आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

लुम्बिनी प्रदेश : चैत ७ गतेभित्र सरकारको समर्थन फिर्ता लिने तयारी

बुधबार, ०१ चैत २०७९, २२ : ४७
बुधबार, ०१ चैत २०७९

बुटवल । राष्ट्रपतिको निर्वाचन सन्दर्भमा फेरिएको गठबन्धन अनुसार लुम्बिनी प्रदेशमा पनि सरकार गठनको गृहकार्य सुरु गरिएको छ । राष्ट्रपति, उपराष्ट्रपति पदको निर्वाचन कुरेर बसेका लुम्बिनी प्रदेशका विभिन्न दलले एमाले नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन चैतको पहिलो साताभित्र फिर्ता लिने तयारी गरेका हुन् ।

उपराष्ट्रपति निर्वाचन सकिए लगत्तै लुम्बिनी फर्किएर माओवादी सहितका दलले सरकारप्रतिको समर्थन फिर्ता लिने तयारी गरेको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।

उनले भने, ‘सांसदहरु मतदान गरेर फर्केपछि समर्थन फिर्ता लिन हामीले छलफल गरेका छौं, सायद छिट्टै फिर्ता हुन्छ होला ।’

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्ली चौधरीले चैत ७ गतेभित्रै प्रदेश सरकारप्रतिको समर्थन फिर्ता लिने तयारी भएको रातोपाटीलाई बताए । माओवादीसहित साना दलले समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने उनले बताए ।

चौधरीले भने, ‘हामीसँगको छलफलमा ६ या ७ गतेसम्म समर्थन फिर्ता लिने माओवादीले जानकारी गराएको छ । जे होस् ७ गते भन्दा उता जाँदैन ।’

समर्थन फिर्ता लिएपछि नैतिकताको आधारमा मुख्यमन्त्री लिला गिरीले राजीनामा दिने विश्वास दलहरूको छ । यदि राजीनामा नदिए संविधानको अर्को धारा अनुसार सरकार गठनको प्रक्रियामा जाने रणनीतिमा दलहरु छन् ।

पछिल्लो गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, लोपसा, नागरिक उन्मुक्ति, जनमोर्चा लगायत ८ दल छन् । राप्रपाले भने अहिलेसम्म एमालेलाई साथ दिने जनाएको छ ।

राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले राप्रपाले एमालेको साथ नछेड्ने रातोपाटीलाई बताए । उनले आफूहरू यही सरकारलाई साथ दिने प्रस्ट पारे ।

लुम्बिनीमा एमालेको २९ र राप्रपाको ४ सिट छ । प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४४ सिट चाहिन्छ । पछिल्लो समीकरण अनुसार नयाँ गठबन्धनसँग प्रस्ट बहुमत देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप