सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
विलासी पर्यटकका लागि द टेरेसेस् रिसोर्ट एण्ड स्पा
घुमघाम

विलासी पर्यटकका लागि द टेरेसेस् रिसोर्ट एण्ड स्पा

बिहीबार, ०९ चैत २०७९

काठमाडौँ । बाहिरबाट हेर्दा दरबारको संरचना । पानीको पोखरीको डिलमा शान्त मुद्रामा बसेका बुद्धको कलात्मक मूर्तिहरू र काठमाडौँ उपत्यकाको मनोरम दृश्य ।

ग्वार्कोबाट करिब १८ किलोमिटरको दुरीमा रहेको लाकुरी भञ्ज्याङको शीरमा रहेको द टेरेसेस् रिसोर्ट एण्ड स्पाबाट देखिने दृश्य हो यो । १० वटा भिल्ला भएको यो  रिसोर्टमा  रहेका हरेक कोठा बाहिर टेरेस अर्थात खेतको गरा जस्तो भाग निकालिएको छ ।

terrace resort spa (12)

‘हाम्रो मुख्य उद्देश्य भनेकै हाम्रा पाहुनाहरूलाई कोठामा मात्रै नबसीकन बाहिर प्रकृतिको अवलोकन गराउनका साथै मनोरम दृश्यावलोकनको मौका दिनु हो । त्यसैले हाम्रा हरेक रुमको बाहिर बरन्डा वा टेरेस बनाएका छौँ । यसको संरचनाको सिद्दान्त नेपालमा प्रचलनमा रहेको आली खेती नै हो,’ रिसोर्टका निर्देशक तेन्जिङ शेर्पाले रातोपाटीलाई भने ।

terrace resort spa (13)

सन् २०१४ देखि निर्माण सुरु भइ २०२१ देखि सञ्चालनमा आएको तथा करिब एक सय करोड लगानीमा खुलेको  यो रिसोर्टमा २८ वटा स्यान्डर्ड, १६ वटा डिलक्स र २ वटा सुइट छन् । स्यान्डर्ड रुमको मुल्य २५ हजार नेपाली रुपैयाँदेखि सुरु हुन्छ भने डिलक्स रुम ३० हजार ५ सयदेखि सुरु छन् । सुइटको भने ६५ हजार नेपाली रुपैयाँ प्रति रात पर्छ । रुम अनुसार जकुज्जी र मिनी बारको सुविधा पनि होटलले दिइरहेको छ । यहाँ जानको लागि भने ठमेलमा रहेको यस रिसोर्टको सम्पर्क कार्यालयमा बुकिङ गर्नुपर्छ । 

‘होटल बनाउँदा हामीले डोजर र अन्य हेभी इक्विपमेन्टको प्रयोग गरेनौँ । यहाँको भौगोलिक संरचना र अवस्था नबिगार्न हामीले पहाडमा खन्न पनि मानवीय स्रोतको प्रयोग गर्‍यौँ  । पहाडको अवस्था नबिगारिकन त्यहीँ भिल्लाहरु बनायौँ । खेतको गरा जस्तै गरी रुमहरू तयार पारेका छौँ,’ शेर्पाले भने ।

करिब ४० रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टले वरिपरिको जग्गा पनि लिजमा लिएको छ । ४० वर्षको लागि लिजमा लिएर यो रिसोर्टको क्षेत्रफल करिब १०० एकड जमिनमा फैलिएको छ । आफ्ना पाहुनाहरूलाई अर्ग्यानिक खाना खुवाउनको लागि तरकारी र केही फलफूल खेती गरिएको छ ।

terrace resort spa (26)

२००० मिटरको उचाइमा रहेको यो रिसोर्टमा कोइ फिस पोखरी पनि छ जसको डिलमा बसेर काठमाडौँको मनोरम दृश्य हेर्न तथा माछा पौडी खेलेको हेर्न सकिन्छ । अझ काठमाडौँ उपत्यका हेर्दा भिल्लाको छतमात्र देखिँदा पाहुनालाई खिन्न नहोस् भनेर छतमा पानी राखिएको छ । ‘आकाशको प्रतिविम्ब छतमा देखियोस् र हिमाल हेर्दा पनि काठमाडौँ उपत्यकामा रहेको कङ्क्रिटको जङ्गल नदेखियोस् बरु रिफ्लेक्सनले अझ मनमोहक बनाओस् भन्नको लागि हामीले छतमा पानी राखेका हौँ,’ उनको भनाई छ ।

विदेशी पर्यटक र छोटो समयमै सगरमाथा क्षेत्र पुग्न चाहने पर्यटकका लागि रिसोर्टले प्राइभेट हेलिप्याड पनि छ । ‘लुक्ला जान चाहने पर्यटकलाई लक्षित गरेर हामीले हेलिप्याड पनि बनाएका छौँ । हेलिकप्टर चार्टड गरेर जान चाहने पर्यटक यहाँबाट सिधै जान सक्छन् । काठमाडौँ उपत्यकाभन्दा पनि अलिक उचाइमा रहेकोले पर्यटकहरू वातानुकूलित हुन सक्छन् । यसले उनीहरूको बसाइ पनि सहज हुनेछ,’ रिसोर्टका अध्यक्ष आङ छिरिङ शेर्पाले रातोपाटीलाई भने ।

नयाँ नियम अनुसार काठमाडौँ नभई मन्थलीबाट उडान गर्नुपर्ने र यसका कारण मौसम र अन्य समस्याबाट पर्यटक ग्रसित भएको भन्दै अध्यक्ष शेर्पाले आफ्नो यो सेवाबाट पर्यटकको बसाइ सहज हुने दाबी गर्छन् ।

‘हामीले सुन्दै आएका छौँ । मन्थलीमा पर्यटकहरू धेरै समय कुर्नुपर्ने भएको र कहिलेकाहीँ समयमै उडान हुन नसक्दा मन्थलीमै अलपत्र अवस्थामा लामो समयसम्म बस्न बाध्य भएको सुन्दै आएका छौँ । यसले हाम्रो नेपालको इमेज बिगारेको छ । यसलाई सुधार्न गर्नको लागि हामीले यो सुविधा ल्याएका हौँ, आङछिरिङले थपे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया