आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्मचारीले फाइल अड्काएको भन्दै सहरी विकास मन्त्रीद्वारा मन्त्री किराँतीको ध्यानाकर्षण

बुधबार, २२ चैत २०७९, २१ : १०
बुधबार, २२ चैत २०७९

काठमाडौँ । विमानस्थल निर्माण योजनाको फाइल कर्मचारीले अड्काएर राखिदिएको भन्दै सहरी विकासमन्त्री सीता गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको ध्यानाकर्षण गराएकी छन् । चुहानडाँडा विमानस्थल बनाउने योजना अघि नबढेको भन्दै मन्त्री गुरुङ बुधबार तेह्रथुमका जनप्रतिनिधिसहित ‘डेलिगेसन’ लिएर पर्यटन मन्त्रालय पुगेकी हुन् । त्यसक्रममा उनले दशकअघि देखि विमानस्थल निर्माणका लागि निरन्तर धाइरहे पनि कर्मचारीले फाइल अड्काएर राखिदिएको गुनासो गरिन् ।

‘मैले दशकभन्दा पहिलेदेखि यो योजनामा मन्त्रालय धाइरहेको छु । विमानस्थलको सर्वे र सम्भाव्यता अध्ययन भइसकेको छ।  तर त्यसपछि मन्त्रालयमै फाइल अड्किएको छ,’ पर्यटनमन्त्री किराँतीको ध्यानाकर्षण गराउँदै  मन्त्री गुरुङले भनिन्, ‘मन्त्रालयमा रोकिएको फाइल शिघ्र अघि बढाइदिनुहोला, बजेट दिनुहोला ।’  गुरुङको डेलिगेसन टोलीमा तेह्रथुमको लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबोहाङ, आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमसहित वडाध्यक्षहरुसमेत सहभागी थिए । 

चुहानडाँडा विमानस्थल निर्माणबारे २०३२ सालदेखि चर्चा भएपनि अहिलेसम्म विमानस्थल बनेको छैन। तर विमानस्थल निर्माणअघि हुनुपर्ने सम्भाव्यता अध्ययन र सर्भे भने पटक पटक भइसकेको छ । ‘सबै सम्भाव्यता भइसक्दा विमानस्थल निर्माण गर्न उपयुक्त छ भन्ने निष्कर्ष छ । फेरि विमानस्थल निर्माण किन अघि बढेन ? तपाईले सोधीखोजी गरेर फाइल अघि बढाइदिनुहोला,’ मन्त्री गुरुङले पर्यटनमन्त्री किराँतीसँग आग्रह गरेकी छिन् । 

जवाफमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतीले आफुले तत्कालै त्यसबारे बुझेर फाइल अघि बढाउने बताए । ‘हिजो के भयो ? मैले जवाफ दिन सक्दिनँ । तर अब त्यसबारे बुझ्छु । भोलि नै यहाँबाट फाइल अगाडि बढ्छ’ उनले भने । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले २०७५ फागुन १५ गते चुहानडाँडा विमानस्थल निर्माण क्षेत्र पुगेर विमानस्थल निर्माणको बचन दिएका थिए । त्यसबेला हातमा ८७ करोडको लागत अनुमानको कागज र विमानस्थलको नक्सा बोकेका मन्त्री अधिकारीले भनेका थिए,  ‘म प्रधानमन्त्री (केपी ओली) ले नै पठाएर यहाँ आएको हुँ, तीन वर्षभित्र विमानस्थल बन्छ, यो स्थानको समृद्धिको ढोका खुल्छ ।’

तर चुहानडाँडामा ११ मिनेट भाषण गरेर ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनका लागि पुगेका मन्त्री अधिकारी दुर्घटनामा परे, त्यो वर्ष योजना पनि अलपत्र पर्‍यो । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीका अनुसार चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि यो वर्ष बजेट विनियोजन भएको छ । सरकारले नीति तथा कार्यक्रम र बजेटमा पनि यो विमानस्थललाई समावेश गरेको थियो । चुहानडाँडा विमानस्थल निर्माण क्षेत्र रहेको आठराई गाउँपालिका तत्कालीन प्रधानमन्त्री ओलीको जन्मथलोसमेत हो । अर्को वर्ष ओली आफैँ आठराई पुगे, जन्मदिन मनाउन । हेलिकप्टरको लस्कर लगाएर जन्मदिन मनाउन गाउँ पुगेका तत्कालीन प्रधानमन्त्री ओलीले भनेका थिए, ‘चुहानडाँडा विमानस्थलको काम छिट्टै सम्पन्न हुन्छ ।’

त्यसपछि पर्यटनमन्त्री बनेका योगेश भट्टराईले पनि विमानस्थल निर्माणको प्रतिवद्धता जनाए । तर उनकै सरकारले भने विमानस्थल निर्माण योजनाका लागि बजेट विनियोजन गरेन । त्यसयता फाइल नै अलपत्र छ । गाउँपालिकाले विमानस्थल निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन सहजीकरण गरिसकेको छ भने विमानस्थलका लागि २ सय ७१ रोपनी जग्गा तयार छ । त्यसमध्ये व्यक्तिका नाममा रहेको १० रोपनीमात्रै मुआब्दा दिनुपर्ने जग्गा छ । हाल यहाँ नजिकमा ताप्लेजुङ र इलाममा मात्रै विमानस्थल छन् । तर दुवै ठाउँमा नियमित उडान छैन । ताप्लेजुङ जाने पर्यटक र यात्रुको संख्या उच्च हुने भएपनि मौषमका कारण विमानस्थल नचल्दा समस्या हुने गरेको छ । चुहानडाँडामा विमानस्थल बनेको अवस्थामा तेह्रथुमसहित पाँचथर र ताप्लेजुङका बासिन्दा र कन्चनजंघा संरक्षण क्षेत्रतर्फ जाने पर्यटकका लागि यात्रा सहज हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप