आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जीतपुरसिमरामा कपि परीक्षण नै नगरी अङ्क चढाउने प्रवृत्तिको अन्त्य

पहिलोपटक  कार्यविधि नै बनाएर कक्षा ८ को परीक्षा सञ्चालन
आइतबार, १२ चैत २०७९, १२ : ११
आइतबार, १२ चैत २०७९

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले पहिलोपटक कार्यविधि नै बनाएर आधारभूत तह कक्षा ८ को परीक्षा सञ्चालन गरेको छ । उपमहानगर मातहतमा रहेका ६२ वटा निजी तथा संस्थागत विद्यालयमा कक्षा ८ मा अध्ययनरत १ हजार ९७८ जना विद्यार्थीहरूको परीक्षा सञ्चालन तथा उत्तर पुस्तिका परीक्षण सुरुवात गरेको हो । उपमहानगरले पहिलो पटक कक्षा ८ को परीक्षा सञ्चालन सम्बन्धी कार्यविधि नै बनाएर परीक्षा सञ्चालन, अनुगमन, निरीक्षण तथा उत्तर पुस्तिका परीक्षण लगायत काम सुरु गरेको छ ।

यसअघि नमुना विद्यालयहरूले समेत आफूखुसी होम सेन्टर सञ्चालन गर्ने, उत्तर पुस्तिका नै परीक्षण नगरी  विद्यार्थीलाई अङ्क दिएको, भेटेपछि यस पटक कक्षा ८ को परीक्षा सञ्चालनमा कडाइ गरिएको हो ।

उपमहानगरले १४ वटा विद्यालयहरूमा परीक्षा सेन्टरमा सञ्चालन गरेर नेरा मावि सिमरामा विषय शिक्षक खटाएको छ । सिसी क्यामराको निगरानीमा उत्तर पुस्तिका परीक्षण सञ्चालन गरेको छ ।

‘यो भन्दा पहिला विद्यालयको आफ्नै होम सेन्टर थियो, कपि आफैँ चेकजाँच गर्ने गर्थे, केही विद्यालयमा कपी नै परीक्षण नगरी अङ्क दिएको समेत भेटियो, यस पटक हामीले शिक्षा क्षेत्रमा सुधारको सुरुवात गरेका हौ’ उपमहानगरका शिक्षा अधिकृत हरिसप्रसाद भट्टले भने ‘अनुगमनको क्रममा हामीबाट भएका कमजोरी तत्काल सुधार गर्छौँ भनेका थियौँ, त्यसको सुधार भइसकेको छ’ । उपमहानगरले शिक्षा क्षेत्रमा देखाएको सुधारको प्रयासले यसपटकको कक्षा ८ को परीक्षाफलमा ठुलो उतार चढाव देखिने सङ्केत देखिएको छ ।

उपमहानगरले कक्षा ८ को परीक्षा सञ्चालन सम्बन्धी कार्यविधि नै बनाएको छ, जसमा प्रमुख प्रशासकीय अधिकृत संयोजक रहने र  सदस्य सचिव उपमहानगरको शिक्षा शाखा प्रमुख रहने उनकै नेतृत्वमा परीक्षा सञ्चालन, अनुगमन, निरीक्षण, व्यवस्थापन लगायत परीक्षाफल प्रकाशन गर्ने व्यवस्था छ । ‘हामीले कक्षा १० को एसइई परीक्षा सरह परीक्षा व्यवस्था गरेका छौ’ उनले भने ।

copy chaque2

उपमहानगरले १४ वटा परीक्षा केन्द्र पालिका भित्र राखेको छ । विगतमा सम्बन्धित विद्यालयमै होम सेन्टर राखेर परीक्षा सञ्चालन गर्ने व्यवस्थालाई यस पटक उपमहानगरले सुधार गरेको छ । ‘होम सेन्टर एक्सचेन्ज गरेर, कपीहरू पनि कोडिगं डिकोडिगं गर्दा कुन विद्यालयको कपि के हो कसैलाई पनि थाहा हुँदैन’ शिक्षा अधिकृत भट्टले भने ‘कपि कोडिगं गर्ने टोलीले आफ्नो काम गर्नुहुन्छ हामीले शिक्षकहरूलाई बोलाएर परीक्षण गर्न दिइसकेपछि  परीक्षा पश्चात्, समपरिक्षण हुन्छ र  अन्तमा कम्प्युटरमा चढाउने काम हुन्छ’

उपमहानगरले बिहान ७ बजेदेखि राती ९ बजेसम्म विषय मापदण्ड पुगेको विषय शिक्षक खटाएर उत्तर पुस्तिका परीक्षण गरिरहेको छ । शुक्रबार सम्म नेपाली, अङ्ग्रेजी, विज्ञान र सामाजिक विषयको परीक्षा सम्पन्न भएको छ भने ४ वटै विषयको उत्तर पुस्तिका समेत परीक्षण सकिएर कम्प्युटरमा चढाउने काम भइरहेको उपमहानगरले जनाएको छ ।

 ‘यो परीक्षाबाट हाम्रो मुल्याकंन, जनप्रतिनिधि, कर्मचारी, विद्यालय, विद्यार्थी, शिक्षकहरू र अभिभावक स्वयमको मुल्याकंन हुन्छ भन्ने बुझ्नुपर्‍यो । यसबाट अभिभावकमा पनि छोराछोरी फेल नै हुँदैनन् भने सोचमा अलि परिवर्तन हुन्छ कि भन्ने छ’ उनले भने । पछिल्लो समय २०७२ सालदेखि सरकारले विद्यार्थीलाई फेल नगर्ने, ग्रेडिङ प्रणालीको सुरुवात गरेपछि अभिभावक र स्वयम् विद्यार्थीहरूमा पनि फेल भइँदैन भन्ने गलत अवधारणको विकास हुँदै गएको छ ।

नतिजालाई चाँडो भन्दा चाँडो चुस्त दुरुस्तका साथ अगाडी लान र भोलिका दिनमा शैक्षिक सत्रलाई असर नपर्ने गरी परीक्षण गर्ने उपमहानगरको तयारी छ । चैत १५ गते सम्म सञ्चालन हुने कक्षा ८ परीक्षाको नतिजा जतिसक्दो छिटो प्रकाशन गर्ने उपमहानगरले जनाएको छ ।

jitpur_simara

यसअघि निवर्तमान नगरप्रमुख कृष्ण पौडेलको नेतृत्वमा रहेको कार्यपालिकाले शिक्षा ऐन ल्याए पनि त्यसलाई कार्यान्वयन गर्न सकेको थिएन । पहिलो स्थानीय तह निर्वाचन लगत्तै बसेको कार्यपालिका बैठकले २०७५ सालमा नै ल्याएको शिक्षा ऐन यस पटक नगरप्रमुख राजन पौडेलले कार्यान्वयनमा ल्याउन खोजेपछि निजी विद्यालयका सञ्चालकहरूको चर्को विरोध गरेका छन् । सो शिक्षा ऐन निजी विद्यालयहरूले पनि विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्ने, आयव्यय हरहिसाब सबै सम्पत्ति सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।  निजी विद्यालयका सञ्चालकहरूले भने सो ऐनको संशोधन गर्नुपर्ने दबाबसहित आफू अनुकूलका वडाध्यक्षहरूलाई छुट्टाछुट्टै भेला राखेर कार्यपालिका बैठकलाई प्रभावमा पार्न खोजेको उपमहानगर श्रोतले जनाएको छ ।

यता, जीतपुरसिमरा उपमहानगरका नगरप्रमुख  राजन पौडेलले पहिलो वर्षमा शिक्षा र स्वास्थ्य क्षेत्रमा आवश्यक कानुन नै बनाएर सुधार गर्ने बताएका छन् । ‘पहिलो वर्ष शिक्षा र स्वास्थ्यमा नीतिगत रूपमै सुधारको सुरुवात गर्ने हाम्रो योजना छ, त्यसपछि कृषि, सहकारी,विकास निमार्ण लगायत सबै क्षेत्रमा सुधारको काम हुन्छ’ नगरप्रमुख पौडेलले भने । अघिल्ला नगरप्रमुख कृष्ण पौडेलको कार्यकालमा निमार्ण भएका ऐन कानुन तथा कार्यविधिहरू नगरप्रमुख राजन पौडेलको प्रयासमा कार्यान्वयनमा आउन सकेको उपमहानगर वडा नं २० का वडाध्यक्ष रसुल अन्सारीले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप