आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशको आर्थिक वृद्धि ६ प्रतिशत

बुधबार, ०१ चैत २०७९, २० : ३४
बुधबार, ०१ चैत २०७९

पोखरा । गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ६.१७ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको छ । बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको अध्यक्षतामा प्रदेश दिगो विकास लक्ष्य निर्देशक समितिको बैठकमा प्रदेशको आर्थिक वृद्धि ६.१७ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको हो । 

बैठकमा गण्डकी प्रदेशमा दिगो विकास लक्ष्य कार्यान्वयनको अवस्था र आगामी कार्य योजनाबारे छलफल भएको थियो । मुख्यमन्त्री अधिकारीले बैठकमा दिगो विकास लक्ष्यले देखाएका विषय र प्रदेशको योजनाहरूको व्यवहारिक कार्यान्वयनको पाटो अलग हुन नहुने बताए । आवश्यकताका आधारमा योजनाहरूको प्राथमिकीकरण गरिनुपर्ने उनको भनाइ थियो ।

कार्यान्वयनको वर्तमान अवस्था बारे प्रदेश योजना आयोग उपाध्यक्ष डाक्टर गिरधारी शर्माले प्रस्तुतीकरण  गरेका थिए । उनले पछिल्लो आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ६।१७ प्रतिशत रहेको तथ्यांक प्रस्तुत गरे । उनका अनुसार प्रदेशमा १५ देखी २४ वर्ष उमेर समूहका ६० प्रतिशत युवाहरू बेरोजगार छन् । 

बैठकले प्रदेश, जिल्ला र स्थानीय तहमा दिगो विकासको कार्यान्वयन अनुगमन र मुल्यांकनका सम्बन्धमा भएको संस्थागत व्यवस्थाका सम्बन्धमा जानकारी गराएको थियो । दिगो विकासको लक्ष्य समीक्षा गरी प्रदेशका ८५ वटै पालिकालाई समन्वय, अनुगमन र मुल्यांकन गरेर प्रतिवेदन पठाउन अनुरोध गर्ने निर्णय भएको छ । दिगो विकासका सूचकहरू गरिबी, भोकमरी, राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर, लैगिक समानता, स्वच्छ पानी र सरसफाइलाई जिम्मेवारी लिई कार्यान्वयन गर्ने निर्णय भएको छ । 

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री सिता सुन्दासले मानव स्रोत विकासका लागि योजना बनाएर दिगो विकास लक्ष्य प्राप्तिमा सहज हुने उल्लेख गरिन् । उनले दीर्घकालीन सोच राखेर दक्ष प्राविधिक जनशक्ति बढाउनुपर्ने सुनाइन् । झन्झटिलो प्रक्रियाका कारण काम गर्न ढिलाइ असहज भइरहेको मन्त्री सुन्दासको अनुभव छ । 

कृषि, ऊर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले राजनीति अस्थिर भन्दा नीति योजनाहरूको कार्यान्वयन कमजोर बनेको बताए । मन्त्री गुरुङले प्रदेशमा ६ प्रतिशत मात्रै कृषि जमिन भएकाले  बजारीकरण प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेले विषयगत कार्यालयहरूको उपलब्धि सन्तोषजनक नरहेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप