आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

संसदीय राजनीतिका ‘विद्रोही’ कमान्डर प्रकाश ज्वाला बने मन्त्री

शुक्रबार, १७ चैत २०७९, १६ : ५८
शुक्रबार, १७ चैत २०७९

सुर्खेत । नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं कर्णाली प्रदेश इञ्चार्ज प्रकाश ज्वाला संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् ।

०७९ को प्रतिनिधिसभा चुनावमा सल्यानबाट ३५ हजार ७०० मतसहित निर्वाचित भएका ज्वाला ०५१ साल यता निरन्तर चुनाव लड्दै आएका छन् भने ०५१ र ०६४ साल बाहेकका चुनावमा निर्वाचित भएका छन् ।

विद्रोही छवि

०२३ मंसिर १२ गते सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ मा जन्मिएका ज्वालाको राजनीतिक यात्रा निकै संघर्षशील छ । पञ्चायत विरोधी संघर्षमा सम्मिलित भएको आरोपमा तीन वर्ष जेल जीवन बिताएका उनले ०७४ मा सल्यान (ख) बाट प्रदेशसभा चुनाव जितेर कर्णाली प्रदेश सरकारको अर्थमन्त्रीको भूमिका निर्वाह गरेका थिए ।

०५१ को आम निर्वाचनमा नेकपा एमाले सल्यान क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका ज्वाला ०५६ को आमनिर्वाचनमा पनि नेकपा एमालेबाटै निर्वाचित भएका थिए ।

ज्वालाले ०७० सालमा समेत चुनाव जितेका थिए । ०६२/०६३ को आन्दोलनमा सक्रिय भूमिका खेलेका उनी अनेरास्ववियुको प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्मको जिम्मेवारी लिएर लामो समय विद्यार्थी राजनीतिमा सक्रिय थिए । 

१० वर्ष नेकपा एमाले जिल्ला कमिटी सल्यानको सचिव बनेका उनले सल्यानमा प्रभावशाली नेताको छवि बनाएका छन् । सल्यानमा उनी व्यक्तिगत रूपमा बलिया छन् भने राष्ट्रिय राजनीतिमा समेत प्रभाव राख्ने नेता हुन् । 

शान्ति प्रक्रियापछि अन्तरिम व्यवस्थापिका संसद्को सदस्य भई प्रभावकारी भूमिका निभाएका उनले ०५६ सालमा प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा प्राकृतिक स्रोत साधन समितिको सभापति भएर तत्कालीन राजा र दरबारको जग्गा जमिनलगायत सम्पत्ति छानबिनमा काम गरेर निकै लोकप्रियता कमाएका थिए । ०७१ सालमा अर्थ समितिको सभापति भएर पनि काम गरिसकेका छन् ।

०४२ सालदेखि अनेरास्ववियुको राजनीतिबाट तत्कालीन माले र एमाले जिल्ला नेतृत्व गर्दै एमाले पोलिटव्यूरो सदस्य, राप्ती अञ्चल इञ्चार्ज, कर्णाली प्रदेश सह–इञ्चार्ज, केन्द्रीय संगठन विभागका सदस्य भएर पनि उनले काम गरिसकेका छन् ।

ज्वालाको परिचय लेखकका रूपमा पनि परिचित छ । उनका ‘प्रतिनिधिसभामा प्रकाश ज्वाला’, ‘एक्काइसौँ शताब्दी समाजवादको शताब्दी’, ‘वैचारिक विचलनको भुमरीमा माओवादी आन्दोलन’ लगायतका कृति प्रकाशित छन् ।

राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका उनले तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको प्रमुख राजनीतिक सल्लाहकार (२०६७–२०६८) भएरसमेत काम गरेका थिए ।

०७४ मा एमालेबाट सल्यान प्रदेशसभा (ख) मा चुनाव लडेका ज्वाला १९ हजार ८३६ मत ल्याएर निर्वाचित भएका थिए । उनी कर्णालीको पहिलो अर्थमन्त्री भएर महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तत्कालीन नेकपाभित्रको अन्तरसंघर्षका क्रममा उनले कर्णाली प्रदेशसभामा माधव कुमार नेपाल खेमाको लिड गर्दै ओली पक्षधर यामलाल कँडेलहरूको विरुद्धमा विद्रोह गरेका थिए भने उनीसहित चार जना तत्कालीन एमाले सांसदले ‘फ्लोर क्रस’ गरेर माओवादी नेता महेन्द्रबहादुर शाहीको सत्ता जोगाएका थिए । त्यसैले प्रकाश ज्वालालाई विद्रोही छविका नेताका रुपमा पनि धेरैले चिन्छन् । संसदीय राजनीतिमा उनलाई विद्रोही कमान्डरका रुपमा व्याख्या गर्नेहरु पनि छन् ।

उनीहरूको विद्रोहले कर्णालीमा तत्कालीन अवस्थामा अहिले बनिरहेको गठबन्धनको आधार तयार भएको थियो । विद्रोहको नेतृत्व गरेका ज्वालासहित चार जनालाई एमालेले निष्कासन ग¥यो । त्यसपछि नेकपा हुँदै एमाले विभाजन भयो । माधव नेपालले गठन गरेको एकीकृत समाजवादीको उपमहासचिव एवं प्रदेश इन्चार्जको जिम्मेवारी पाएका उनले माधव नेपाललाई कठिन परिस्थितिमा साथ दिँदै आएका छन् ।

दोस्रो संविधानसभामा समेत संविधान निर्माण प्रक्रिया जटिल बनेका बेलामा ज्वाला लगायतका केही नेताले ‘संविधान निर्माण दबाब’ अभियान नै चलाएका थिए ।

ज्वाला व्यक्तिगत स्वार्थलाई महत्त्व नदिने र स्वार्थ नहुँदा विद्रोह गर्न गाह्रो नहुने बताउँदै आएका छन् । पद र प्रतिष्ठालाई त्यागेर पनि जनता र आन्दोलनलाई धोका नदिएको दाबी गर्ने ज्वाला राजनीतिक ‘रिस्क’ लिन सक्ने नेता हुन् ।

पञ्चायत विरोधी संघर्षमा सम्मिलित भएको आरोपमा तीन वर्ष जेल जीवन बिताएका उनको जेल बसाइकै क्रमममा क्रममा प्रकाशबहादुर बुढाथोकीबाट ‘प्रकाश ज्वाला’ को परिचय बनाएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप