आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

नेपालमा क्षयरोगको मार : बर्सेनि १७ हजारको जान्छ ज्यान

बिहीबार, ०९ चैत २०७९, १५ : ४९
बिहीबार, ०९ चैत २०७९

काठमाडौँ । नेपालमा बर्सेनि टीबी अर्थात् क्षयरोगका कारण करिब १७ हजार जनाले ज्यान गुमाउने गरेका छन् । यद्यपि समुदायमा अझै पनि क्षयरोगको बारेमा पर्याप्त जानकारी नभएको राष्ट्रिय क्षयरोग केन्द्रका निमित्त निर्देशक डा नवीन शाहको बुझाइ छ । यस्तै, नेपालमा हरेक वर्ष ६९ हजार नयाँ बिरामी थपिने गरेका छन् । आर्थिक वर्ष २०७८/७९ को फागुन सम्ममा ३७ हजार ८६१ जना क्षयरोगका बिरामीहरू उपचारको लागि दर्ता भएको डा. शाहले जानकारी दिए । नेपालमा हरेक वर्ष नयाँ तथा पुराना गरी करिब १ लाख १७ हजार  क्षयरोगका बिरामी हुने गर्छन् ।

यस्तै, विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२१ मा विश्वमा १ करोड ६ लाख मानिस क्षयरोगबाट पीडित छन् । जसमा पुरुष ६० लाख, महिला ३४ लाख तथा बालबालिका १२ लाख रहेको पाइएको छ । 

प्रतिरोधी क्षयरोगका कारण चुनौती 

टीबी रोग पहिचान र उपचार गरिएकामध्ये साढे आठ प्रतिशतको उपचार सफल नभएको पाइएको छ । केन्द्रका डा. शाहका अनुसार नेपालमा औषधि प्रतिरोधी क्षयरोगका बिरामी र रोग पत्ता लागेर उपचारमा आएका बिरामी सङ्ख्या हेर्दा २१ सय जना भन्दा बढी छन् । 

औषधि प्रतिरोधी क्षयरोगीको रोग पत्ता लगाई उपचारको दायरामा ल्याउन नसक्दा क्षयरोग कार्यक्रममा चुनौती थपिएको उनको भनाइ छ । रोग पहिचान भई नियमित रूपमा औषधि सेवन गर्दा पनि सो औषधीले काम नगर्दा उनीहरूले सावधानी नअपनाएको खण्डमा अन्य व्यक्तिलाई सङ्क्रमणको उच्च जोखिम हुने डा.शाहको भनाइ छ । 

यद्यपि नेपालमा ९१.५ प्रतिशत क्षयरोगका बिरामी उपचार सफल भई निको भएको केन्द्रको दाबी छ । क्षयरोगका अनुमानित बिरामीको दर र उपचारमा आएका बिरामी सङ्ख्याको अनुपात हेर्दा भने क्षयरोग कार्यक्रममा चुनौती थपिएको उनको भनाइ छ ।   

के हुँदै छ उपचार र पहिचानका लागि ?  

डा.शाहका अनुसार सरकारले क्षयरोग उपचार तथा व्यवस्थापन केन्द्रको स्थापना र क्षयरोग रोकथाम तथा उपचार सेवाको विस्तार गरेको छ । यस्तै, स्वास्थ्य संस्थाहरूमा क्षयरोगका बिरामीको विस्तृत विवरणमा आधारित विद्युतीय निगरानी प्रणालीलाई राम्रो बनाउने रणनीतिअनुसार अघि बढेको उनको जिकिर छ ।   

उनी भन्छन्, ‘रणनीति प्रभावकारी रूपमा कार्यान्वयनका लागि १० वटा   कार्यनीति तय गरिएको छ । जसमध्ये क्षयरोग मुक्त नेपाल अभियानलाई स्थानीय तहको स्वामित्व तथा समुदायको संलग्नतामा सुदृढीकरण गर्ने एक प्रमुख कार्यनीति हो ।’ डा शाहका अनुसार २०७८÷७९ मा २५ वटा स्थानीय तहमा क्षयरोग मुक्त अभियान क्रियाकलाप सञ्चालन भइरहेको छ । आर्थिक वर्ष २०७९÷८० मा थप एक सय स्थानीय तहमा क्षयरोग मुक्त अभियान कार्यान्वयन गरिने छ । यस अभियानलाई आगामी वर्ष भित्र ७५३ वटै स्थानीय तहमा विस्तार गर्ने योजना रहेको छ ।

यस्तै, राष्ट्रिय क्षयरोग अन्तर्गत ८९६ माइक्रोस्कोपिक केन्द्र, ९३ जिनएक्सपर्ट केन्द्र, २ कल्चर तथा डीएसटी र २ एलसीए केन्द्रमार्फत क्षयरोग निदान सेवा प्रवाह भइरहेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ ।  यस्तै, ५ हजार ९७१ डट्स केन्द्र, २२ डीआर उपचार केन्द्र, ८१ डीआर उपचार उपकेन्द्रहरू र ७ डीआर होस्टलमार्फत क्षयरोगको उपचार सेवा प्रदान गरिँदै आएको उनले बताए ।

के हो क्षयरोग ?

क्षयरोग एक सरुवा रोग हो । माइक्रोबेक्टेरियम ट्यूबरक्यूलोसिस व्याक्टेरियाको सङ्क्रमणबाट मानिसलाई क्षयरोग लाग्छ । रोग लाग्दा लामो अवधिसम्म खोकी लाग्नु, खकारमा रगत देखा पर्नु, साँझपख हल्का ज्वरो आउनु, राती सुतेको बेलामा पसिना आउनु, तौल घट्दै जानु, खान मन नलाग्नु क्षयरोगको लक्षण सामान्य लक्षण हो । 

सावधानी नअपनाएमा यो सर्छ । क्षयरोग फोक्सोमा मात्रै नलागेर शरीरको अन्य भागहरूमा समेत लाग्ने डा.शाहले बताए । अस्वस्थ जीवनशैली तथा अस्वस्थकर खानपानका कारण पनि क्षयरोगको सङ्क्रमणको जोखिम हुने चिकित्सकहरू बताउँछन् । सरकारले निःशुल्क रूपमा उपचार गराउँदै आएको छ । तर, समाजमा अझै पनि क्षयरोगबारे पर्याप्त जानकारी नहुँदा सङ्क्रमणको उच्च जोखिम रहेको राष्ट्रिय क्षयरोग निमित्त निर्देशक डा.शाहको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप