आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूर्वमन्त्रीकै ससुरा ‘मिटरब्याजी’ साहु (भिडियो)

६५ लाख ऋण लिएकोमा एक करोड ९६ लाख तिरिसक्दा पनि जग्गासमेत कब्जा गरेको पीडितको गुनासो
बुधबार, १५ चैत २०७९, १३ : ५७
बुधबार, १५ चैत २०७९

काठमाडौँ । मिटरब्याजी पीडितहरू पछिल्लो समय सडकमा उत्रिन बाध्य भएका छन् । समाजमा साहुको दर्जामा रहेका कतिपयले ऋण उपलब्ध गराउने र त्यसबापत कयौँ गुणा रकम असुल गरे पनि ऋण चुक्ता नभएका कारण आफ्नो घरबास उठेको भन्दै पीडितहरू संघर्षमा उत्रिन थालेका हुन् ।

पीडित पक्षले सरकार र जनप्रतिनिधिको ध्यानाकर्षण गराउन काठमाडौँमा केन्द्रित भएर आन्दोलन गरिरहेका छन् । तर तिनको समस्या समाधान गर्ने तहमा पुगेका जनप्रतिनिधिकै आफन्त ‘मिटरब्याजी’ धन्दामा रहेको पाइएको छ ।

मिटरब्याजी पीडितमध्येका एक हुन्– सिरहाका वीरेन्द्र कुमार यादव । उनी पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य राजकिशोर यादवका ससुराबाट पीडित भएका छन् । उनले सिरहाका रामसेवक यादवबाट २०६९ सालमा ६५ लाख रुपैयाँ ऋण लिएका थिए । जसबापत उनले हालसम्म १ करोड ९६ लाख १ हजार रकम बुझाइसकेका छन् ।

त्यतिमात्रै होइन साहु रामसेवकले उनको करिब एक बिगाहा जग्गा (१९ कट्ठा १० धुर) पनि आफ्नो नाममा पास गराइसकेका छन् । जसको रकम करोडौं पर्न जान्छ ।

साहु रामसेवक यादव सिरहा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राजकिशोर यादवका ससुरा हुन् । राजकिशोर पूर्वमन्त्रीसमेत हुन् ।

आफ्नो गुनासो लिएर पूर्वमन्त्री यादवकहाँ गएको तर, उनका ससुराले आजभोलि गर्दागर्दै समय बिताउने गरेको पीडित वीरेन्द्र कुमार यादवको गुनासो छ ।

meter Byaj1

मिटरब्याजीले घरबास नै उठाएपछि १३ दिनको पैदल यात्रा गरेर मधेस प्रदेशका ८ वटै जिल्लाका पीडितहरू यतिबेला काठमाडौँमा छन् । मार्चपास गर्दै वीरेन्द्र पनि काठमाडौँ आइपुगेका हुन् । उनले काम विशेषले लिएको ऋणको कयौँ गुणा तिरिसक्दा पनि साहुले आफ्नो जग्गासमेत कब्जा गरेपछि आन्दोलनमा उत्रिनुको विकल्प नरहेको बताए ।

यादव भन्छन्, ‘साहुलाई मैले पैसा जम्मा गरिसकेँ, अब मेरो जग्गा फिर्ता गरिदिनुस् भन्दा पनि मान्दैनन् । कमाएको रकम पनि सबै उनलाई नै तिर्नमा गयो । भएको जग्गा पनि उनैले लिए । फिर्ता नै गर्दैन, अनि कसरी गुजारा गर्ने ?’

आफूले पूर्वमन्त्री तथा सांसद राजकिशोरलाई समेत उनका ससुराले मिटरब्याजमा आफूलाई ऋण दिएको र सोबापत आफूले तिरेको रकमको हरहिसाब देखाएको उनको भनाइ छ ।  उनले भने, ‘प्रमुख जिल्ला अधिकारीकै रोहवरमा पनि एक पटक कुराकानी भयो । तर, साहु रामसेवकले जग्गा फिर्ता गर्न मानिरहेका छैनन् । राजनीतिक संरक्षणका कारण उनले यो सब गरिरहेका हुन् ।’

साहुले जग्गा फिर्ता गर्न नमानेपछि गत भदौमा वीरेन्द्रले जिल्ला प्रशासन कार्यालयमा मुद्दा पनि दर्ता गराएका छन् । तर, अझै न्याय पाउन नसकेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप