्ता बनेका दुर्गा प्रसाईंले शक्ति प्रदर्शन गर्न लागेका छन् । तत्कालीन नेकपा पार्टी गठनका आसपासका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो घरमा मार्सी चामलको भात खुवाएर चर्चामा आएका प्रसाईं नेकपाको अस्तित्व समाप्त भएपछि एमालेतिर लागेका थिए । एमालेको महाधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनित भएका उनी हाल एमाले छोडेर हिन्दु राष्ट्र र राजसंस्था स्थापनाको अभियानमा लागेका छन् । 

हालै झापामा पूर्व राजा ज्ञानेन्द्र शाहलाई भेटेका उनले त्यसयता धर्मसंस्कृति संरक्षण, हिन्दु राष्ट्र स्थापना, राजसंस्था स्थापना, बैक तथा वित्तीय क्षेत्रमाथि नियन्त्रणको मुद्दा अघि सारेर अभियान सञ्चालन गर्न थालेका छन् । सोही अभियानको मुख्य दिनका रूपमा आज उनले नयाँ बानेश्वरमा ठूलो सभा गरेका छन् । 

यसअघिदेखि राप्रपाले जुन एजेण्डा बोकेर राजनीति गरिरहेको छ, ठ्याक्कै त्यही एजेण्डा अघि सारेर दुर्गा प्रसाईं सडकमा आएपछि यसलाई राप्रपाले कसरी लिएको त ? यसबारेमा रातोपाटीले राप्रपाका प्रवक्ता मोहन श्रेष्ठसँग संक्षिप्त कुराकानी गरेका छौँ :

दुर्गा प्रसाईंले राप्रपाले उठाउँदै आएको हिन्दूराष्ट्र, राजसंस्थाको माग गर्दै लिएर सडक प्रदर्शन गर्न थालेका छन् । यसलाई राप्रपाले कसरी लिएको छ ? 

हिन्दूराष्ट्र, राजसंस्थाको एजेण्डा उठाउने मुख्य शक्ति राप्रपा भएको हुनाले जसले उठाए पनि त्यसलाई हामी सकारात्मक रूपमा लिन्छौँ । तर दुर्गा प्रसाईंको अभियानबारे विशेष रूपमा भन्नुपर्दा राप्रपालाई गाली गरेर उनीहरू हिँडिरहेका छन् । हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा उठाउने वैधानिक शक्ति राप्रपा नै हो । 

दुर्गा प्रसाईंको पूर्व राजालाई भेटेर नै यो अभियानको थालनी गरेका छन् । यसले पूर्वराजासँग राप्रपाको सम्बन्ध पनि चिसो हुँदैछ भन्ने कुरा पनि आइरहेको छ नि ? 

राजासँगको सम्बन्ध हाम्रो राजनीतिक सम्बन्ध हो । देशको सार्वभौमिकता, स्वतन्त्रता, अखण्डताका लागि राजनीतिक दलभन्दा माथि उठेको साझा संस्थाको रूपमा राजसंस्था रहनुपर्छ भन्ने हाम्रो कुरा हो । यो एजेण्डालाई उठाउने हामी प्रमुख शक्ति हौँ । यसो गर भनेर पूर्वराजाले भनेको पनि हैन । 

एउटा व्यक्तिले यो अभियान चलाएर हिँडेको आज चौध पन्ध्र दिनमात्रै भयो । तर हामीले यो एजेण्डा बोकेर हिँडेको ३२ वर्ष भयो । २०६२/६३ सालको कठिन अवस्थामा समेत यो एजेण्डा बोक्ने पार्टी राप्रपा हो । तर आज अठार बिस दिनमै राप्रपाको एजेण्डा अर्काले हाइज्याक गर्‍यो भन्ने त प्रश्नै उठाउन मिल्दैन । 

के दुर्गा प्रसाईंले राप्रपाको एजेण्डा हाइज्याक गर्न लागेका हुन त ? के लाग्छ तपाईंलाई ? 

विगतमा पनि धेरैले यस्तो प्रयासहरू गरे तर वैधानिक रूपमा यो एजेण्डा उठाउने र यो एजेण्डा लिएर निर्वाचनमा जाने राप्रपा मात्रै हो । कमल थापाले यो एजेण्डा छोडेर निर्वाचनमा जानुभयो उहाँको कुन हविगत भयो । अहिले वैधानिक रूपमा संसद्को पाँचौँ राजनीतिक शक्तिका रूपमा राप्रपा स्थापित भएको छ । यो एजेण्डाको मुख्य संवाहक शक्ति नै राप्रपा हो । अरूले पनि यो मुद्दा उठाउने प्रयास गरिरहेका छन् । विगतमा पनि यस्तो प्रयास भएको थियो । यसकारण दुर्गा प्रसाईंले पनि अर्कालाई गाली नगरीकन, यो एजेण्डाको  मुख्य शक्ति रहेको राप्रपालाई गाली नगरीकन यस्तो अभियान लिएर हिँड्न त पाइहाल्छन् नि । 

दुर्गा प्रसाईंले थालेको अभियानमा राप्रपाका कार्यकर्ता पनि सहभागी छन् भन्ने कुराहरू आइरहेको छ नि ? 

हैन कार्यकर्ता तहबाट सहभागी भएका होलान् तर नेतृत्व तहबाट कोही सहभागी छैनन् । कार्यकर्ताहरू रमाइलो हेर्न पनि गएका होलान् तर नेतृत्व पङ्क्ति सहभागी छैन चाहे जिल्लाको होस चाहे केन्द्रको होस । यो एजेण्डाको पक्षमा भोट हाल्ने मतदाता त जान पाइहाले नि । 

अर्कोतिर राप्रपा नेपालका अध्यक्ष कमल थापाले यो अभियानलाई समर्थन गर्दै सहभागिता जनाउन हुन कार्यकर्तालाई आग्रह गरेका छन् । यसलाई कसरी लिनुभएको छ ? 

उहाँले आफ्नो दस्तावेजमा राजसंस्थाको एजेण्डा छोडेँ भन्नुभएको छ । फेरी आफ्ना कार्यकर्तालाई राजसंस्था पुनर्स्थापनाका लागि भनिएको आन्दोलनमा जान भन्नुभएको छ । उहाँ चरम विरोधाभासबाट गुज्रिरहनुभएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप