आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१०० दिनमा सरकारले राम्रो कामको सुरुवात गरेको छ : नारायणी शर्मा

सोमबार, २० चैत २०७९, २२ : ३९
सोमबार, २० चैत २०७९

काठमाडौँ । माओवादी केन्द्रकी नेतृ तथा प्रतिनिधिसभा सदस्य नारायणी शर्माले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १०० दिनमा राम्रो कामको सुरुवात गरेको बताएकी छन् । गठबन्धनमा फेरबदलको बाध्यात्मक परिस्थिति र मन्त्रिपरिषद् विस्तारको रस्साकस्सीबीच पनि सरकारले सकारात्मक कामको सुरुवात गरेको उनको भनाइ छ । 

‘राजनीतिक घटनाक्रमका कारण नयाँ गठबन्धन गर्नुपर्ने बाध्यात्मक परिस्थिति बन्यो । त्यसका बीच पनि राम्रो कामको सुरुवात भएको छ’, उनले भनिन्, ‘सुरुमै प्रधानमन्त्रीले जनताले मुद्दालाई मैले प्राथमिकता दिन्छु भन्नु भएको छ । सोहीअनुसार अहिले धेरै सुधार भएको छ ।’

उनले कतिपय विषयमा देखिनेगरी सुधार भएको र कतिपय विषय सुधारको प्रक्रियामा रहेको बताइन् । उनले टीआरसीको विषयलाई टुंग्याउन विधेयक संसदमा पेश गर्नेदेखि वैदेशिक रोजगारीमा रहेकाहरुको पक्षमा निर्णय गर्नेसहितका उल्लेख्य काम छोटो समयमा गरेको बताइन् । 

द्वन्द्वका क्रममा ज्यान गुमाउने विद्रोही पक्ष र राज्यपक्षका सबैलाई समान व्यवहार गरी सहिद घोषणा गर्ने काम प्रचण्डले १०० दिनमा गरेको उल्लेख गर्दै शर्माले मिटरब्याज अपराध नियन्त्रण गर्न पनि तदारुकता देखाएको बताइन् । सोहीअनुसार मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णय गरेर छानबिन समिति गठन गरेको उनको भनाइ छ । 

यस्तै पासपोर्टलगायतको समस्या समाधानका लागि भएको पहल अनुसार अहिले  भिडभाड अन्त्य भएको छ ।  भिडभाड हुने अन्य कार्यालयमा बिदाको दिन पनि सेवा दिने कार्यको थालनी हुनुका साथै विदेशस्थित दूतावासबाटै श्रम स्वीकृति दिने व्यवस्था सरकारले मिलाएको समेत उनले बताइन् । 

यस्तै अर्थतन्त्रलाई सुधार गर्न पहलकदमी लिएको उल्लेख गर्दै उनले १०० दिनमा सरकारले आशालाग्दो कामको सुरुवात गरेको दोहोर्याइन् । उनले मन्त्रिपरिषद्ले पूर्णता पाएपछि सरकारका गति थप सशक्त बन्ने विश्वास व्यक्त गरिन् । प्रचण्ड नेतृत्वको सरकार गत पुस १० गते गठन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप