सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
यसरी सम्पन्न भयो १५ दिने मध्यमा परिक्रमा (फोटो फिचर)

यसरी सम्पन्न भयो १५ दिने मध्यमा परिक्रमा (फोटो फिचर)

मङ्गलबार, २३ फागुन २०७९

जनकपुरधाम । मिथिलाको प्रसिद्ध १५ दिवसीय मध्य–माध्यमिकी परिक्रमा  अन्तः गृह परिक्रमा गरी विधिवत् रूपमा समापन भएको छ । नेपाल र भारतका १५ वटा विश्राम स्थललाई विधिवत् रूपमा परिक्रमा गर्दै सोमबार जनकपुरधाम आइपुगेका रामजानकीको डोला मंगलबार जनकपुरधामको पंचकोशी क्षेत्रमा परिक्रमा गरेपछि माध्यमिकी परिक्रमा सम्पन्न भएको हो ।

फाल्गुन औसीका दिन देखि विधिवत् रूपमा सुरु भएको परिक्रमा सकिए लगत्तै तराई मिथिला क्षेत्रमा होली खेल्ने ऐतिहासिक परम्परा रहेको छ ।

मिथिला महात्मयमा उल्लेख भए अनुसार वृहत्, मध्यमा एवं लब्धि गरी तीन प्रकारको परिक्रमा हुन्छ,  जसमध्ये मध्यमा अर्थात मिथिला माध्यमिकी परिक्रमाको आफ्नै विशेषता छ । फागुन औँसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने  मिथिला बिहारीको डोला तथा जनकपुरधामको अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमान नगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवत् रूपमा सुरुवात हुने परम्परा रहेको छ । 

प्राचीन समयमा सियालाल जी शरण नाम गरेका सन्तले सुरु गरेको मध्यमा परिक्रमा मनोवाञ्छित फल प्राप्त हुने विश्वासका साथ प्राचीन समयमा सियालाल जी महाराजले परिक्रमाको सुरुवात गरेका थिए ।  

नेपाल भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्राम स्थल छन् । सोही क्रममा धनुषाको हनुमाननगरबाट भारत बिहारको कल्याणेश्वर तथा फुलहर हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुव कुण्ड हुँदै परिक्रमा कञ्चनवन पुग्दछ ।

कञ्चनवनमा परिक्रमावासीहरू एक आपसमा होली खेलेपछि औपचारिक रूपमा होलीको सुरुवात भएको मानिन्छ । त्यसपछि धनुषाको पर्वता, धनुषाधाम, सतोषर ,औरही, विशौल हुँदै पुनः कल्याणेश्वर पुगेर जनकपुर फर्केर विश्राम गर्छन् । फागुन पूर्णिमाका दिन परिक्रमावासीहरू जनकपुरको परिक्रमा अर्थात अन्त गृह परिक्रमा पुरा गरेर घर फर्कने गर्दछन् । परिक्रमामा सहभागी यात्रीहरूले नेपालका १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिको पैदल यात्रा तय गर्ने गरिन्छ ।  

टाउकोमा बन्दोबस्तको समान लिएर प्रत्येक दिन स्थान परिवर्तन गरी बास बस्नु, भुइँ खनेर चुल्हो निर्माण गर्नु, खाना पकाउनु, भजन कित्र्तन लगायतका कार्यहरू गर्नु परिक्रमावासीहरूको दैनिकी हो ।

परिक्रमामा सहभागीहरूको लागि विभिन्न स्थानीय सङ्घसंस्थाहरूले निःशुल्क स्वास्थ्य शिविर, चिया, नास्तालगायतको व्यवस्था मिलाएका थिए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया