आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एक्सपोर्ट हाउस खोल्न चेम्बरको प्रस्ताव, उद्योगमन्त्री रिजालले भने – रणनीति बन्दैछ

बुधबार, २२ चैत २०७९, १८ : १०
बुधबार, २२ चैत २०७९

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग भेटवार्ता गरेको छ । मन्त्री रिजाललाई वधाई एवं शुभकामना दिने क्रममा चेम्बरले निर्यात प्रवर्द्धन सम्बन्धी ठोस नीति एवं योजना ल्याउन समेत आग्रह गरेको छ । चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्यात प्रवर्द्धनका लागि एक्सपोर्ट हाउसको अवधारणा ७ वटै प्रदेशमा अविलम्ब लागु गरी निर्यात उद्योगहरूलाई प्रोत्साहन गरिनुपर्दछ ।’

मन्त्री रिजालसँगको भेटका क्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले निर्यात व्यापारलाई मूल्य अभिवृद्धिका आधारमा अनुदान दिने नीति अपनाउन समेत आग्रह गरे । यस्तै निर्यात अनुदानलाई एकद्वार प्रणाली अन्तर्गत निकासीकर्तालाई सरल र सहज ढङ्गले प्रदान गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

यस्तै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सको पैसालाई उत्पादन मुलुक उद्योगमा प्रोत्साहन गर्ने नीति बनाउन मन्त्री रिजाल समक्ष आग्रह गरे । रेमिट्यान्सको अधिकांश हिस्सा उपभोगमा मात्रै खर्च भएकाले उत्पादन मूलक क्षेत्रमा प्रभावकारी नीति सहित युवाहरूको लगानीलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाई छ  । सिंहदरबारमा आज भएको भेटवार्तामा चेम्बरले औद्योगिक उत्पादन वृद्धि गरी निर्यात प्रवर्द्धन गर्न एवं विभिन्न आर्थिक विधेयकलाई अगाडी बढाउन आग्रह गर्दै १७ बुँदे सुझाव समेत पेस गरेको छ ।

मन्त्री रिजालले भने, ‘मुलुक रेमिट्यान्सका भरमा चलेको छ । युवाहरूले पठाएको पैसाको ठुलो हिस्सा उपभोगमै खर्च भएको छ । स्पष्ट नीति र कानुन बनाएर उद्योगमा लगानीको वातावरण बनाउने हो भने निर्यात प्रवर्द्धन गर्न सकिन्छ, ।’ वार्षिक १० खर्व भन्दा बढी रेमिट्यान्स मुलुक भित्रिँदा समेत औद्योगिक उत्पादनमा सदुपयोग गर्न नसकिएको अध्यक्ष मल्लले बताए ।

मन्त्री रिजालले औद्योगिक नीतिमा सुधार गर्ने काम सरकारको उच्च प्राथमिकतामा रहेको बताए । उनले निजी क्षेत्रससँग मिलेर काम गर्न तयार रहेको भन्दै आफू खुला बजार अर्थनीतिको पक्षमा रहेको बताए । मन्त्री रिजालले भने, ‘म बजारमा आधारित अर्थतन्त्रमा विश्वास गर्ने व्यक्ती हुँ । उद्योग खोल्ने काम, व्यापार गर्ने काम सरकारले गर्ने होइन । निजी क्षेत्रका लागि उपयुक्त वातावरण बनाइदिने हो ।’

औद्योगिक क्षमता विस्तार गरेर निर्यात प्रवर्द्धन गर्ने नीति सरकारको साझा न्यूनतम कार्यक्रममा समेत उल्लेख भएकाले सरकार अव रणनीतिका साथ अघि बढ्ने मन्त्री रिजालको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप