आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाराबाट ९ हजार १६९ विद्यार्थी एसईई परीक्षामा सहभागी

शुक्रबार, १७ चैत २०७९, ०८ : २३
शुक्रबार, १७ चैत २०७९

बारा । आजदेखि शुरु भएको माध्यमिक तह परीक्षा (एसईई)मा बारा जिल्लाबाट ९ हजार १६९ विद्यार्थी सहभागी भएका छन् । जिल्लाभरमा ३२ वटा परीक्षा केन्द्रबाट २ जना दृष्टिविहीन सहित  ३७८ जना प्राविधिक तर्फका विद्यार्थी परीक्षामा सहभागी छन् ।

जिल्ला शिक्षा समन्वय इकाई बाराका प्रमुख श्यामकिशोर यादवले परीक्षा प्रणालीमा विगतको तुलनामा धेरै सुधार गरिएको बताएका छन् । ‘हामीले ३÷३ जनाको समूह बनाएर १६ वटा अनुगमन टोली जिल्लाभरका परीक्षा केन्द्रमा खटाएका छौँ, त्यो टोलीले प्रत्येक दिन २ देखि ३ वटा परीक्षा केन्द्रमा परीक्षा अवधिभर बस्नुपर्ने व्यवस्था छ’ समन्वय इकाई प्रमुख यादवले भने ‘परीक्षा केन्द्रहरू विगतकै भए पनि विद्यालय परिवर्तन गरिएको छ’ ।

परीक्षालाई शान्तिपूर्ण र पारदर्शी ढङ्गले सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी, जनपथ प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक, जिल्ला निर्वाचन अधिकृत, लगायतको छुट्टाछुट्टै मोबाइल टोली समेत परीक्षा केन्द्रमा खटिएको छ ।

परीक्षामा पहिलो दिनदेखि अन्तिम दिनसम्म सम्बन्धित विद्यालयको प्राथमिक तहमा अध्यापन गराउने एउटै शिक्षक खटाउने र विगतको वर्षहरूमा प्रत्येक दिन विषय शिक्षकलाई परीक्षा गार्डको रूपमा खटाउने व्यवस्थालाई यस पटक हटाइएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जनाएका छन् । ‘यस पटक पढ्ने विद्यार्थीको एकदमै राम्रो नजिता आओस्, चोरेर पास गर्ने, विद्यालयहरू बिचमा पैसाको बार्गेनिङ गरेर ठेक्का लिएर परीक्षा सञ्चालन गर्ने गतिविधि बन्द होस् भन्ने हाम्रो उद्देश्य हो’।

बारा प्रजिअ सापकोटाले विगतका वर्षहरूमा प्रति विद्यार्थी ४ हजार रुपियाँको दरले रकम उठाएर विद्यार्थी पास गराउने ठेक्का लिएको विषयमा आफूलाई सूचना आएको बताएका छन् । ‘परीक्षा हलमा हुने गलत प्रणाली पुरै रोकेर पढ्ने विद्यार्थीहरूले राम्रो नतिजा ल्याउने गरी हामीले तयारी गरेका छौ’ प्रजिअ सापकोटाले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप