आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ठेक्का नलागेपछि आफै खोला उत्खनन् गर्दै निजगढ नगरपालिका

बुधबार, ०१ चैत २०७९, ११ : ४३
बुधबार, ०१ चैत २०७९

बारा । चालु आर्थिक वर्षका लागि खोलाको ठेक्का नलागेपछि निजगढ नगरपालिकाले आफै खोला उत्खनन् गर्ने निर्णय गरेको छ । नगरपालिकामा पूर्व तथा बहालवाला जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला निकायबिच मंगलबार बसेको बैठकले नगरपालिका आफैले खोला उत्खनन् गर्ने निर्णय गरेको हो ।

२ महिनाअघि नगरपालिकाले पहिलो पटक ३० दिनको लागि र दोस्रोपटक १५ दिनको म्यादसहित ठेक्का सूचना सार्वजनिक गरेको थियो तर, दुवै पटक ठेकेदार कम्पनीहरुले चासो नदेखाएपछि नदीजन्य पदार्थ आफैले खन्ने निर्णय गरेको नगरप्रमुख सुरथ पुरीले जनाए । राजस्व मर्न नदिन पहिलो पटक नगरपालिका आफैले नदीजन्य पदार्थ खन्ने निर्णय गरेको उनको भनाइ छ ।

उनले १ करोड ५६ लाख १४ हजार ७४४ घनफिट ढुंगा, गिटी, बालुवा उत्खनन् गर्न न्युनतम भ्याटबाहेक १२ करोड ४९ लाख १७ हजार ९५२ रुपैयाँको ठेक्का सूचना निकालेको बताए । ‘राजस्वलाई मर्न नदिन हामीले पहिलो पटक आफैले खोला खन्ने निर्णय गरेका छौं, यसका लागि कार्यविधि बनाएर काम अगाडि बढाउन अझ केही साता लाग्न सक्छ,’ उनले भने ।

निजगढ नगरपालिकाले बर्सेनि मंसिर पहिलो सातादेखि जेठ मसान्तसम्मका लागि १४ देखि १६ करोडमा बकैया, धन्सार, शक्तिखोला, लालभक्त र बगर खोला उत्खननको ठेक्का लगाउने गर्दछ । तर यसपटक नदीजन्य पदार्थको विषयलाई लिएर अदालतमा मुद्दा परेपछि खोलाको ठेक्का लगाउन ढिलो भएको हो । नगरपालिकाले बिगतमा वर्षको ७ महिना लगाउँदै आएको खोलाको ठेक्का यसवर्ष ३ महिनामात्रै लगाउँदा पनि न्यूनतम् कबोल रकम नघटाएको ठेकेदार कम्पनीहरुको गुनासो छ ।

यसअघि जीतपुरसिमरा उपमहानगरले पनि पसाहा, बालगंगा र दुधौरा खोला आफैले खन्ने निर्णय गरेको थियो । बाराको १६ वटा पालिकामध्ये निजगढ, कोहल्वी र जीतपुरसिमरा उपमहानगर अन्तर्गत मात्रै खोलाजन्य पदार्थ रहेकाले यी ३ वटा पालिकाले मात्रै खोलाजन्य पदार्थको ठेक्का लगाउने गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप