आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

साउदी अरबको एउटा निर्णयले विश्वव्यापी असर

सोमबार, २० चैत २०७९, १४ : १३
सोमबार, २० चैत २०७९

तेल उत्पादक राष्ट्रहरूको सङ्गठन ओपेक र ओपेक प्लसको निर्णयले विश्व बजारमा तेलको मूल्य बढेको छ ।

सोमबार बिहान एसियाली बजारमा तेलको मूल्य करिब ६ प्रतिशतले बढेको छ । सबैभन्दा पहिला, आइतबार साउदी अरबले अचानक तेल उत्पादनमा हरेक दिन १० लाख ब्यारेलभन्दा बढी कटौती गर्ने घोषणा गरेको थियो । तेल बजारको स्थायित्वलाई समर्थन गर्ने उपायको रूपमा यस्तो घोषणा गरिएको साउदी अरबले बताएको छ । 

साउदी अरबको यो घोषणापछि वेस्ट टेक्सास इन्टरमिडिएट कन्ट्रयाक्टमा ५.७४ प्रतिशत अर्थात् प्रति ब्यारेल ८०.०१ डलरको वृद्धि भएको छ ।

यससँगै ब्रेन्टमा ५.६ प्रतिशत अर्थात् ८४.४२ डलर प्रति ब्यारेलको वृद्धि भएको छ । साउदी अरबसँगै इराक, युएई, अल्जेरिया र ओमानले आगामी मेदेखि उत्पादन कटौती सुरु गरी यो वर्षको अन्त्यसम्म जारी राख्ने निर्णय गरेका छन् ।

गत वर्ष अक्टोबरमा ओपेक प्लसले दैनिक २० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको थियो ।

अमेरिकाले साउदी अरबलाई तेल उत्पादनमा कटौती नगर्न दबाब दिइरहेको छ तर साउदी अरबले झुक्न अस्वीकार गरेको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत वर्ष जुलाईमा साउदी अरबको भ्रमण गरेका थिए । राष्ट्रपति बाइडेनको उद्देश्य युवराजलाई तेल उत्पादन बढाउन मनाउनु थियो, तर साउदीले उनको कुरा सुनेन ।

तेल उत्पादनमा कटौतीको घोषणा गरेपछि विश्वव्यापी मुद्रास्फीति बढ्ने खतरा छ । विश्वभरका केन्द्रीय बैङ्कहरूले ब्याजदर बढाउन सक्छन् ।

युवराज मोहम्मद बिन सलमानले अमेरिकाको नीतिलाई निरन्तर अस्वीकार गर्दै आफ्नो स्वार्थअनुसार निर्णय लिइरहेका छन् ।

युवराज मोहम्मद बिन सलमानले बाइडेनको साउदी भ्रमणअघि अमेरिकी पत्रिका ‘द एट्लान्टिक’ लाई अन्तरवार्ता दिएका थिए । उक्त अन्तरवार्तामा उनले भनेका थिए, ‘विश्वका हरेक देश फरक विचार र मूल्यका आधारमा स्थापित भएका छन् । उदाहरणका लागि, अमेरिका लोकतन्त्र, स्वतन्त्रता र स्वतन्त्र अर्थतन्त्र जस्ता मूल्यहरूको आधारमा बनेको छ । यी मूल्यमान्यताका आधारमा जनता एकजुट हुन्छन् । तर, के सबै लोकतन्त्र राम्रो छ ? के सबै लोकतन्त्रले राम्रोसँग काम गरिरहेको छ ? निश्चित रूपमा छैन ।’

युवराजले भनेका थिए, ‘हाम्रो देश इस्लामको मूल्यमान्यता र विचारको जगमा बनेको छ । यसमा आदिवासी संस्कृति, अरब संस्कृति छ । साथै, साउदीको संस्कृति र विश्वास पनि छ । यो हाम्रो आत्मा हो । हामीले यसलाई छोड्यौँ भने त देश नष्ट हुनेछ । हाम्रो लागि प्रश्न के हो भने साउदी अरबको विकास र आधुनिकीकरणलाई सही बाटोमा कसरी ल्याउने ? यस्तै खालको प्रश्न अमेरिकाका लागि पनि छ-  कसरी लोकतन्त्र, मुक्त बजार र स्वतन्त्रतालाई सही बाटोमा ल्याउने ?’

‘त्यसैले हामी हाम्रो मूल्यमान्यताबाट टाढा जाने छैनौँ किनकि यो हाम्रो आत्मा हो ।' उनले भनेका थिए, 'साउदी अरबमा पवित्र मस्जिदहरू छन् र यसलाई कसैले हटाउन सक्दैन । यी पवित्र मस्जिदहरू सधैँभरि रहुन् भन्ने हाम्रो दायित्व हो र हामी साउदी जनताको लागि, क्षेत्रको लागि देशलाई सही बाटोमा राख्न चाहन्छौँ । शान्ति र सहअस्तित्वको आधारमा, हामी बाँकी दुनियाँमा चीजहरू थप्न चाहन्छौँ ।’ 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप