आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्डविरुद्ध मुद्दा दर्ता शान्ति प्रक्रिया बिथोल्ने षड्यन्त्र : नरेश भण्डारी

आइतबार, २१ फागुन २०७९, १९ : १२
आइतबार, २१ फागुन २०७९

जुम्ला । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णालीका पूर्वमन्त्री नरेश भण्डारीले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध मुद्दा दर्ता गर्नु शान्ति प्रक्रिया बिथोल्ने षड्यन्त्र भएको बताएका छन् ।

माओवादीले पार्टी सुदृढिकरण अभियान अन्तर्गत जुम्लाको जनयुद्धकालीन हेडक्वाटर दुर्गम पोखरी गाउँमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गणतन्त्र र युगान्तकारी परिर्वतनका नायक प्रचण्डका विरुद्धमा मुद्दा दायर गरेर राजनीतिक परिवर्तनलाई चुनौती दिने प्रयास भएको बताए ।

उनले न्यायपालिकालाई राजनीतिक दलको इकाईको रूपमा र न्यायाधीश कुनै पार्टीको कार्यकर्ताका रूपमा प्रस्तुत भएर सिंगो जनताको आस्थामाथि प्रहार नगर्न पनि सुझाव दिए ।

७ बुँदे घोषणापत्र जारी

नेकपा माओवादी केन्द्र जुम्लाले पार्टी सुदृढिकरण अभियानका लागि भन्दै पोखरी घोषणापत्र जारी गरेको छ । जनयुद्धकालमा पार्टी मुकाम बनाएको पोखरी गाउँमा जिल्लाभर खटाइएका १२० भन्दा बढी अभियानका नेताहरु, स्थानीयको सहभागितामा घोषणापत्र जारी गरिएको हो ।

घोषणापत्रमा सहिदले प्रदर्शन गरेको बाटोमा अविचलित निरन्तर अगाडि बढ्ने, जनतामा बाक्लो उपस्थिति गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था विरुद्धका अफवाह र षड्यन्त्रहरुको भण्डाफोर गर्ने, सहर र गाउँको विभेद मेटाउन गाउँ केन्द्रित विकासमा जोड दिने उल्लेख छ । यस्तै, समृद्ध पोखरी गाउँ निर्माणलाई अर्जुन दृष्टि बनाउने, विकास तथा जनजीविकाका समस्या समाधान गर्न अगाडि बढ्ने, समृद्ध र विकसित जुम्लाको लागि सुदृढ र विस्तारित माओवादीको संकल्पलाई कार्यान्वयन गर्ने, रुपान्तरण तथा विस्तार गर्दै सुदृढ र एकताबद्ध पार्टी निर्माण गर्ने घोषणापत्रमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप