आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सूर्य नेपाल सेन्ट्रल ओपनमा शुक्रको कीर्तिमानी प्रदर्शन

बिहीबार, ०२ चैत २०७९, १४ : २७
बिहीबार, ०२ चैत २०७९

काठमाडौँ  । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राईले कीर्तिमानी प्रदर्शन गरेका छन्। ११-अन्डर ६१ को  प्रदर्शनमा शुक्रले गोकर्ण गल्फ क्लबमा नयाँ कोर्स रेकर्ड कायम गरेका हुन्। सूर्य नेपाल मास्टर्स दौरान तीन भारतीय खेलाडी चिक्कारङ्गापा एस, अभिजत सिंह चड्डा र समिम खानले १०-अन्डर ६२ खेल्दै रेकर्ड बनाएका थिए। उक्त रेकर्ड १० वर्षपछि शुक्रले तोडेका हुन्। 

गोकर्ण गल्फ क्लबमा दोस्रो दिन ११-अन्डर ६१ खेल्दै समग्रमा १८-अन्डर १ सय २६ को सानदार नतिजामा शुक्रले भुवन नगरकोटीलाई ३ स्ट्रोकले पछि पारे। ९-अन्डर ६३ को उत्कृष्ट स्कोरमा भुवन समग्रमा १५-अन्डर १ सय २९ सहित दोस्रो स्थानमा रहेका छन्। ९-अन्डरको स्कोरमा उनले शिवराम श्रेष्ठको रेकर्ड बराबरी गरे।‌  

एमेच्योर खेलाडी  सद्भाव  आचार्य ३-अन्डर ६९ खेल्दै समग्रमा ३-अन्डर १ सय ४१ को स्कोर सहित तेस्रो स्थानमा उक्लिएका छन्। नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङ र प्रोफेसनल खेलाडी जयराम श्रेष्ठ १-अन्डर १ सय ४३ सहित संयुक्तरुपमा चौथो स्थानमा रहेका छन्। सुवासले १-अन्डर ७१ र जयरामले ३-ओभर ७५ मा दोस्रो दिनको खेल सके।  

यसैगरी १-ओभर ७३ स्कोर गर्दै समग्रमा इभन-पार १ सय ४४ सहित नीरज तामाङ छैटौँ स्थानमा रहे। २-अन्डर ७० जोड्दै समग्रमा १-ओभर १ सय ४५ सहित भुवन कुमार रोक्का सातौँ स्थानमा रहे। यस्तै टङ्क बहादुर कार्की र शिवराम पौडेलले २-ओभर १ सय ४६ सहित संयुक्तरुपमा आठौँ स्थान बाँडे। टंकले १-अन्डर ७१ र शिवरामले १-ओभर ७३ स्कोर जोडे।  

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रा लिको प्रायोजनमा जारी प्रतियोगितामा एमेच्योर युवराज भुजेल र प्रो सञ्जय लामा ३-ओभर १ सय ४७ को नतिजामा संयुक्तरुपमा दसौँ स्थानमा रहेका छन्।  

३६ होलको समाप्तिमा १३-ओभर सम्म खेल्ने २१ प्रो र ७ एमेच्योर गरी कुल २८ खेलाडीले कट बनाएका छन्।‌ प्रो दिनेश प्रजापतिसँगै रामे मगर, प्रदीप कुमार लामा, राजेन्द्र श्रेष्ठ प्रधान, रमेश अधिकारी, बलभद्र राई, सञ्जोक मोक्तान, राम कृष्ण श्रेष्ठ, रवि खड्का, दीपक मगर, कमल तामाङ, सूर्य प्रसाद शर्मा र किसन कालीराज सुनारले कट बनाए। एमेच्योरतर्फ सद्भाव र सुवाससँगै युवराज भुजेल, टासी छिरिङ, सुरेश तामाङ, निश्चय जङ्ग रायमाझी र क्याप्टेन नोर्बु शेर्पाले पनि अन्तिम दुई दिनको लागि स्थान सुरक्षित गरे।  

करियरकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा शुक्रले फ्रन्ट नाइट ५-अन्डर ३१ मा पुरा गरे। पहिलो, दोस्रो र नवौँ होलमा बर्डी प्रहार गर्दा ५-पारको सातौँ होलमा इगलको सफलता प्राप्त गरे। ब्याक नाइनमा पनि सानदार प्रदर्शनलाई निरन्तरता दिए। बाोगी रहित खेल्ने क्रममा ११औँ, १३औँ, १४औँ र १५औँ होलमा एक-एक सट बचाउँदा १२औँ होलमा इगल प्रहार गरे।ब्याक नाइन ६-अन्डर ३० मा सकाए। रेकर्ड स्कोर गर्दा पनि शुक्रलाई भुवनले दबाब भने दिएका छन्।  

भुवनले लोभलाग्दो प्रदर्शन गर्दै फ्रन्ट नाइन ८-अन्डर २८ मा सके। यो क्रममा उनले दिनको सुरुवात बर्डीबाट गर्दै तेस्रो होलमा इगलको सफलता हात पारे। यसपछि चौथो देखि सातौँ होलमा लगातार बर्डी प्रहार गरे भने नवौँ होलमा पनि एक सट बचाए। फ्रन्ट नाइनमा कुल ६ बर्डी दर्ज गरे। ब्याक नाइन १-अन्डर ३५ मा पुरा गरे। १३औँ होलमा एक सट खेर फाल्दा ११औँ र १२औँ होलमा बर्डी प्रहार गरे।  

एमेच्योर  सद्भावले फ्रन्ट नाइन २-अन्डर ३४ मा पुरा गरे। पहिलो होलमा बोगी खेपे पनि सम्हालिँदै चौथो, छैटौँ र सातौँ होलमा बर्डी प्रहार गरे। यसपछि ११औँ होलमा एक सट खेर फाल्दा १२औँ र १८औँ होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा सके।  

नम्बर एक एमेच्योर सुवासले फ्रन्ट नाइन २-अन्डर ३४ र ब्याक नाइन १ ओभर ३७ मा पुरा गरे। उनले तेस्रो, पाँचौँ, सातौँ र बार्हौ होलमा बर्डी प्रहार गर्दा आठौँ, एघारौँ र पन्ध्रौँ होलमा बोगी खेपे।  कुल ८ लाख नगद पुरस्कार राशिको प्रतियोगितामा‌ ३१ प्रोफेसनल र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप