आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
महासंघको निर्वाचन

उम्मेदवारबाट महासंघले उठायो १ करोड १९ लाख, सदस्यता नवीकरणबाट कति उठ्छ ?

बुधबार, २२ चैत २०७९, १७ : १४
बुधबार, २२ चैत २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन अन्तरगत मनोनयन दर्ता शुल्कबाट १ करोड १९ लाख २५ हजार रुपैयाँ उठेको छ । आगामी चैत २९ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सदस्य पदका जम्मा ११८ जना उम्मेदवारबाट  महासंघले १ करोड १९ लाख २५ हजार रुपैयाँ शुल्क उठाएको हो । 

महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा ५ लाख रुपैयाँ शुल्क तोकिएको थियो । जसअनुसार वरिष्ठ उपाध्यक्ष पदमा ३ जनाले उम्मेदवारी दर्ता गराउँदा जम्मा १५ लाख रुपैयाँ उठेको छ । तीन जना उम्मेदवारमध्येबाट एक जना निर्वाचित भई ‘वेटिङ प्रेसिडेन्ट’का रूपमा रहनेछन् । 

 यस्तै, उपाध्यक्ष पदका उम्मेदवारले ३ लाख र सदस्य पदका उम्मेदवारले ७५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था छ । निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गराएका ८ जनामध्येबाट ३ जना उपाध्यक्ष निर्वाचित हुनेछन् ।  महासंघको विधानमा मनोनयन दर्ता गराएपछि उम्मेदवारी फिर्ता लिएपनि मनोनयन शुल्क फिर्ता नहुने व्यवस्था छ ।

उपाध्यक्ष पदमा जिल्ला–नगर, वस्तुगत र एसोसिएटतर्फ गरी ८ जनाले उम्मेदवारी दर्ता गराउँदा ३ लाखका दरले २४ लाख रुपैयाँ उठेको छ । एसोसिएटतर्फको उपाध्यक्षका लागि भरत आचार्य र ज्योत्सना श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । भरत आचार्य अन्जान श्रेष्ठ र उमेशलाल श्रेष्ठ समूहबाट साझा उम्मेदवारका रुपमा अघि बढेका छन् भने ज्योत्सना रामचन्द्र संघई समूहबाट एसोसिएट उपाध्यक्ष बनेकी छिन् ।

 खासगरी, ज्योत्सना श्रेष्ठले अन्जान श्रेष्ठको प्यानल छाडेर अकस्मात् रामचन्द्र संघईको प्यानलमा पुगेपछि भरत दुई वटै समूहका साझा उम्मेदवार बन्न सफल भएका हुन् । यसैगरी, जिल्लानगरतर्फ दिनेश श्रेष्ठ, अरुण सुमार्गी र सुरकृष्ण वैद्यले मनोनयन दर्ता गराएका छन् । दिनेश श्रेष्ठ उमेशलाल श्रेष्ठ समूहबाट चुनाव लडिरहेका छन् । 

वर्तमान जिल्लानगर उपाध्यक्ष समेत रहेका दिनेश श्रेष्ठ स्वयं वरिष्ठ उपाध्यक्षको तयारीमा थिए । तर, अन्तिम समयमा उनी उपाध्यक्ष पदमै दोहोरिन राजी भएका हुन् । यस्तै, अरुण सुमार्गी अन्जान श्रेष्ठको समूहबाट र सुरकृष्ण वैद्य रामचन्द्र संघईको समूहबाट निर्वाचनमा मनोनयन दर्ता गराएका छन् । 

वस्तुगत उपाध्यक्षतर्फ समेत ३ जनाले मनोनयन दर्ता गराएका छन् । यो समूहको उपाध्यक्षतर्फ मनिषलाल प्रधान, हेमराज ढकाल र सकुन्तला हिराचनले उम्मेदवारी दिएका छन् । ढकाल उमेशलाल समूहमा छन् भने प्रधान अन्जान श्रेष्ठ र हिराचन रामचन्द्र संघईको समूहमा छन् । 

सदस्यको उम्मेदवारबाट उठ्यो ८० लाख

वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षसँगै महासंघको निर्वाचनमा सदस्यका लागि समेत चुनाव हुन्छ । महासंघमा एसोसिएटतर्फ १९ जना सदस्यका लागि चुनाव हुन्छ । यस्तै, जिल्ला-नगरतर्फ १८ जना सदस्यका लागि र वस्तुगततर्फ १४ जना सदस्यका लागि चुनाव हुन्छ । यस्तै, प्रदेतर्फ ७ जना, संस्था र द्वीराष्ट्रियतर्फ समान १–१ जना सदस्यका लागि चुनाव हुन्छ । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सदस्य गरी ६४ वटा पदका लागि चुनाव हुन्छ ।

महासंघको विधानमा सदस्य पदमा उम्मेदवार बन्न मनोनयन शुल्क प्रतिव्यक्ति ७५ हजार रुपैयाँ तोकिएको छ । जसअनुसार सदस्य पदमा चुनाव उठ्न १०७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिव्यक्ति ७५ हजार रुपैयाँका दरले सबै उम्मेदवारबाट ८० लाख २५ हजार रुपैयाँ शुल्क उठेको छ ।

यसबाहेक, ७ वटा प्रदेश अध्यक्ष स्वतः सदस्य बन्नेछन् भने भावी अध्यक्षले ५ जना सदस्य मनोनीत गर्न पाउँछन् । यसैगरी, वर्तमान अध्यक्ष निवर्तमान अध्यक्षकारुपमा कार्यसमिति सदस्यमा बस्ने व्यवस्था भएकाले कूल ७७ जना सदस्य र १ जना अध्यक्ष समेतको जम्बो टोलीले आगामी ३ वर्ष महासंघ चलाउनेछ ।

सदस्यता नवीकरणबाटै उठ्छ ७० लाख

महासंघले यही चैत ८ गते मतदान गर्न पाउने अन्तिम मतदाताको नामावली प्रकाशन गरिसकेको छ । उक्त सूचीअनुसार एसोसिएटतर्फ १७ सय ४८ जना मतदाता छन् । यस्तै, जिल्लानगरतर्फ ११७ जना मतदाता छन् भने वस्तुगततर्फ ११२ जना मतदाता रहेको प्रमुख निर्वाचन अधिकृत लीलामणि पौडेलले जानकारी दिए । यसबाहेक, द्वीराष्ट्रियतर्फका मतदाताको संख्या १२ छ ।

सबै मतदाताको संख्या जोड्दा कूल २ हजार मतदाता बन्नेछन् । र, ती मतदाताले साधारण सभामा सहभागी भएपछि मात्रै निर्वाचनमा सहभागिता जनाउन पाउनेछन् । महासंघको विधानमा रहेको व्यवस्थाअनुसार साधारण सभामा सहभागी हुनका लागि प्रतिव्यक्ति/फर्म/संस्थाले ३ हजार ५०० रुपैयाँ बुझाउनुपर्छ ।

यसअनुसार महासंघको साधारण सभा तथा निर्वाचनमा सहभागी बन्ने सहभागी (मतदाता)बाट नवीकरण शुल्कबापत ७० लाख रुपैयाँ सङ्कलन हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप