आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
स्ववियु चुनाव

कर्णालीमा स्ववियु चुनाव: अधिकांश क्याम्पसमा शान्तिपूर्ण मतदान

दैलेखको नारायण क्याम्पसमा हुन सकेन चुनाव
आइतबार, ०५ चैत २०७९, १८ : ००
आइतबार, ०५ चैत २०७९

सुुर्खेत । आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत कर्णालीका अधिकांश क्याम्पसमा मतदान सम्पन्न भएको छ । झण्डै एक दर्जन क्याम्पसहरुमा भएको मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । कालिकोटको जनचेतना बहुमुखी क्याम्पसमा भने झडप भएको छ । त्यहाँ भोटिङ हुँदै गर्दा सामान्य विवाद भएको हो । प्रहरी र विद्यार्थीबीच झडप हुँदा नेकपा एमाले निकट अनेरास्ववियूका दुई जना विद्यार्थी नेताको टाउको चोट लागेको छ । यद्यपि अहिले विवाद साम्य भएर मतदान भइरहेको कांग्रेस कर्णाली प्रदेश कमिटीका प्रवक्ता दमन शाहीले रातोपाटीलाई जानकारी दिए । जनचेतना बाहेकका क्याम्पसहरुमा भने मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएको विद्यार्थी संगठनहरुले बताएका छन् । 

जुम्ला बहुमुखी क्याम्पसमा ५१२ मत खसेको छ भने समानुपातिकतर्फ ५३३ मत खसेको छ । यहाँ बेलुका ७ बजेबाट मतगणना सुरु हुने बताइएको छ । अखिल क्रान्तिकारीबाट विष्णु भण्डारी, नेविसंघबाट महेश हमाल र अनेरास्ववियूबाट लोकेन्द्र बुढा अध्यक्ष पदका उम्मेदवार छन् ।  कालिकोटको तिला कर्णाली बहुमुखी क्याम्पसमा १५९ मत खसेको छ । यहाँ २१३ मतदाता संख्या रहेको थियो ।  यस्तै रारा बहुमुखी क्याम्पस, डोल्पामा पनि मतदान सम्पन्न भइसकेको छ । दैलेखमा तीनवटा क्याम्पसहरुमध्ये चामुण्डा कलेजमा भने नजिता आइसकेको छ । पश्चिममा पर्ने आठबिस बहुमुखी क्याम्पसमा ३४२ मत खसेको छ । दोर्णाञ्चल क्याम्पस दुल्लू दैलेखमा ४४८  मत खसेको छ । नारायण क्याम्पस दैलेखमा भने चुनाव हुन सकेन । त्यहाँ विवादका कारण मतदान हुन नसकेको हो । 

मध्यपश्चिम विश्वविद्यालयपछि सबैले प्रतिष्ठाको विषय बनाएको वीरेन्द्रनगरस्थित सुर्खेत बहुमुखी क्याम्पसमा एक हजार ६८१ मत खसेको छ । सो क्याम्पसमा २ हजार ५०० भन्दा बढी मतदाता रहेका थिए । यहाँ नेकपा माओवादीनिकट अखिल क्रान्तिकारीबाट हिक्मत शाही र एमाले निकट अनेरास्ववियूबाट अक्कलबहादुर सिजापतिबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । शाहीलाई नेविसंघले साथ दिएको छ भने सिजापतिलाई अनेरास्ववियू एसले साथ दिएको छ । सुर्खेतकै विद्यापुर जनता बहुमुखी क्याम्पसमा ३३४ मत खसेको छ । यहाँ ३९२ मतदाता संख्या रहेको थियो ।  यहाँ अनेरास्ववियूबाट केशव साउँद र नेविसंघबाट चेतन नेपाली प्रतिस्पर्धामा छन् ।

 अखिल क्रान्तिकारीका नेता अम्मरजंग शाहीका अनुसार आज मतदान भएका अधिकांश क्याम्पसमा मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । मध्यपश्चिम विश्वविद्यालयका १० वटा आंगिक क्याम्पसमध्ये (नारायण क्याम्पस दैलेख बाहेक) ९ वटामा चुनाव भएको छ । १० वटामध्ये ३ वटा लुम्बिनी प्रदेशमा पर्दछन् । त्रि–भूवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरुमा चुनाव भएको हो । यसअघि करिब १५ वटा क्याम्पसहरुमा भने निर्विरोध रुपमा चुनाव सम्पन्न भइसकेको छ । अधिकांश क्याम्पसको नतिजा सोमबारसम्म आउने देखिएको छ । 

कर्णालीमा नेविसंघले खोल्यो खाता 
दैलेखको चामुण्डा कलेजमा भएको निर्वाचनको नतिजा आएको छ । त्यहाँ नेविसंघका नेता सुनीलकुमार शाही १२९ मतसहित विजयी भएका छन् । यहाँ २५६ मत खसेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप