७६ प्रतिशत सकियो नागढुंगा सुरुङमार्गको काम
सोमबार, २९ फागुन २०७९, १० : ५२
काठमाडौँ । निर्माणाधीन अवस्थामा रहेको देशकै पहिलो सुरुङमार्गको काम ७.३० प्रतिशत सकिएको छ । नागढुंगा सुरुङमार्ग आयोजनाले दिएको जानकारीअनुसार आजसम्ममा ७६.३० प्रतिशतभन्दा धेरै काम सम्पन्न भएको हो ।
यस अवधिमा आयोजनाको मुख्य टनेल १८ सय ६९ मिटर खनिएको छ । पूर्वपट्टिबाट ८९३ मिटर र पश्चिमपट्टिबाट ९७६ मिटर गरी कूल १८ सय ६९ मिटर मुख्य टनेल खनिएको आयोजनाले जनाएको छ । आयोजनाअन्तर्गत मुख्य सुरुङको कूल लम्बाई २६सय ८८ मिटर रहेको छ ।
यस्तै, सहायक सुरुङको काम समेत २१ सय २७ मिटर खनिसकिएको छ । सहायक सुरुङको कूल लम्बाई २५ सय ५७ मिटर छ । यो सुरुङ पूर्वपट्टिबाट ११ सय ४७ मिटर र पश्चिमपट्टिबाट ९८० मिटर खनिएको बताइएको छ । हाल आयोजनामा करिब ६०० कामदारले काम गरिरहेका छन् ।