आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
काठमाडौँवासीको चेतनास्तरलाई गिज्याइरहेको बागमती (फोटो फिचर)

काठमाडौँवासीको चेतनास्तरलाई गिज्याइरहेको बागमती (फोटो फिचर)

शनिबार, २७ फागुन २०७९

काठमाडाैँ । बागमती नदी नेपालीहरूको आस्थाको केन्द्र हो । हिन्दुहरूका लागि जन्मदेखि मरणोपरान्त बागमती नदीको आवश्यकता त्यत्तिकै छ । हिन्दुहरूको मात्रै नभई किराँत समुदायका लागि पनि बागमती नदीको आवश्यकता र औचित्य हिन्दु समान छ । बागमती नदीको सभ्यता निकै गर्विलो छ । 

बागमती नदी अहिले ढलमती उपनामले परिचित छ । यसको कारण काठमाडौँवासीको लापरबाही र सरसफाइमा चासो नहुनु नै हो । ढल मिसाउने, फोहोर फाल्ने स्थान बनेको बागमती नदीलाई हराभरा बनाए मात्रै हामी स्वच्छ र स्वस्थ रहन सक्छौँ भन्ने मानसिकता नै काठमाडौँवासीमा छैन । 

पछिल्लो समय बागमती सरसफाइ अभियानसँगै बागमतीमा केही कम फोहोर छ तर आम मानिसको मन, मस्तिष्कमा फोहोर फाल्नु हुँदैन भन्ने चेतना  नै छैन । ढल, फोहोर र दुर्गन्धपूर्ण बागमती नदी स्वच्छ, सफा र सुन्दर बागमती हुन र आफ्नो पुरानै पहिचान पाउन मुस्किल छ । 

सबै लागेर फोहोर नफाल्ने हो भने फेरि बागमती नदी छेउमा हरियाली र प्राकृतिक बास्नासहित बहनेछ । तर काठमाडौँवासी नै बागमतीलाई सफा बनाउँदा आफ्नै स्वार्थसिद्ध हुन्छ भन्ने कुराबाट टाढा छन् । काठमाडौँ उपत्यकाभित्र त बागमती फोहोर छ नै चोभार नजिकबाट काठमाडौंबाहिरिने क्रममा पनि कालो बागमती नदीको पानी देख्दा काठमाडौँवासीदेखि नै वितृष्णा जाग्छ । 

काठमाडौँको सिनामंगल क्षेत्रमा सुकुम्वासीले बागमती नदी हडपेर बनाएको टहरा होस् वा गोकर्णस्थित बागमती नदी किनारमा बनाइएको शौचालय यी सबैले हामी नेपालको काठमाडौँ जस्तो सुन्दर, विकसित सहरलाई गिज्याउँछ । काठमाडौँ उत्तरबाहिनीस्थित बागमती नदीमा मिसाइएको नाली, ललितपुर सानेपाबाट बागमतीमा मिसाइएको ढल, कुपण्डोल युएन पार्कनजिक बागमती नदी किनारमा भत्केको बार, बुद्धनगर क्षेत्रमा बाढीले बगाएर ल्याएको फोहोर, सुन्दरीघाट बागमती नदी छेउ थुपारिएको फोहोर, कुलेश्वर छेउको  बागमती र सुकुम्वासी बस्ती यी सबैले विकसित सहरका अविकसित मानिसको सोचलाई दर्साउँछ । 

यसमा कोही एक व्यक्तिले मात्रै पहल गरेर सम्भव छैन, सरकार, स्थानीय निकाय, निजी सङ्घसंस्था र आम सर्वसाधारण सबै मिलेर सरसफाइमा ध्यान दिने हो भने पक्कै पनि बागमतीले आफ्नो पुरानो लय समात्नेछ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका यी बागमती नदीका तस्बिरहरू :

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया