आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
निवर्तमान राष्ट्रपतिको आगामी बाटो

शीतलनिवासबाट बाहिरिएकी विद्याबारे चासो : एमालेमा ‘कमब्याक’को सम्भावना कति ?

राजनीतिमा आउन शीर्ष नेताकै सुझाव !
सोमबार, २९ फागुन २०७९, १५ : ५९
सोमबार, २९ फागुन २०७९

काठमाडौँ । कार्यकाल पूरा भएसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी ७ वर्ष भन्दा बढी समय शीतलनिवासमा बिताएर बाहिरिएकी छन् । नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएर सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै भण्डारीले शीतलनिवास छाडेकी हुन् । राष्ट्रपतिको रूपमा भण्डारीले शीतलनिवासमा दुई कार्यकाल बिताइन् । निवर्तमान राष्ट्रपति भण्डारीको दोस्रो कार्यकाल २०७९ साल फागुन २८ गते आइतबार रातिदेखि सकिएको थियो । 

एमालेका तत्कालीन महासचिव स्वर्गीय मदन भण्डारीकी धर्मपत्नी समेत रहेकी भण्डारी २०७२ मा राष्ट्रपतिका रूपमा शीतलनिवास प्रवेश गर्दा पार्टीमा उपाध्यक्षको भूमिकामा थिइन् । दोस्रो संविधानसभाबाट संविधान जारी भएपछि २०७२ कात्तिक ११ गते पहिलोपटक राष्ट्रपतिका रूपमा शीतलनिवास प्रवेश गरेकी भण्डारी दोस्रो पटक २०७४ फागुन २९ गते पुन राष्ट्रपति बनिन् । दुई कार्यकाल जोड्दा भण्डारीको शीतल निवास बसाई ७ वर्ष ४ महिना बित्यो । लामो समय मुलुकको सर्वोच्च राष्ट्रपति पदको जिम्मेवारीमा रहँदाको अन्तिम अन्तिमतिर भण्डारीले सकारात्मक र नकारात्मक दुवै किसिमका आलोचनाहरू खेप्न पुगिन् ।

भण्डारीको आगामी यात्राबारे चासो

राष्ट्रपतिको कार्यकाल पूरा गरेर निजी निवास फर्कँर्दै गर्दा भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा भइरहेका छन् । उनले आफूनिकटस्थहरुसँगको भेटमा पनि सक्रिय राजनीतिमा फर्कने संकेत गरिसकेकी छन् । कतिपयले भण्डारीले पुनः एमालेको नेतृत्व सम्हाल्ने अड्कलबाजी समेत गरेका छन् । आफूनिकटस्थहरुसँगको भेटमा भण्डारीले भन्ने गरेकी छन्, ‘समय र परिस्थितिले जे माग्छ, त्यो भूमिका निर्वाह गर्न म तयार छु ।’ भण्डारीको यो भनाइले पनि उनी पुनः राजनीतिमा फर्कन सक्ने धेरैको बुझाइ छ । तर, कतिपय विश्लेषक र बुद्धिजीवीहरू भने राष्ट्रपति जस्तो उच्च जिम्मेवारीमा पुगेको व्यक्ति अवकाश लिएपछि पुनः राजनीतिमा फर्कनु नहुने मत राख्छन् । यद्यपि त्यो निर्णयमा पुग्ने अधिकार स्वयं व्यक्तिकै भएकाले नैतिकतालाई समेत ख्याल गरेर निर्णयमा पुग्नु बुद्धिमानी हुने उनीहरूको सुझाव छ ।  

bidhya-bhandari-bidai-(4)_Uc3O2m3bM8

पूर्वराष्ट्रपति डा. रामबरण यादवका सल्लाहकार समेत रहेका वरिष्ठ पत्रकार राजेन्द्र दाहाल राष्ट्रपतिको जिम्मेवारीमा रहेर भूमिका निर्वाह गरिसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा आउने कुरा आफूलाई विश्वास नभएको बताउँछन् । ‘विद्यादेवी भण्डारी जसले राष्ट्रपतिको भूमिका निर्वाह गरिसक्नुभएको छ, उहाँ फेरि सक्रिय राजनीतिमा फर्कनुहुन्छ भन्ने मलाई विश्वास छैन र म त्यो कुरा विश्वास गर्न पनि सक्दिनँ’, दाहालको भनाइ छ ।

‘विद्या भण्डारी दलको सक्रिय राजनीतिमा फर्कनुहोला र इच्छा राख्नुभएको छ भन्ने कुरामा अलिकति पनि विश्वास छैन’, दाहालको भनाइ छ । दाहालको जस्तै मत संविधानका जानकार तथा अधिवक्ता भीमार्जुन आचार्यको पनि छ । ‘व्यक्तिगत रूपमा संविधान र कानुनले निषेध नगरेकाले म राजनीतिमा सक्रिय हुन्छु भन्नुभयो भने त्यो उहाँको निजी कुरा भयो’, आचार्यले भने, ‘तर संविधानको मर्म र र भावना अनि जुन उद्देश्यले राष्ट्रपति पद खडा गर्‍यौँ त्यसका पछाडि संवैधानिक दर्शन छ ।’

संविधानले राष्ट्रपति भैसकेको व्यक्ति सक्रिय राजनीतिमा नजाऊ नभने पनि आए गलत नजिर बस्ने बुझेर त्यस्तो निर्णय लिन नहुने उनको छ । आचार्यले रातोपाटीसँग भने,‘राष्ट्रपति भैसकेको व्यक्ति पुनः राजनीतिमा आए गलत नजिर बस्नेछ भन्ने बुझेर उहाँले त्यसो गर्नुहुनेछैन ।’ आचार्यले संवैधानिक नैतिकता देखाउनुपर्ने भन्दै राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा सक्रिय भए उनीपछि हुने राष्ट्रपतिले स्वतन्त्र भएर काम नगर्ने खतरा बढ्न सक्ने बताए । ‘संविधानको पालक र रक्षकको भूमिका निर्वाह हुन सक्दैन सबभन्दा ठुलो खतरा त्यो रहन्छ’, आचार्यको भनाइ छ ।

dd

भण्डारी राष्ट्रपति पदमा रहँदा राजनीतिक सल्लाहकारको भूमिकामा रहेका लालबाबु यादवले भने राजनीतिमा फर्कने नर्फकँने निर्णय गर्ने अधिकार भण्डारीकै विवेकमा भर पर्ने बताए ।  यता हालका प्रधानमन्त्री पुष्पकमल दाहालदेखि पूर्वप्रधानमन्त्रीहरु केपी ओली र शेरबहादुर देउवासहित दलका नेताहरूले भण्डारीलाई राजनीतिमा फर्कन सुझाव दिएको यादवको दावी छ ।

‘उहाँले सक्रिय राजनीतिमा आउने आकांक्षा राखेको छ छैन त्यो उहाँले नै बुझ्ने र भन्ने कुरा हो । तर हिजो फागुन २८ गते आइतबार पाँच बजेको कुरा हो– प्रधानमन्त्री प्रचण्डजी, पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, शेरबहादुर देउवा नेताहरू उपेन्द्र यादव, महन्त ठाकुर, रवि लामिछाने र अर्को एक जना पार्टी सभापति भेट्न शीतलनिवास आउनुभयो र सबै सातै जनाले उमेर पनि छ र संविधानले पनि बाँधेको छैन, त्यसकारण सम्माननीय राष्ट्रपति महोदय तपाईँ सक्रिय राजनीतिमा आउनुपर्‍यो भनेर सल्लाह दिनुभयो’, यादवको भनाइ छ ।

त्यो भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति भण्डारीको पहिलो कार्यकाल अन्तरिम कार्यकाल भएको र संविधानको पूर्ण कार्यान्वयन र राज्यको संरचना (प्रदेश) गठन समेत नभएकाले आफूहरूले दोस्रो कार्यकालका लागि राष्ट्रपति बनाएको स्मरण समेत गरेको यादवले बताए । नेताहरूको सुझावमा नेपाल र नेपालीको हितका साथै नेताहरूको सल्लाहअनुसार आफूले निर्णय गर्ने भण्डारीले जवाफ दिएकी थिइन् ।

Lalbabu-Yadav

‘हेरौँ तपाईँहरूको सुझाव, सल्लाहअनुसार नेपाल र नेपालीको हितमा जे हुन्छ त्यो म गर्न तयार छु’, नेताहरूलाई भण्डारीले दिएको जवाफ उद्धृत गर्दै यादवले जानकारी दिए । सल्लाहकार यादव श्रीलङ्काको उदाहरण दिँदै भण्डारी पुनः राजनीतिमा सक्रिय हुन सक्ने बताउँछन् । उनले भने, ‘राजनीतिमा किन आउन हुँदैन ? श्रीलङ्काको उदाहरण छैन ?’ श्रीलङ्कामा सन् २००५ देखि २०१५ सम्म राष्ट्रपति भएका महिन्दा राजपाक्षे २०१८ र त्यसपछि २०१९ देखि २०२३ सम्म पनि प्रधानमन्त्री भएका थिए । उसो त राजपाक्षे राष्ट्रपति हुनुअघि सन् २००४ देखि ००५ सम्म पनि प्रधानमन्त्रीको भूमिकामा थिए । 

कार्यकालको अन्तिम क्षणमा राष्ट्रपति भण्डारीलाई बिदाइ भेट गर्न आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, रास्वपा सभापति रवि लामिछानेलगायत प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू शीतलनिवास पुगेका थिए ।  

व्यक्तिगत चाहना र पार्टीको आवश्यकताअनुसार निर्णय गर्ने कुरा होः ज्ञवाली

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले भण्डारी राजनीतिमा सक्रिय हुने कुरा आफूले बाहिर सुने पनि औपचारिक रूपमा कुरा नभएकाले उनको ठोस योजनाबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । ‘राष्ट्रपति भएको व्यक्तिलाई राजनीतिमा आउन संविधानले कतैपनि रोकेको छैन । त्यसैले व्यक्तिगत चाहना र पार्टीको आवश्यकताअनुसार निर्णय गर्ने कुरा उहाँको हो’, ज्ञवालीको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप