अर्थमन्त्री डा. महतसँग एफएनसीसीआई प्रतिनिधिको भेट, अर्थतन्त्रको संकट टार्न दियो यस्तो सुझाव
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले आज नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटवार्ता गरेको छ । शुक्रबार अर्थमन्त्रीमा नियुक्त भएका डा. महतसँग भेटेर महासंघका अध्यक्ष शेखर गोल्छाले देशको वर्तमान आर्थिक स्थितिबारे जानकारी दिए ।
भेटवार्तामा अध्यक्ष गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउनु पर्ने सुझाव दिए । यसका लागि केन्द्रीय बैंक र सरकारले संयुक्त पहलमा तरलता प्रवाह गरेर ब्याजदर झार्नुपर्ने सुझाव उनको थियो । सहकारी र लघुवित्तमा तरलता बढाउने गरी काम अघि बढाउन पनि उहाँले सो अवसरमा जोड दिए ।
सरकारी खर्च निक्कै सुस्त रहेको भन्दै त्यसलाई बढाउन पनि गोल्छाले सुझाव दिए । अहिले करिब २४ प्रतिशत मात्र रहेको सरकारी खर्चलाई विस्तार गर्न उहाँको आग्रह थियो । ‘अहिले सरकारसँग राजस्व कम उठेको छ, चालु खर्च धान्न मुस्किल पर्न थालेको अवस्था छ’ गोल्छाले भने ।
अर्थमन्त्री डाक्टर महतले समस्याग्रस्त अर्थतन्त्र सुधार्ने आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेकाले यसमा निजी क्षेत्रका छाता संस्थाको सुझाव र सहकार्यबाट आफू अगाडि बढ्ने विश्वास दिलाए ।
‘तपाईँहरूको मनोबल घट्न दिन्न तपाईँहरूसँग निरन्तर संवादमा रहन्छु’ अर्थमन्त्री महतले भने, ‘मैले अर्थतन्त्रलाई सुधार गर्न गरेको प्रतिबद्धता पुरा गर्न तपाईँहरूबाट पूर्ण सहयोग पाउने अपेक्षा गरेको छु ।’