आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाली अर्थतन्त्रलाई बाह्य क्षेत्रसँग जोड्दै लाभ लिन सक्नुपर्छ: उपराष्ट्रपति यादव

मङ्गलबार, १४ चैत २०७९, १७ : ४३
मङ्गलबार, १४ चैत २०७९

 काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाली अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय क्षेत्रसँग जोड्न द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरुको भूमिका महत्त्वपूर्ण रहेको विचार व्यक्त गरेका छन् । उनले स्वदेशी अर्थतन्त्रलाई बाह्य क्षेत्रसँग जोड्दै त्यसबाट लाभ लिन सकिने धारणा राखे ।

 उपराष्ट्रपति यादवलाई बधाई तथा शुभकामना दिन पुगेका १९ द्विराष्ट्रिय उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीसँगको भेटमा उनले भने, ‘अहिलेको विश्वमा हामीले विभिन्न मुलुकसँग सहकार्य गरेर आर्थिक विकासमा फड्को मार्नुपर्छ र त्यसका लागि द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरुको क्षमताको उपयोग गरिनुपर्छ ।’

वैदेशिक व्यापार, लगानी, पर्यटन प्रवर्द्धन तथा आर्थिक कूटनीतिका क्षेत्रमा द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरुको क्षमता, अनुभव तथा सञ्जाललाई उपयोग गर्नुपर्ने उनको भनाइ छ । आफू कार्यकारी भूमिकामा नरहे पनि मुलुकको आर्थिक विकासका लागि सरकारलाई सल्लाह र सुझाव दिने उल्लेख गर्दै उपराष्ट्रपति यादवले निजी क्षेत्रको सहभागिता र सहकार्यबिना आर्थिक विकासको लक्ष्य पूरा हुन नसक्ने बताए ।

 संविधानले निजी क्षेत्रलाई आर्थिक विकासको बलियो खम्बाका रूपमा स्वीकार गरिसकेकाले राज्यका नीति नियम पनि निजी क्षेत्रमैत्री हुनुपर्ने उनको भनाइ छ । उपराष्ट्रपति यादवसँगको भेटमा १९ द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट नेपाल चीन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले अर्थतन्त्रको अवस्थाबारे संक्षिप्त रूपमा प्रकाश पारेका थिए । श्रेष्ठले निजी क्षेत्रको अभिभावकका रूपमा उपराष्ट्रपतिबाट सरकारलाई निजी क्षेत्रमैत्री नीति नियम तर्जुमाका लागि सल्लाह सुझाव प्रदान हुने अपेक्षा राखिएको बताए ।

 ‘अर्थतन्त्र संकटमा छ, विदेशी लगानी बढ्न सकेको छैन र व्यापारघाटा हाम्रो नियन्त्रणमा छैन,’ श्रेष्ठले भने, ‘हामी द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरु वैदेशिक व्यापार, लगानी तथा पर्यटनमार्फत मुलुकको दिगो आर्थिक विकासमा प्रतिबद्ध छौं ।’ श्रेष्ठले सरकारले निजी क्षेत्रका मागलाई सम्बोधन गरेमा अहिलेको समस्या समाधान गर्नसकिने धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप