आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

गर्भवती र शिशुको मुखमा हुन सक्छ यस्तो समस्या

बुधबार, ०८ चैत २०७९, ०७ : ५९
बुधबार, ०८ चैत २०७९

काठमाडौं । मुख स्वास्थ्यका बारे नेपालमा गम्भीर समस्या नदेखिएसम्म खासै वास्ता गर्ने चलन छैन । शरीरका अन्य भागमा समस्या देखिँदा जति महत्त्व दिएर उपचार गरिन्छ, सोही अनुसार मुख स्वास्थ्यलाई महत्त्व दिएको पाइँदैन ।

दिन मुख स्वास्थ्यलाई ख्याल गरिएन भने शारीरिक रूपमा कमजोर भइने स्वास्थ्य विभाग, उपचारात्मक महाशाखा अन्तर्गत मुख स्वास्थ्य शाखाका सर्जन डाक्टर प्रकाश कुमार पाण्डे बताउँछन् । यस्तै, मुख स्वास्थ्यमा समस्या भएका गर्भवतीबाट जन्मिने बच्चासमेत कमजोर हुन सक्ने उनको भनाइ छ । त्यस्ता बालबालिकामा हाडजोर्नी, उच्च रक्तचाप, मधुमेह, मुटु र फोक्सो लगायतमा समस्या हुन सक्ने उनले बताए ।

मुख स्वास्थ्य अन्तर्गत दाँत किराले खाने, गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गनाउने जस्ता समस्याका अतिरिक्त मुखको क्यान्सर जस्ता रोेग लाग्न सक्ने डा. पाण्डेले बताए । मुखमा घाउ, खटिरा वा मुखसम्बन्धी समस्या बारम्बार देखिएमा मुटुको रोग पनि लाग्न सक्ने उनको भनाइ छ ।

डा. पाण्डेका अनुसार गर्भधारण गर्न सक्ने सबै महिलालाई मुखमा समस्या देखिन सक्छ । त्यसैले गर्भावस्थामा मुखको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने उनी बताउँछन् । गर्भावस्थामा मुख स्वास्थ्यमा समस्या आउन सक्छ भने नवजात शिशु जन्मिने बित्तिकै पनि मुख स्वास्थ्यमा समस्या आउन सक्ने उनी सुनाउँछन् ।

गर्भवती भएका ५० प्रतिशतभन्दा बढी महिलामा गिजाको समस्या देखापर्ने गर्छ । गर्भावस्थामा गिजाको रोगका कारण दाँतहरू हल्लिने समस्या पनि हुन सक्ने उनले बताए ।

गर्भवती हुँदा दाँतमा समस्या किन आउँछ ?

गर्भ रहेको पहिलो तीन महिनामा वाकवाकी लाग्ने वा उल्टी आउने हुँदा दाँतहरू खिइने समस्या हुन सक्ने डा. पाण्डे बताउँछन् । यस्तै, गर्भवती महिलाले अमिलो र गुलियो खानेकुरा धेरै पटक खाने हुँदा दाँतमा किरा लाग्ने समस्या देखा पर्न सक्छ ।

उनका अनुसार यस्तो समस्या भएका गर्भवतीले वाकवाकी वा उल्टी भएको बेलामा सफा पानीले अनिवार्य मुख कुल्ला गर्नुपर्छ । गर्भवती महिलाहरूले यस्ता खानेकुराको सट्टा पोषिलो र स्वस्थ खानेकुरा खाएमा आफू र गर्भमा रहेका शिशुलाई समेत फाइदा हुने उनले बताए ।

गर्भावस्थाको चौथो महिनामा शिशुको दाँत र हड्डीको विकासका लागि क्यालसियम र फस्फोरसको अवश्यक पर्ने भएकाले क्याल्सियम र फस्फोरसयुक्त खाने कुरा सेवन गर्नुपर्ने उनले बताए । गर्भमा रहेको शिशुले आमाको खानाबाटै आवश्यक खनिज पदार्थहरू प्राप्त गर्ने भएकाले आमाको खानेकुरा पोषिलो  हुनुपर्ने उनको भनाइ छ ।

दुध र दुधबाट बनेका खाद्य पदार्थहरू जस्तै चीज, दही आदिमा क्याल्सियम र फस्फोरस पाइन्छ । फेलिक एसिड भन्ने भिटामिन तत्वको कमीले ओठ र तालु खुँडे हुने समस्या हुन्छ । त्यसैले हरियो सागपात, दाल जस्ता खाने कुरामा पनि गर्भवतीले जोड दिनुपर्छ । गर्भवती महिला र शिशुको मुख स्वास्थ्यमा समस्या आउन नदिनका लागि विशेष ध्यान दिनुपर्छ ।

शिशुहरूको मुखमा कस्तो समस्या आउँछ ?

शिशु जन्मनासाथ मुख स्वास्थ्यमा ध्यान दिनुपर्ने डा. पाण्डे बताउँछन् । उनका अनुसार कुनै शिशु जन्मदै दाँत उम्रिएको हुन सक्छ । जसले गर्दा आमालाई स्तनपान गराउन समस्या भएमा वा अन्य समस्या देखिएमा सो दाँत निकाल्नु पर्ने अवस्था सिर्जना हुन सक्छ ।

यस्तै, शिशु जन्मदा गिजामा फोका आउने समस्या देखा पर्न सक्छ । दाँत उम्रने बेलामा रुने, झगडा गर्ने, खान नमान्ने, धेरै ¥याल बाग्ने, गिजा सुन्निने, जे पायो त्यही टोक्ने वा पखाला लाग्नेसमेत हुन सक्छ । दाँत उम्रने ठाउँमा फोका आउने लगायतका समस्या देखिन सक्छन् ।

कसरी सजग हुने ?

शिशुको गिजामा फोका आए पनि त्यो फोका आफै हराएर जाने हुँदा खासै उपचार गर्न नपर्ने उनले बताए । यस्तो अवस्थामा धेरै गाह्रो भए सिटामोल दिन सकिने उनको भनाइ छ ।

गिजा सुन्निएको अवस्थामा सानो चम्चाको पछाडिको भाग बरफले चिस्याएर वा कागतीको रसले भिजाएर गिजामा दल्दा राम्रो हुन्छ ।

दाँत उम्रने ठाउँमा फोका आएमा खासै उपचार चाहिँदैन यद्यपि त्यस्तो फोका फुटाउनु हुँदैन ।  

दुधे दाँतमा किरा लाग्न नदिनका लागि दुध खुवाउने बेलामा गुलियो पेय हाल्नु हुँदैन ।

शिशु रोएको बेलामा गुलियो खानेकुरा दिएर फकाउने गर्नु हुँदैन ।

दिनमा धेरै पटक बिस्कुट खुवाउनु हुँदैन ।

शिशुहरूले औँला चुस्ने एउटा प्राकृतिक कुरा हो जसले गर्दा उनीहरूको बंगाराको हड्डी र मांशपेशीहरूको विकास हुन्छ । तर ६ वर्षपछि स्थायी दाँत आइसकेपछि यो बानी छुट्नुपर्छ । किनभने अगाडीका दाँतहरू बाहिरतिर धकेलिँदा नराम्रो देखिन्छ ।

यस्तो गरौँ

–दाँतमा किरा लाग्ने र गिजाको रोगबाट बच्न दैनिक कम्तीमा दुई पटक केराउको दाना जति फ्लोराइडयुक्त मन्जनले दाँत माझ्नुपर्छ । 

–बालबालिकाहरू ६–७ वर्ष मुनिका भएमा वा आफै दाँत माझ्न सक्ने नभएसम्म अभिभावकको निरीक्षणमा दाँत माझ्न सिकाउने र सघाउनु पर्छ ।

–पोषिलो खाना खानुपर्छ ।

– गुलियो खानेकुरा वा पेयको मात्रा कम खाने ।

– पान, खैनी, सुपारी, मद्यपान धम्रपान आदि सेवन नगर्ने ।

–नियमित रुपमा मुखको स्वास्थ्य परीक्षण गर्ने

सर्जन डा पाण्डेका अनुसार शरीरलाई चाहिने आवश्यक कुरा भोजनबाट प्राप्त हुन्छ भने भोजन पेटभित्र जाने माध्यम मुख नै हो । मुख स्वास्थ्यलाई ध्यान दिएमा अधिकांश रोग न्यूनीकरणमा मद्दत पुग्ने डा. पाण्डेको भनाइ छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप