आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

अदुवाको मूल्य भारतीय बजारमा निर्भर

नेपालमा उत्पादन हुने ९८ प्रतिशत अदुवा भारतमा निर्यात
बुधबार, २४ फागुन २०७९, २३ : १७
बुधबार, २४ फागुन २०७९

काठमाडौँ । नेपालमा ठूलो परिमाणमा उत्पादन हुने अदुवाको मुल्य भारतीय बजारको मागमा निर्भर हुँदा नेपालका किसानहरु मारमा परेका छन् ।  पछिल्लो समय भारतमा उत्पादन बढ्दै गएको छ। त्यहाँ अदुवाको उत्पादन बढ्दा नेपाली अदुवाको मूल्य न्युन हुन्छ भने भारतमा उत्पादन घट्दा अदुवाको मुल्य उच्च हुने गरेको छ । 

नेपालले अहिलेसम्म अदुवा तेस्रो मुलुकमा निर्यात गर्ने कुनै योजना बनाउन सकेको छैन। त्यति मात्र होइन,स्वदेशमा अदुवा प्रशोधन गर्ने उद्योग स्थापना हुन सकेको छैन । 
अदुवाको सुठो, सुठोको भण्डारण, ग्रेडिङको व्यवस्था नहुँदा किसानले उत्पादन गरेको अदुवा विक्री नहुँदा खेर जान्छ । 

नेपालमा पाँच वर्षअघि अदुवाको मूल्य किसानले प्रतिकेजी दुई सय रुपैंयासम्म पाएका थिए। तर, पछिल्लो वर्षहरुमा किसानले २० देखि ३० रुपैंयासम्म अदुवा बेच्न बाध्य छन्। 
गुल्मीको गुल्मी दरबार गाउँपालिका–४ का किसान नवीनकुमार रिजालका अनुसार पछिलो वर्षहरुमा अदुवा विक्री नभएपछि पैंचो पसललाई प्रतिकेजी ३० रुपैंयाको दरले बेच्न बाध्य भएको बताए । 

पछिल्ला वर्षहरुमा अदुवाको उचित मूल्य नपाउँदा किसानहरु खेती गर्न छाड्दै गएको पाल्पाका किसान कृष्णप्रसाद घिमिरेले बताए । यस अघि बार्षिक १० क्वीन्टल अदुवा उत्पादन गर्दै आएका उनले गत वर्ष मुस्किलले २० रुपैंया प्रति किलोको दरले अदुवा विक्री गरे । लगानी उठ्नै धौ भएपछि यो वर्ष उनले अदुवा खेती गर्नै छाडे । उनले भने, ‘यस वर्ष अदुवाको विकल्पमा अरु नै खेती गर्ने सोच बनाएको छु ।’

पछिल्लो समय भारतको उत्तर प्रदेशमा अदुवाको व्यापक खेती विस्तार भएकाले अदुवाको मूल्य भारतीय बजारमा निर्भर रहेको नेपाल अदुवा उत्पादक महासंघका अध्यक्ष नगेन्द्र खड्का बताउँछन् । जति पनि सरकार आए पनिकिसानको मर्का कहिल्यै नबुझेको उदाहरण किसानका लागि सहज हुने नीति अहिलेसम्म बन्न नसकेको रहेको उनको भनाई छ । 

कृषि विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६-७७ मा २३ हजार पाँच सय हेक्टर क्षेत्रफलमा दुई लाख ९८ हजार नौ सय ४५ मेट्रिक टन अदुवा उत्पादन भएको थियो। त्यसैगरी आर्थिक वर्ष २०७७-७८ मा २१ हजार नौ सय १२ हेक्टरमा दुई लाख ७९ हजार दुई सय ६ मेट्रिक टन अदुवा उत्पादन भएको थियो। जबकि गत आर्थिक वर्षमा सरकारले तीन लाख मेट्रिक टन अदुवा उत्पादन गर्ने लक्ष्य लिएको थियो ।  

सरकारबाट आवश्यक र गुणस्तरीय बीउ समयमा उपलब्ध नहुनु रसमयमै रोग कीराको पहिचान नहुनुले पनि अदुवाको उत्पादन घटेको खड्काले बताए। अदुवा प्रशोधन प्लाण्ट नहुनु, अदुवाको बीउको सही भण्डारको व्यवस्थापन नहुनु, उत्पादित अदुवाले उचित मूल्य नभएकाले अदुवा खेतीमा किसानको रुचि घट्दै गएको उनकोे भनाइ छ । 
नेपाली अदुवाले तेस्रो मुलुकमा आफ्नो पहिचान बनाउन नसकेकाले भारतीय बजारमै निर्भर छ ।अध्यक्ष खड्काले भने, ‘अदुवा महत्वपूर्ण नगदे बाली भएको हुँदा न्यूनतम समर्थन मूल्य तोकिनुपर्ने हो ।’

संघीय सरकारको कृषि मन्त्रालय मातहत रहेको राष्ट्रिय आलु, तरकारी तथा मसलावाली विकास केन्द्रले र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत अदुवा खेती कार्यक्रम हुँदै आएको छ । 

हरेक वर्ष अदुवा खेतीमा करोडौ रुपैंया लगानी गरेता पनि कार्यक्रम प्रभावकारी हुन सकेको छैन । राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्रका प्रवक्ता पदम अधिकारीले भने, ‘अनुदान कुन किसानलाई दिने, कुनलाई नदिने सबै स्थानीय तहबाटै हुन्छ । हामीले बजेटमात्रै पठाइ दिने हो ।’

वार्षिक साढे १७ करोडको अदुवा आयात 
अदुवा नेपालबाट सबैभन्दा बढी निर्यात हुने नगदेवालीमध्ये एक हो । पछिल्लो ६ वर्षको तथ्याङ्क हेर्दा अदुवाको आयात पनि बढ्दै गएको देखिन्छ । 

नेपालमा अदुवाको बजार थोरै मात्र छ। यहाँ उत्पादन हुने ९८ प्रतिशत अदुवा भारतमा निर्यात हुने गर्छ। बेमौसमीमा अदुवाका लागि शित भण्डारसम्मेत खोल्न नसक्दा यहाँ सिजनका बेलामा मात्र अदुवा खपत हुने गर्छ। त्यसैले बेमौसमका बेला नेपालमा करोडौंको अदुवा आयात हुने गर्छ। पछिल्लो ६ वर्षको तथ्याङ्क हेर्दा आर्थिक २०७७-७८ मा १७ करोड ५७ लाखको अदुवाको आयात भएको देखिन्छ ।   

केन्द्रीय भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७३-७४ मा १५ करोड ९७ लाख ९३ हजार, २०७४-७५ मा आठ करोड ७६ लाख ३९ हजार, २०७५-७६ मा ११ करोड ३० लाख ८५ हजार, २०७६-७७ मा ११ करोड ९६ लाख ८७ हजार, २०७७-७८ मा १७ करोड ५७ लाख १४ हजार, २०७८-७९ मा ११ करोड २२ लाख ७३ हजार र चालु आर्थिक वर्षमा ९ करोड ३५ लाख सात हजार रुपैंयाको अदुवा आयात भएको देखिन्छ । 

अदुवा निर्यातमा उतार चढाव
अदुवा आयात भन्दा निर्यात बढी भएको देखिन्छ । आर्थिक वर्ष २०७३-७४ मा २४ करोड १७ लाख ४९ हजार, २०७४-७५ मा ७७ करोड १३ लाख ३० हजार, २०७५-७६ मा ५१ करोड २६ लाख ७३ हजार, २०७६-७७मा ४३ करोड ५७ लाख ७७ हजार, २०७७-७८ मा ४४ करोड ८३ लाख ६३ हजार, गत आर्थिक वर्षमा ५४ करोड ९९ करोड ८३ हजार र चालु आर्थिक वर्षमा २५ करोड ६८ लाख ७४ हजार रुपैंयाको अदुवा निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डुक्पा छिरिङ मोक्तान
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप