आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

बारा–२ का मतदाताको गुनासो– चुनाव जितेपछि फर्केर आउँदैनन् नेता

बिहीबार, २३ चैत २०७९, ०८ : ५०
बिहीबार, २३ चैत २०७९

बारा । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि बारा–२ मा यतिबेला विभिन्न दल तथा उम्मेदवारहरु मतदाता फकाउन घरदैलोमा व्यस्त छन् । दलका नेता तथा कार्यकर्ता चुनावी कार्यक्रममा व्यस्त देखिए पनि मतदातामा खासै उत्साह देखिएको छैन ।

महागढीमाई नगरपालिका–१ का ६० वर्षीय बद्री साह सुर्तीको पातबाट बिँडी बनाएर ७ जनाको परिवार पाल्दछन् । खपडाले छाएको सानो कच्ची घरमा बस्दै आएका उनको एक्लो कमाईले पूरै परिवार पाल्नुपर्ने बाध्यता छ ।

‘गाउँमा रोजगारी छैन, खेतीपाती गर्न मल–बिउ महँगो छ,’ उनले भने । आफ्नो कमाईकै भरमा जसोतसो परिवारको गुजारा चलिरहेको बताउने उनी उपनिर्वाचनप्रति त्यति उत्सुक छैनन् ।

यद्यपि आफ्नै गाउँको नेताले चुनाव जिते विकास हुन्छ कि भन्ने उनको अपेक्षा छ । ‘बाहिरको मान्छेलाई गाउँको कुनै मतलव हुँदैन, हाम्रो लागि गाउँकै उम्मेदवारले जित्यो भने राम्रो हुन्छ,’ साहले भने, ‘गाउँमा बाटोघाटो, नाला, खानेपानी, मलखादको धेरै समस्या छ, नाला नहुँदा बर्खामा बाढी घरभित्र छिर्छ ।’

साहजस्तै महागढीमाई नगरपालिका–४ का छविलाल कुशवाहा पनि गाउँको विकास गर्ने राम्रो नेतालाई भोट हाल्ने बताउँछन् । ‘हामीलाई जनताको काम गर्ने राम्रो नेता चाहिएको छ, खराब नेता होइन,’ कुशवाहाले भने ।

उनले विगतका निर्वाचन जितेर गएकाहरु गाउँ फर्केर नआएको गुनासोसमेत गरे ।

सोही वडाका अर्का बासिन्दा जोगिन्दर महतो चुनाव जितेर गएका नेताहरु गाउँ फर्केर नआउने र जनताको कुरा कसैले नसुन्ने गरेको बताउँछन् । ‘चुनावमा मासुभात खुवाउँछन्, पैसा बाँड्छन् तर जितेर गएपछि जनताको लागि विकास कसैले गर्दैन, यसपटक गाउँको विकास गर्ने नेतालाई जिताउनु पर्छ,’ उनले भने ।

बारा २ का अधिकांश जनताको मुख्य पेसा खेतीपाती नै हो । तर खेतीका लागि मलखाद भारतबाट कालोबजारीमा किनेर ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनासो छ ।

c10

महागढीमाई नगरपालिका–२ का प्रमोद कुमार यादव भने जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव यस पटक उम्मेदवार बनेका कारण उत्साहित छन् । केन्द्रीय नेताले चुनाव जितेको खण्डमा आफ्नो क्षेत्रमा विकासका कामले रफ्तार लिने उनको अपेक्षा छ ।

‘स्थानीय नेताहरु धेरैले जितेर गए तर केही राम्रो काम गरेनन्,’ उनले भने, ‘अब केन्द्रीय तहको नेताले जित्यो भने हाम्रो गाउँको विकास हुन्छ कि !’

बारा–२ मा उपेन्द्र यादवले ५ दलीय गठबन्धनबाट उम्मेदवारी दिएका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका यादव बारा–२ बाट संसद छिर्ने दाउमा छन् ।

तर यादवलाई निर्वाचनमा रोक्न जनमत पार्टीका अध्यक्ष राउत एक सातादेखि बारामै छन् । राउतले आफ्नो पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई जिताउन निर्वाचन अवधिभर बारामा रहने जनाएका छन् ।

c14

यादव र कुशवाहासँगै बारा–२ मा नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट अरुण ज्ञवाली, नेपाल मजदुर किसान पार्टीका मुक्ति यादव सहित ३६ जनाले उम्मेदवारी दिएका छन् ।

बारा निर्वाचन क्षेत्र नं २ मा २ नगरपालिका सहित ३ गाउँपालिकाका ४३ वटा वडा छन्, जसमा १ लाख ५ हजार २९८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।

c1c4c5c9c11c12c13c15c16

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप