ह्वीलचेयर क्रिकेट टोली भारत जाने
काठमाडौँ ।ह्वीलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली बिहीबार भारतको गुजरात प्रस्थान गर्ने भएको छ ।
हिमाल अर्यालको कप्तानीमा रहेको टोलीको अन्य सदस्यमा रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोमनाथ राई, फणीनारायण पौडेल, रमेश खत्री, वरुण बुढा मगर र राजु कट्वाल रहेका छन् । प्रशिक्षकमा भरतकुमार कार्की छन् ।
टोली प्रमुखमा नेपाल पारालिम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला तथा अफिसियलमा महासचिव प्रकाश चिलवाल रहेका छन् ।
मार्च २३ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्का गरी ४ राष्ट्रको सहभागिता रहने छ । चार टिमबीच राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । लिगमा शीर्ष २ स्थान हात पार्ने टिमले पुनः उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
नेपालले मार्च २४ मा श्रीलङ्का, मार्च २५ मा भारत र मार्च २७ मा बङ्गलादेश विरुद्ध राउन्ड रोविन लिगमा प्रतिस्पर्धा गर्ने छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधवार एक कार्यक्रमबीच बिदाइ गरे ।