आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कलाकार

‘म कहाँ हराएको छु र ?’

यो कन्फिडेन्स चुनावको हारले दिएको हो : हिमेश पन्त
शनिबार, १८ चैत २०७९, १२ : २६
शनिबार, १८ चैत २०७९

काठमाडौँ । नेपाली रियालिटी शोका अधिकांश विजेता बेरोजगार या विदेश पलायन भएका छन् । त्यसैले यस्ता शोहरूलाई बेरोजगार उत्पादन गर्ने थलोसमेत भन्ने गरिन्छ । ‘कमेडी च्याम्पियन’का पहिलो विजेता हिमेश पन्त पनि अहिले हराएका छन् ।

उनी न त टेलिभिजनमा देखिन्छन् न सामाजिक सञ्जालमा नै । कतिसम्म भने उनको आफ्नै आधिकारिक युट्युबमा समेत अपलोड छैन । गत वैशाखको स्थानीय निर्वाचनअगाडि काठमाडौँ महानगरपालिकाको मेयर उम्मेदवार बालेन शाहको सपोर्टमा एक भिडियो कन्टेन्ट अपलोड भएपछि उनको युट्युब सुनसान छ । उनी के गर्दैछन्, कोही कसैलाई अत्तोपत्तो छैन । धेरैले उनी कमेडी क्षेत्रबाट पलायन भएसमेत भन्न थलेका छन् । आफू कमेडी क्षेत्र छोडेर बाहिर कतै नगएको र हराएको पनि भन्न नमिल्ने उनी (हिमेश) बताउँछन् ।

‘गत मङ्सिरको निर्वाचनमा प्रतिनिधि सभा उम्मेदवार बनेको थिएँ । त्यो समय धेरै दौडधुप गरियो । पराजय भएपछि मुड अफ भयो । दुई तीन महिना रेस्ट गरेँ’, उनले भने, ‘अहिले देशभित्रै हप्तामा २, ३ वटा स्टेज कार्यक्रम गरिरहेको छु । विदेशका कार्यक्रमका पनि धेरै अफर आएका छन्, कुरो मिलिरहेको छैन ।’ आफू एक टेलिभिजन कार्यक्रमसमेत ल्याउने तयारीमा रहेको उनले सुनाए । ‘अहिले सामाजिक सञ्जाल, युट्युब र टेलिभिजनमा नछाएकाले हरायो भनिएको होला । म कहाँ हराएको हो र ? टेलिभिजन शो र फिल्म पनि पनि देखिँदैछु । अब छिट्टै चारैतिर छाउँछु,’ उनले थपे । 

छिट्टै टक शो

290011021_545562087207575_7822950838042878934_nपछिल्लो समय टेलिभिजनमा थुप्रै कमेडी शो भित्रिएका छन् । त्यस्ता शोमा उनका समकक्षी र पछिका भाइबहिनी रजगज गरिरहेका छन् । उनी भने छुट्टै एक टेलिभिजन ‘टक शो’ ल्याउँदैछन् । अहिले प्रसारण भइरहेका कमेडी शोमा ‘कमेडी च्याम्पियन’का टप थ्रीभन्दा पछिपरेका देखिने गरेको बताउने उनी आफ्नो छुट्टै पहिचान भएकाले आफ्नै शो ल्याउने तयारी गरेको बताए ।

ल्याउन लागेको ‘टक शो’मा उनले युवा राजनीतिक नेता अतिथिको रूपमा सहभागी हुनेछन् भने शोको होस्ट उनी आफैँले गर्नेछन् । ‘मेरो ‘टक शो’मा राजनीतिक नेता गेस्ट भए पनि राजनीतिक प्रश्न १० प्रतिशत मात्र हुन्छ । ९० प्रतिशत प्रश्न अन्य हुन्छ,’ उनले अगाडि थपे ‘९० प्रतिशत सामाजिक, विभिन्न समस्या र त्यसको समाधानका कुरा हुन्छ ।’ शो कमेडी शैलीमा सेन्स अफ ह्युमरका साथ अगाडि बढ्ने उनले जानकारी दिए । 

‘टक शो’मा राजनीतिक नेता ल्याएर व्यङ्ग्य गर्ने उनको कुरो हो । तर त्यसरी शोमा उनले गरेको व्यङ्ग्य सहभागी नेताले बुझ्छन् नै भन्ने छैन । त्यसको पनि चिन्ता छैन उनलाई । भन्छन्, ‘गेस्टका रूपमा सहभागी नेताले कार्यक्रममा गरेको व्यङ्ग्य बुझे केही फरक पर्दैन । दर्शकले बुझे पुग्छ ।’

‘टक शो’का लागि उनले एक्सरसाइज गरेको अलि लामो समय भयो । शोका लागि प्राइम टाइम टेलिभिजनसँग प्रसारण कन्ट्रयाक्ट पहिल्यै भएको थियो । साम्झौताअनुसार शो माघबाट प्रसारण हुनुपर्ने थियो । उनी विभिन्न काममा अल्झिएका कारण शो समयमा सुरु गर्न सकेनन् । अब भने छिट्टै शो सुरु गर्ने उनी सुनाउँछन् ।

हिरोको पनि म

हिमेश ‘टक शो’का प्रस्तोताका रूपमा मात्र अगाडि आउन लागेका होइनन् । उनी ‘वर एन्ड वधू’मार्फत फिल्मको हिरो भएर पनि देखिँदैछन् । मिलन चाम्स निर्देशित यो फिल्ममा उनको मुख्य भूमिका छ ।

फिल्ममा उनको अलावा आँचल शर्मा, साम्राज्ञी आरएल शाह, विजय लामा, रमेश बुढाथोकी, रवीन्द्र खड्का, किरण केसीलगायतको अभिनय छ । रोमानिया, इटली, फ्रान्स र नेपालमा छायाङ्कन भएको फिल्ममा उनले रोमानियमा बस्ने एक व्यक्तिको भूमिका निर्वाह गरेका छन् । सो फिल्ममा उनको जोडी भने नवअभिनेत्री सृष्टि के खड्का बनेकी छन् । फिल्ममा कमेडी र सन्देश दिने भूमिका आफूले निर्वाह गरेको जानकारी दिए ।

324624286_759640832181747_4500353310210921435_n

‘अभिनय एकदमै गाह्रो विधा रहेछ । फिल्ममा हँसाउने मात्र होइन, रुवाउने भूमिका छ मेरो’, उनले थपे ‘म हँसाउने मानिस, अभिनय सिलसिलामा रुन आएन । १०, १५ टेकमा त खै के भयो रियलमै रोएछु ।’ अभिनय सिलसिलामा सबै गर्नुपर्छ भनेर आफूले पहिलो फिल्मबाटै बुझेको उनले धारणा राखे ।

‘कमेडी च्याम्पियन’ विजेता भएपछि उनलाई अफर आएको ‘वर एन्ड वधू’ पहिलो फिल्म होइन । पहिलो फिल्मका रूपमा भुवन केसीले ‘पारस’ अफर गरेका थिए । त्यो समय छिट्टै फिल्म नगर्ने सोचले उनले छाडे । त्यसपछि अवसर आएका फिल्म किन छोड्नु भन्ने उनको मनमा लाग्यो । अनि अभिनय गरे ‘वर एन्ड वधू’ । ‘निर्देशक मिलन चाम्स दाइले ‘वर एन्ड वधू’ अफर दिनुभयो । फिल्मको क्यारेक्टर पनि राम्रो र कथा पनि राम्रो । अनि अभिनयमा होमिएँ’, उनले अभिनयमा अनुभव सुनाए, ‘अभिनय रमाइलो हुँदोरहेछ । गाह्रो पनि रहेछ । पहिलो फिल्मबाटै धेरै कुरो सिक्न पाए ।’

अहिले पनि ४, ५ वटा फिल्मका अफर उनको हातमा छन् । जसको कथा र निर्माण युनिट फरक फरक छन् । अभिनय निरन्तर दिने सोचमा रहेका उनी ग्याङ्स्टार टाइपको भूमिकाको एक फिल्म गर्ने सोचमा छन् । ‘कमेडी सधैँ गरेको हो । योबाहेक केही फरक गर्दा कस्तो देखिन्छ, थाहा पाउन ग्याङस्टार विषयमा रुचि छ,’ उनले भने ‘लभ स्टोरीमा पनि गर्छु । मेरो मनपर्ने जनरा लभ स्टोरी, एक्सन र कमेडी पनि हो ।’ सबै प्रकारको अभिनय गर्न सक्ने कलाकारको रूपमा चिनिने इच्छा आफ्नो रहेको उनले सुनाए । 

दुनोटको व्यवसाय अब

फिल्म अभिनय र ‘टक शो’को अलावा उनी बेकरी व्यवसायी बन्दैछन् । बेकरीमा पनि उनले दुनोटको व्यवसाय छिट्टै सुरु गर्न लागेका हुन् । उनले व्यवसाय गर्न लागेको दुनोट अहिले बजारमा पाइनेभन्दा भिन्न हुनेछ । जुन दुनोट २०४० तिर होटल अन्नपूर्णमा बन्थ्यो । त्यो दुनोट उनका बुबाले अन्नपूर्णबाट सिकेपछि केही समय काठमाडौँमा बनाए, त्यसपछि धादिङ लगे । केही वर्ष अगाडिसम्म धादिङमा यो दुनोट चर्चित थियो । उनका बुबाले अहिले बनाउन छाडेको करिब तीन वर्ष जति भयो । यो पाउन छाडिएको छ । अहिले उनी फेरि त्यो दुनोट बजारमा पुर्‍याउने तरखरमा छन् ।

‘बुवाले काठमाडौँबाट धादिङ जुन दुनोट लानुभयो । म फेरि त्यो काठमाडौँमा ल्याएर ब्रान्डका रूपमा व्यवसाय गर्दैछु,’ उनले भने, ‘त्यो दुनोट अहिले बजारमा पाउने जस्तो सिम्पल भए गर्ने थिइनँ ।’ बजारको भन्दा राम्रो र बुवाको सिप किन नगर्ने भनेर यसको व्यवसाय गर्न लागेको उनको धारणा छ ।

दुनोटको नाम उनले ‘कोकोनट क्राउन’ जुराएका छन् । दुनोट नरिवल हालेर बनाउने भएकाले उनले यो नाम राखेका हुन् । धादिङमा यसलाई नरिवल भएको दुनोट भनेर चिनिन्छ । ‘दुनोटका लागि मार्केट टेस्टसमेत भइसक्यो,’ उनी भन्दै गए, ‘मार्केट टेस्टिङमा राम्रो फिल्ड ब्याक आयो । प्याकेजिङका लागि डिजाइन भइरहेको छ ।’ यो हप्ताभित्र बजारमा आउन सक्ने उनी सुनाउँछन्  ।

कलाकारितामा राम्रो आम्दानी गरिरहेका उनलाई व्यवसायमा लाग्न ती खेलाडीबाट प्रेरणा मिलेको हो, जो नेपालको राष्ट्रिय फुटबल टोली छोडेर केही समयअगाडि अस्ट्रेलिया उडेका थिए । ‘नेपालको खेलबाट अहिले बस्न, खान र सबै आवश्यकता पूरा होला । भविष्यका लागि के भनेर विदेश जान लागेको हो,’ ती खेलाडीले नेपाल छोड्दै गर्दा भनेका कुरा उनले जस्ताको तस्तै राखे । थपे ‘भविष्यको चिन्ता पनि हो । नेपालमै केही गरौँ भनेर पनि हो ।’

केको राजनीति

गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा उनी प्रत्यक्षतर्फ धादिङ क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका उनले चुनाव भने हारे । चुनाव हारे पनि जीवनका लागि महत्त्वपूर्ण धेरै कुरो आफूले सिकेको उनले भनाइ छ ।

‘चुनाव हारियो, हार्दैगर्दा धेरै कुरो सिकियो । जीवनमा धेरै कुरा आँट गर्न सक्नुपर्ने रहेछ । पछि हट्न नहुने रहेछ,’ उनले अनुभव सुनाए ‘अहिले जुनै काम गर्न पनि आँट आउँछ । डर केही लाग्दैन । यो कन्फिडेन्स चुनावको हारले दिएको हो ।’ अहिले व्यावसायिक करियरतिर ध्यान दिएको बताउँदै उनले भविष्यमा राजनीतिमा सक्रिय हुने सङ्केत गरे ।

‘आफ्नो क्षेत्रमा सामाजिक कार्य, सहयोग सबै पहिले झैँ जारी छ,’ उनले भन्दै थिए, ‘भविष्यमा राजनीति गर्न पनि काम लाग्ने र ज्ञान पनि मिल्ने हेतुले राजनीतिकशास्त्र अध्ययन थालेको छु ।’ उम्मेदवारका रूपमा उनले १२ हजार मत प्राप्त गरेका थिए । त्यो मत राजनीतिमा उनी उपयुक्त उम्मेदवार हुन् भनेर पनि प्राप्त भएको हो । त्यसैले त्यो मतको सम्मान गर्न आफ्नो क्षेत्रको हितका लागि सधैँ जुट्ने उनको सोच छ ।

हुन त चुनाव हारेपछि उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै सबै ‘मासु भातमा बिके’ भनेर आरोप लगाएका थिए । जसको कारणले उनी आलोचित पनि भए । ‘मैले केही मानिस चुनावमा मासुभातमा बिके भनेको थिएँ’ उनले यो घटना सम्झिए ‘समाचार गलत प्रसारण भयो । मिडियाले सबै बिके भनेर आरोप लगायो भनेर समाचार बनाए ।’

राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लडेका उनी अहिले उक्त पार्टीको कुनै पनि गतिविधिमा सक्रिय छैनन् । किन ? प्रश्न राख्न नपाउँदै उनले जवाफ फर्काए, ‘म त्यो पार्टीबाट चुनाव मात्र लडेको । अहिले प्यासिफ छु । त्यो पार्टीले राम्रो गरोस् भन्ने छ । नराम्रो गरे मेरो जोकमा समेटिन्छ ।’ कतिपयले उनी स्वतन्त्र छोडेर अन्य पार्टीमा गयोसमेत भनेका छन् । ‘म अन्य पार्टीमा जान्नँ । अन्य पार्टीले राम्रो गरेको भए राष्ट्रिय स्वतन्त्र पार्टी किन आउँथ्यो ?’ उनले थपे, ‘अन्य पार्टीसँग जनताको आस छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप