आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
५० वर्षअघिको बालकृष्ण समको भाषण

फिल्म हेरेर जनताले दिलीपकुमार र बैजयन्ती मालाले जस्तो लाउन र प्रेमपत्र लेख्न सिके

शनिबार, १८ चैत २०७९, १३ : ४२
शनिबार, १८ चैत २०७९

श्री माननीय मन्त्रीज्यू, महाप्रबन्धक तथा साथीहरू !

आज चलचित्रको विषयमा यत्रो ठूलो सभा भइरहेको छ, यो साह्रै हर्षको कुरा हो । पहिले यो सपनामा पनि हामीले देख्न सक्दैनथ्यौँ तर अहिले विपनामा उत्रिरहेका छौँ । मन्त्रीज्यूबाट पनि आज्ञा भो र महाप्रबन्धकज्यूले पनि भन्नुभो, हाम्रो कुरा त्यही हो कि अब हामीले जुन काम गर्न लागिरहेछौँ, त्यो सबभन्दा ठूलो महत्त्वपूर्ण काम हो । 

हुन त देशको विषयमा अरु पनि कुरा छन्, जस्तो खाद्य समस्याहरू, लाउने समस्या इत्यादि समस्या । तर अहिले हामी केन्द्रित भएका छौँ, चलचित्रको विषयमा । संसारमा चलचित्र यस्तो महत्त्वपूर्ण विषय भइरहेको छ कि जुनसुकै कुरा पनि तपाईंहरू चलचित्रको माध्यममा नै देख्नुहुन्छ । अहिले संसारसित दाँज्दाखेरि हामी धेरै पछि परेजस्तो लाग्छ । त्यसका धेरै कारण छन् : पहिले हामीले अरुलाई सिकायौँ, अरुहरूले पत्याउन पनि मुस्किल छ किनभने हामीले संसारलाई के के दियौँ, यसको कुनै लेखाजोखा छैन । जस्तो उतातिर ग्रिसले दिएको थियो । रसिया, इजिप्टले दिएको थियो । त्यस्तै यतातिर हाम्रो पहिलो सभ्यता हामीबाट प्रचार भएको हो ।

हाम्रो हालको अवस्था देखेर यो कुरा भन्दा हामीलाई हिचकिचाहट आउँछ । हाम्रो आयु करिब–करिब पाँच हजार वर्षको भइसक्यो र यसै बीच अरुमा भर पर्दा हाम्रा ऋणीहरूको अघिल्तिर पिछडिएका छौँ । पिछडिएको जाति भन्दा हाम्रो हृदयमा एउटा बाण बज्रन्छ किनभने पिछडिएको त त्यो हो जसको केही छँदै छैन । जो भर्खर जन्मिएको छ, भर्खर सभ्य हुन लागेको छ । हाम्रो त्यस्तो अवस्था होइन, हाम्रो अवस्था त कस्तो हो भने, आफूलाई बिर्सेको अवस्था । भनौँ हामीले आफूलाई बिर्सिदियौँ, पहिलेको चेतना हामीमा भएन र हाम्रो यस्तो अवस्था पर्‍यो । अब हामी फेरि उठ्यौँ र अहिले हामीले गर्नुपर्ने कुरा के छ भन्ने कुरा अघि महाप्रबन्धकज्यूले भन्नु भइहाल्यो ।

निर्माता तथा प्रदर्शक र वितरक साथीहरू !

हाम्रो नेपालमा यसो हेर्‍यो भनेदेखि जुनसुकै मानिसको घर–घरमा पनि सिनेमाको चर्चा छ । साना–साना केटाकेटीहरू पनि सिनेमाकै चर्चा गर्छन् । आफ्नो आमाबुवा खुसी भए भने सिनेमा हेर्न जाने त्यो सबभन्दा ठूलो खुसीको प्राप्ति मान्दछन् । उहिले–उहिले पुतली खेल्ने, यस्तै केही गर्ने भन्थे, अब त्यो होइन सिनेमा हेर्न जाने भन्दछन् । केटाकेटीदेखि लिएर बूढा पनि ‘ए आज त जानुपर्‍यो सिनेमा हेर्न, कुन ठाउँमा राम्रो सिनेमा चलेको छ’ भन्दछन् । यस्तो किसिमको सर्वत्र प्रचार हामी जति देख्छौँ, हामीलाई दुःख उति हुन्छ । किनभने ती हाम्रा होइनन् र जति उनीहरूले हेरेका छन् त्यो हेरेको बाहिरतिर फर्केका छन् अन्तरमुखी छैनन् । 

हाम्रो यस्तो नाजुक अवस्थालाई ध्यानमा राखेर श्री ५ को सरकारद्वारा शाही नेपाल चलचित्र संस्थान खडा गरिएको हो, त्यो ज्यादै प्रशंसनीय छ । अतः हाम्रो चलचित्र उद्योग सफल पार्न हामी के गर्न सक्छौँ ? त्यसमा मलाई लाग्छ, यहाँहरू सबको एक मन भइदियो भनेदेखि त्यो मामुली कुरा छ । यदि एक मन भएन भने त्यो पहाड चढ्नुजस्तो सबभन्दा ठूलो कठिनाइ पर्नेछ । त्यसैले यो मैले भनिरहनुपर्ने कुरा त होइन, तापनि यहाँहरूकै एउटा भावनाको कुरा हो । अब हामीले मुख्यतः चलचित्र बनाउनुपर्‍यो, जसले देशको पैसा देशमै राख्न सकोस् । 

कुनै कुरा यस्तो हुन्छ– एक देशलाई फाइदा भएर पनि अर्को देशलाई त्यसले हानि गर्छ, किनभने त्यो आफ्नो होइन । हामी जति कुरा प्रचार गर्न चाहन्छौँ त्यो प्रचार गर्नको निमित्त चलचित्र साधन अति उपयोगी सिद्ध भएको छ ।

अहिले बहामहाराजधिराज श्री ५ पृथ्वीनारायण शाह सरकार होइबक्सेको भए आशीर्वाद बक्सन्थ्यो किनकि मौसुफको ध्येय के थियो भन्ने सर्वविदितै छ । वर्तमान श्री ५ महाराजाधिराज सरकारको विकासको मूल फुटाऔँ भन्ने आह्वानलाई सफल पार्न सबै किसिमको विकास हुनु अनिवार्य छ । तसर्थ मलाई लाग्छ, चलचित्र उद्योगको विकास सानो होइन । खानु, लाउनुभन्दा पनि सानो कुरा होइन । किनभने हामी आफ्नो घरघरमा विचार गर्न सक्छौँ कि चलचित्रको प्रवृत्ति कस्तो छ । हाम्रो यहाँ यो व्यवस्था भयो, चलचित्र निर्माण गर्ने संस्थान खडा भयो । तर यो व्यवस्था मात्रै भएर हुँदैन, यदि सबको सहयोग भएन भने । 

अघि महाप्रबन्धकज्यूले पनि भन्नुभयो कि सबको सहयोग चाहियो । सजिलो सहयोगमा त यो थियो कि अरुले बनाएको चित्र हामीले ल्याई देखाऔँ । यो एउटा व्यापारिक दृष्टि हो । यसमा व्यक्तिगत फाइदा भए पनि देशलाई अलिकति आपत्ति पर्ने, आघात पर्ने पनि हुन जान्छ । त्यसैले संस्थानको एउटा भिक्षा मगाई के छ कि व्यक्तिगत स्वार्थको त्याग हुनुपर्‍यो । र देश र जनतालाई दीर्घकालीन फाइदा हुनेतर्फ कदम चाल्नुपर्‍यो । किनकि व्यक्तिको मात्र हित देशको हित होइन । त्यो हामी सबैलाई थाहा छ । यस्ता कति कुराहरू हुन्छन्, थाहा हुँदाहुँदै पनि हामी त्यो गर्दैनौँ । त्यसैले बराबर यस्तो कुरा सम्झाउनुपर्छ । तसर्थ म अहिले बोलिरहेछु, मेरो भनाइको अर्थ ढकढक्याएजस्तो, घचघच्याएजस्तो मात्र हो ।

हुन त हाम्रा ऋषिहरूले भनिसकेका छन् कि– ‘कुर्वानेवेह कर्माणि जिजिवेसेत छचेतम समाह एवं त्यै न्यान्यसे थोस्ति न कर्म लिप्यनेतरे’ र हाम्रो आदर्श के छ– ‘सम गच्छतम् सम्भवतम्’ इत्यादि कुरा उनीहरूले देखे । पहिले त हामी व्यक्तिवादी भएर हाम्रो काम चल्थ्यो । किनभने तपस्या गर्न आनन्दसँग बस्यो । तपस्या गर्‍यो, आफूलाई खाने, ओढ्ने कुरा गरे पनि मानसिक चिन्ताको लागि व्यक्तिवाद भए काम चल्थ्यो । तर अहिले ‘संघ शक्ति कलौ त’ कलियुगमा संघ, संगठन नभई हुँदैन । जताजतै सामूहिक प्रयत्नले नै काम भएको छ । कति ती पिछडिएका देशहरू, जस्तै इजरायल, इजरायलका पनि साधारण मानिस हुन्, उनीहरूले के गरे ? उनीहरूले संगठन गरे । 

त्यस्तै चीनमा ती पिछडिएका मानिसहरू, जो पिछडिँदा पिछडिँदा उनीहरूलाई अंग्रेजहरूले अफिम खुवाएर ढलाइसकेका थिए । तर संगठनात्मक कार्यले आज ती देश कति विकसित छन् तपाईंहरूलाई मैले भनिरहनुपर्दैन । श्री माओत्से तुङले यस विषयमा भनेका कुराहरू सम्झन्छु– ‘हामी सुतेका थियौँ अरुहरू माथितिर चढेका थिए, हामी उठ्यौँ उनीहरू गुरुरुरु झरे ।’ कुरा त सानो छ तर यसको वास्तविकता कति महत्त्वपूर्ण छ । चीनले के प्रगति गर्‍यो । हामी सिनेमाबाट झलझलती देख्यौँ त्यो त्यत्रो नदीलाई फर्काइदिए । कसरी फर्काए भन्ने सिनेमाबाट देखियो – मानिसहरूले आत्म बलिदान गरे । 

जस्तो रामायणको कथामा श्री रामचन्द्रबाट लंका जाँदा बाँदरहरूको संगठनले ढुंगा हालेर गए, त्यही किसिमसँग उनीहरूले ढुंगा बिछ्याए, बिछ्याउँदा बिछ्याउँदा हजारौँ मानिस मरे । हाम्रो त एउटा मामुली कुरा छ । एउटा मनोरञ्जनको विषय छ । कति जनाको धारण यो छ कि सिनेमाले गर्दा मानिसहरू बिग्रे, किनकि नयाँ फेसन आयो । बैजन्तीमालाले लाएको जस्तो सारी लाउन पर्‍यो । बनारसबाट त्यो सारी आउनुपर्‍यो । दिलीपकुमारको जस्तो कमिज लाउनुपर्‍यो । त्यो कहाँ पाइन्छ ? बम्बईबाट झिकाएर त्यस्तो कमिज लाउनुपर्‍यो । यस्तो हुँदाखेरि देशलाई फाइदा छैन । 

कुनै कुरा यस्तो हुन्छ– एक देशलाई फाइदा भएर पनि अर्को देशलाई त्यसले हानि गर्छ, किनभने त्यो आफ्नो होइन । हामी जति कुरा प्रचार गर्न चाहन्छौँ त्यो प्रचार गर्नको निमित्त चलचित्र साधन अति उपयोगी सिद्ध भएको छ । तर अक्सर मानिस असलको सट्टा खराब कुरा चाँडै सिक्दछ । तसर्थ यो पनि हुन सक्तछ कि नेपालमा पनि त्यसैको असरस्वरूप उद्देश्यले अनेकौँ थरीका उच्छृंखल चलचित्र बनाएर जनताको शोषण गर्ने तरिका लिन सक्तछन् । यस्ता खालका चलचित्र तयार हुँदा जनता लुटिन्छन् । र उनीहरूको आर्थिक अवस्था तथा मनोवृत्ति कमजोर हुन्छ । हुन त संसारमा लोभ र मोहले सबलाई ढाकेकै छ र पैसा बटुल्न सबैजना अनेकौँ प्रयास गर्दछन् । त्यतिले नपुगेर गोप्यसित क्यामेरामा मात्रै हेर्नपर्ने चित्रहरू पनि बनाउँछन् । त्यसले दूषित वातावरण पैदा गर्दछ भन्ने कुरामा कुनै शंका छैन । तसर्थ कति देशमा यस्ता चलचित्रलाई प्रतिबन्ध लगाइएको छ र पनि कतिलाई जरिवाना हुने र कतिलाई जेल हाल्ने कार्य पनि चलिरहेछ । कति त यस्ता देश छन् जो अश्लीलताको प्रवाह गर्दैनन् र उनीहरू आफ्नै फिलोसफीमा अडेका छन् । जेहोस् हामीलाई आफ्नो विकासा चाहिएको छ । आफ्नै पनको चलचित्र चाहिएको छ । त्यस कारण त्यस्तो कुरा छाडौँ । 

सामान्य रूपमा आजका युवा–युवती सिनेमा हेरेर फर्केर के गर्छन् ? प्रेमपत्र लेख्दछन्, किनभनेदेखि सिनेमामा प्रेम गरेको देख्तछन् । किनकि सिनेमामा सबभन्दा राम्रा ऐक्टरले प्रेम अभिनय गर्दछन् । यस्तो किसिमको प्रवृत्ति हुँदाखेरि समाजमा नै दूषित वातावरण सिर्जना भएको छ भन्ने कुरा निर्विवाद छ । तापनि हाम्रो त के प्रथा छ भने डकुमेन्ट्री फिल्म जस्तो कुन किसिमसित बाँध बनिरहेछ, सरकारबाट कसरी वृक्षहरू रोपिबक्स्यो र त्यहाँ कुन उत्साहले गरिबक्स्यो, यस्ता कुरा हेरेर चेतना लिनु त परै जाओस् त्यो कहिले जाला, कहिले जाला डकुमेन्ट्रीहरूले गर्दा मेन फिल्म चाहिँ हामीलाई ढिलो भयो भनेर त्यो गइसकेपछि एकचोटि ताली बजाउँछन्, किनभनेदेखि अब आइपुग्यो ‘अनारकली’ वा यस्तै कुनै ।

यो प्रवृत्ति सामान्य किसिमबाट संसारमा जसरी चल्छ, त्यसलाई बदल्न साह्रै मुस्किल पर्छ । यसैले हामीले आफ्नो किसिमको मनोरञ्जक तथा शिक्षाप्रद चलचित्र तयार गर्नुपरेको छ । यसमा हाम्रो संस्थानको पनि उद्देश्य त्यही छ । संस्थानले देश र जनताको भलाईलाई ध्यानमा राखी एक किसिमको फिल्म बनाउला । त्यसमा प्रदर्शकहरूको सहयोग भइदिएन भने, उनीहरूले विदेशबाटै फिल्म ल्याई प्रदर्शन गरी हाम्रो फिल्म जहिले पनि पछिल्तिर राखिदिए भने नेपाली चलचित्रको विकास प्रायः असम्भव हुन जान्छ र सधैँ विदेशी दमन सहेर बस्नुपर्ने हुन्छ । 

हामीले आफैँले फिल्म बनाई राम्रोसित प्रचार गर्न सक्यौँ भने जति अहिले अरुको फिल्म ल्याई देखाउँदा फाइदा हुन्छ, त्यसको १० दोब्बर लाभ हुन सक्छ । त्यसको लागि संगठित र सामूहिक रूपमा सबको सहयोग होस् भन्ने चलचित्र संस्थानको विचार छ ।

अब हामी एड्भान्स भइसक्यौँ हामीलाई स्वतन्त्रता चाहिन्छ, यसको लागि सबैको सहयोग भयो भने मात्र हुन्छ । केवल सरकारले गरेर मात्रै गरेर हुँदैन । हाम्रो उद्देश्य ‘सहिते समाने संवच्त्हमाम सम्वदेधर्म सम्बो मनामसी जानत’ हुनुपर्‍यो । 

हाम्रो एक किसिमको मन, एक किसिमको ध्येय हुनुपर्‍यो भनी अघि जो महाप्रबन्धकज्यूले भन्नुभयो, त्यो ध्येयलाई कस्ता कस्ता बाधाहरू परेका छन् सोबारे यो सेमिनारमा यहाँहरूबाट पनि आफ्नो विचार व्यक्त हुनुपर्छ । किनभने सरकार अरुलाई बाधा दिन चाहँदैन । सरकारको ध्येय छ कसैको हानि नहोस् । सबको लाभ होस् र त्यो लाभबाट सामूहिक हित होस्, देशको लाभ होस्, राष्ट्रको लाभ होस् । हामीले त्यस ध्येयलाई ध्यानमा राखी राष्ट्रको लाभ मेरै लाभ हो, राष्ट्रको हानि मेरै हानि हो भन्ने भावना लिनुपर्दछ । त्यस्तो भावनालाई साकार पार्न हामीले हामीले व्यक्तिगत स्वार्थको त्याग गर्नुपर्दछ । यसमा हाम्रा ऋषिमुनिहरूको भनाइ छ, ‘आत्मा त्यागेन वैरापदा’ । 

त्यागको भावना हामीमा नभई हुँदैन । हामीले त्याग्छौँ भने हामी हामी हुन पाउँछौँ । यदि यस्तो भावना नलिई कहाँ नेपालमा फिल्म बनाई चलाउने, विदेशबाटै तयार भएका चलचित्रहरूबाटै हामीले प्रशस्त नाफा पाएका छौँ भन्ने भावना भयो भने हाललाई फाइदै हुन्छ तर त्यस किसिमका फिल्महरूले पछि गएर देशलाई के असर पर्ला इत्यादि कुरा यहाँहरूलाई मैले बताइरहनुपर्ला जस्तो लाग्दैन, यहाँहरू आफैँलाई लाग्ने कुरा हो । तसर्थ हामीले आफ्नै चलचित्र उद्योगको स्थापना र विकास गर्नुपर्‍यो । फिल्म झिक्दाखेरि कस्तो किसिमको फिल्म झिक्नुपर्‍यो त्यो त टेक्निसियनहरूको कुरा हो, तैपनि हाम्रो फिल्म यस्तो निर्माण होस् जसले सर्वोत्तम नाम कमाउन सकोस् । 

यसै क्रममा म के भन्न चाहन्छु भने हामीले चलचित्र निर्माण गर्दा यस्तो उत्तम खालको गरौँ कि फिल्म जगतमा त्यसले सर्वोत्तम नाम कमाउन सकोस् । हुन त चलचित्रको निर्माण कलाकारहरूको अभिनयबाट हुन्छ र उसैको कुशल अभिनयलाई नै मानिस हेर्न जान्छन् । तसर्थ हाम्रा कलाकारले पनि राष्ट्र, राष्ट्रियता, राजा र मानवतालाई ध्यानमा राखी अभिनय गर्नुपर्दछ । किनकि आज नवयुवकहरूमा फिल्मका अभिनेताहरूको नक्कल गर्ने प्रथा चलेको छ । तसर्थ ती ऐक्टरहरूले अलिकता दूषित वातावरण फैलाइदिए भने समाजमा त्यसको ठूलो असर पर्न जान्छ, यसको उत्तरदायित्व ती ऐक्टरहरूमा पर्न जान्छ । हुन त बिचरा ती ऐक्टरहरू के गर्न सक्तछन् निर्माताले जे चाहन्छ उनीहरूले त्यही नै गर्नुपर्दछ । तसर्थ यो विषयमा निर्माता नै जिम्मेवार हुन्छ । 

फिल्म लाइनमा मात्रै होइन, नाचहरूमा पनि यस्तै हुन्छ । तसर्थ निर्माताहरू स्वयं यस विषयमा सक्रिय हुनुपर्छ जस्तो लाग्छ । यसै सन्दर्भमा म नाचको विषयमा घटेको एउटा घटना प्रस्तुत गर्दछु । एकचोटि नाच हुँदाहुँदै गायकले फिल्मी गाना गाउँदा श्री ओमकारनाथ ठाकुरले विरोध गरी स्टेजमै वातावरणलाई यस्तो दूषित गर्ने भनी गाली गरी आफैँले गई शान्ता आप्टेलाई च्यालेन्ज समेत गर्नुभयो । उहाँको गाना यति उच्चतामा पुगेको थियो कि श्रोताहरू दुई घन्टासम्म थुक निल्न बिर्सी सुनिरहे । भारतीयहरूमा पनि यस्तो सुधारपना धेरै चलेको छ । पहिले विष्णु दिगम्बरले पनि शास्त्रीय गानको रक्षाका खातिर यस्तै ठूलो आन्दोलन मच्चाएका थिए । मेरो तात्पर्य यो होइन कि हेलेनको डान्स नहोस् । होस्, हेलेनेको साथै उदयशंकरको पनि नाच होस् अर्थात् आफ्नो उच्चतर संस्कृतिको पनि कदर गरियोस् । हाम्रो उच्चतम संस्कृति पनि सबैलाई मन्त्रमुग्ध पार्न सकोस् । यस्ता कुरा सबैले चिताउनुभयो भने सम्भव छ ती भावनाहरूले राष्ट्रको हितका साथै आफ्नो पनि हित हुन सक्छ । 

हामीले आफैँले फिल्म बनाई राम्रोसित प्रचार गर्न सक्यौँ भने जति अहिले अरुको फिल्म ल्याई देखाउँदा फाइदा हुन्छ, त्यसको १० दोब्बर लाभ हुन सक्छ । त्यसको लागि संगठित र सामूहिक रूपमा सबको सहयोग होस् भन्ने चलचित्र संस्थानको विचार छ । यसको लागि यहाँहरूले पूर्ण सहानुभूतिका साथै उच्च विचारधाराहरू दिनु हुनेछ भन्ने आशा गर्दछु ।

जय देश ! 

(शाही नेपाल चलचित्र संस्थानले २०२९ को १–३ मंसिरमा गरेको ‘नेपालमा चलचित्र प्रदर्शक र वितरकहरूका समस्या तथा सम्भावित समाधान गोष्ठी’मा अथिति वक्ता रहेका बालकृष्ण समको वक्तव्य ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बालकृष्ण सम
बालकृष्ण सम
लेखकबाट थप