आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
चलचित्र

‘प्रेम मात्रै होइन, म जे पनि लुकाउन सफल हुन्छु’

मैले अभिनयमा फराकिलो दायरा बनाउन पाएकी छैन : सुरक्षा पन्त
बिहीबार, २३ चैत २०७९

काठमाडौंँ । पछिल्लो समय अभिनयमा राम्रो क्रेज बनाउन सफल छिन् अभिनेत्री सुरक्षा पन्त । उनले सन् २०१५ मा बनेको फिल्म ‘अझैपनि’ मार्फत् अभिनयमा डेव्यु गरेकी थिइन् ।

धनपति, भैरे, रोमियो एण्ड मुना, चङ्गा चेट, गोपी, के घर के डेर र आमा गरेर अहिलेसम्म करिब दर्जन हाराहारीको फिल्म खेलिसकेकी अभिनेत्री सुरक्षाको दर्शकले धेरै रुचाएको फिल्म ‘आमा’ हो । 

एक हलिउड फिल्ममा सानो भूमिका निर्वाह गरेको कारण विश्वको प्रतिष्ठित फिल्म फेष्टिभल कान्समा समेत पुग्न सफल उनको फिल्म ‘बहाव’ अगामी शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।

सुरक्षाले केही अगाडि सबैलाई सरप्राइज दिदै विवाहसमेत गरेकी छन् । प्रस्तुत छ, फिल्म ‘बहाव’, ‘बुलाकी’ तथा विवाह लगायतको बिषयमा अभिनेत्री सुरक्षासँग रातोपाटी प्रतिनिधिले गरेको संक्षिप्त सम्वादः

पछिल्लो समय तपाईंको व्यस्तता के केमा छ ?

एक साताको अन्तराल अर्थात् आगामी २४ गते मेरो फिल्म ‘बहाव’ र ‘बुलाकी’ रिलिज हुँदैछ । यसैको प्रचार प्रसारमा लागि परेको छु । साथै ‘द पोयट रियालटी शो' मा पनि म एक निर्णायक हुँ । त्यसमा पनि व्यस्त छु ।

‘बहाव’ कस्तो फिल्म हो ?

‘बहाव’ एउटा फ्यामिली ड्रामामा निर्माण भएको फिल्म हो । यो परिवारको एउटा विचार पनि हो । एक परिवारको सबै सदस्यको विचार एकअर्काेमा ठोक्किदा के गर्छ भन्ने फिल्मले देखाएको छ । 

फिल्ममा मेरो रोमान्टिक, गम्भीर र पागलपन शैलीको भूमिका छ । ‘बहाव’ फिल्ममा निर्देशक प्रमोद कँडेलको विस्तृत अध्ययन रहेको छ । धेरैले यसलाई साइक्लोलोजिकल थ्रिलर फिल्म भएको अनुमान गरेका छन् । तर यो नितान्त फ्यामिली ड्रामा हो ।

फिल्मको केन्द्रीय भूमिकामा हुनुहुन्छ, व्यवसायिक प्रेसर कतिको छ ?

धेरै प्रेसर लिएकी छैन । म जुन फिल्म अभिनय गर्छु, त्यसमा आफू देखिनु भन्दा पनि कथा देखिनुपर्छ र निर्देशकको काम देखिनुपर्छ भन्ने मेरो धारणा रहँदै आएको छ । आफू देखिने हिसावले काम गर्न मन लाग्दैन । 

महिलाको बिषयबस्तुमा केन्द्रीत भएर फिल्म धेरै नआइरहेको अबस्थामा मैले यो फिल्ममा काम गर्न पाउनु अहोभाग्य हो । त्यो कुराले पनि फिल्मको व्यवसाय राम्रो हुनुपर्छ । अबका दिनमा पनि महिलाका बिषयबस्तुका फिल्ममा अभिनय गर्न पाए हुन्थ्यो भन्ने लागेको छ ।

‘आमा’पछि सुरक्षाले राम्रो फिल्म दिन सकिन भन्छन्, नि ?

‘आमा’पछि मेरो एक मात्र फिल्म ‘के घर के डेरा’ आयो । मल्टिस्टारले भरिएको यो फिल्ममा गरेको अभिनय नोटिसमा पर्न निकै गाह्रो छ । किनभने फिल्ममा थुप्रै चलेका कलाकार थिए । यो फिल्मबाट मैले धेरै अपेक्षा पनि राखेको थिइन । 

एउटा कलाकारका लागि अहिलेको ‘बहाव’ जस्तो फिल्म कहिलेकाहीँ मात्र हात पर्छ । जसमा आफूले चाहेको भूमिका निर्वाह गर्न पाइन्छ । फिल्मले दर्शकमा छाप छोड्नेमा म ढुक्क छु । 

फिल्ममा सुगासँग अभिनय गर्नु भएको छ । अनुभव कस्तो रह्यो ?

फिल्ममा सुगा मेरो प्रतिबिम्ब हो । त्यो सँगको अभिनय अनुभव नौलो र कहिल्यै बिर्सन सक्दिन । फिल्ममा अभिनय अघि मेरो कहिल्यै पनि सुगासँग निकटता थिएन । सुगा देख्थे, बोलेको सुनिथ्यो । तर निकट भएर बस्ने मौका पाएको थिइन । 

यो फिल्मको अभिनयले म सुगासँग एउटै कोठमा लामो समय बिताउने अबसर पाएँ । म उसलाई पिँजडाबाट निस्कन धेरै प्रोत्साहन गर्थे । ढोका खोलेर राख्दिदा समेत उ निस्कन मान्दैन थियो । पिँजडाबाट निस्किएर मेरो छेउमा आएर सुत्न उसलाई करिब दुई साता लाग्यो । सुगाको संगतले मलाई जनावरको मनोविज्ञान बुझ्न धेरै हदसम्म सिकायो ।

हरेक फिल्ममा फरक भूमिका निर्वाह गर्दै आउनु भएको छ । अब कस्तो भूमिका गर्ने इच्छा छ ?

त्यो त थुप्रै छ तर अहिले भन्दिन । यस्तो अभिनय गर्न मन छ भन्यो भने फिल्म आउँदैन । महिलालाई नराम्रो लाग्ने, नराम्रो देखाएको बाहेक सबै प्रकारका फिल्म गर्न मन छ । 

त्यसमा एक्सन पनि पर्छ कि ?

निर्माता, निर्देशकले सोच्नुहुन्छ भने म तयार छु । म आफै पनि एउटा टमब्वाई जस्तो मानिस हँु । सानैदेखि खेलकुदमा धेरै सहभागी हुन्थे । मेरो केटीभन्दा पनि केटा साथीहरु धेरै थिए । फाइट पनि सिकेको थिएँ । मलाई नजिकबाट चिन्ने सबैलाई थाहा छ यो कुरा । 

अहिलेसम्म अभिनय गरेको फिल्मको खास भूमिकामा म छैन । अहिलेसम्म अभिनयमा फराकिलो दायरा बनाउन पाएकी छैन । घरभित्रको महिलाको पात्रको रुपमा मात्र बढी अभिनय गरे । यो पात्रबाट मैले बिद्रोह गर्न खोजेको पनि हो । ‘बहाव’ले पनि त्यसमा इङ्गित गर्छ । 

केही अगाडि हलिउड फिल्मबाट कान्स पुग्नुभयो । आफ्नै फिल्मबाट पुग्ने इच्छा छैन ?

त्यो इच्छा छ, किन नुहुनु । म आफै मेकर भएर आएँ भने त्यो छुट्टै कुरो हो । भविष्यमा फिल्म लेख्ने र निर्देशन गर्ने इच्छा पनि छ । कान्समा हाम्रो नेपाली सर्ट फिल्म त पुगेको छ । त्यहाँ फिल्म जानु जरुरी भैसक्यो । 

कान्स पुगेको समय मैले जति पनि माहोल देखें, सानो सानो देशबाट फिल्म सहभागी भएको देखेँ । फिल्मका विधा निकै राम्रा थिए । नेपालमा पनि धेरै मेकर छन् , जसले कान्स जस्तो फिल्म फेष्टिभलमा नेपाली फिल्म पुर्याउन सक्छ । त्यसमा राज्यको सहयोग चाहिन्छ । 

कान्समा सहभागिता अझै टाढाको कुरा भयो, जबकि स्वदेशमै फिल्म राम्रो चलेको छैन त ?

हामीले केही निश्चित हलमा फिल्म लगाउनुपर्ने बाध्यता छ । त्यसमाथि बलिउड र हलिउडको दबदबा छ । अर्काे कुरो दर्शक हलसम्म तान्ने फिल्म बनिरहेको पनि छैन । 

हाम्रा मेकरले फिल्ममा दर्शक तान्ने हो भने धेरै मिहिनेत गर्नुपर्छ । हामीले हाम्रो आफ्नो कथा भन्दा डराउनु भएन । विदेशी फिल्मबाट प्रभावित भएर हामी ग्लोबल सिनेमा पुग्छौ भन्ने भ्रम त्याग्नु पर्यो । 

सरप्राइज दिदै विवाह गर्नु भयो नि ?

म जे पनि लुकाउन सफल हुन्छु । कान्स जाने कुरोपनि पहिले भनेको थिइनँ । त्यहाँ पुगेपछि बाहिर आएको हो । जे कुरो महत्वपूर्ण छ, त्यसमा कसैको आँखा नलागोस् भन्ने हिसाबले गोप्य राख्छु म । प्रेम पनि त्यही हो । अन्य धेरै कुरो छन्, जो लुकाइरहेकी छु ।

हामी एक वर्ष अगाडि नै विवाह गर्ने तयारीमा थियौ । फ्यामिलीका कारणले सरेर अहिले गरेका हौ । 

विवाहपछि धेरै अभिनेत्री हराएका छन् । तपाईंको फिल्मी करियर पनि त्यस्तै हुने त होइन ?

मेरो श्रीमान् कला क्षेत्रकै व्यक्ति हो । यही क्षेत्रको मानिस भएपछि यहाँ के हुन्छ, कस्तो हुन्छ, कुन बेला खट्नुपर्छ । त्यो सबै बुझ्नु हुन्छ । त्यसैले असहज नहोला, सहजै हुन्छ भन्ने छ । 

अर्काे कुरो लामो प्रेम सम्बन्धमा रहेर एक अर्काेलाई सहयोग गर्दै आएका हौं हामी । उहाँले मलाई गरेको सहयोगको बिषयमा एउटा इन्टरभ्यूले पुग्दैन । बेष्ट फ्रेन्ड, प्रेमी हुँदै विवाहमा हामी पुगेका हौ । त्यसैले विवाहपछि पनि मेरो करियर अहिले झैं सहज नै होला ।

पहिलो पेसा इन्जिनियरिङ, के त्यो छोडेको हो ?

अभिनयको व्यस्तताले इन्जिनियरिङ अगाडि बढाउन नभ्याएको हो । निकट भविष्यमा आर्ट र इन्जिनियर मिसाएर केही गर्न मन छ । आर्थिक रुपमा अभिनयभन्दा इन्जिनियरिङ बलियो होला । तर अहिले एउटा बिन्दुमा पुग्न सकियो भने कला क्षेत्रबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ । 

कतिपयले इन्जिनियरिङमा पैसा छ, अभिनयमा छैन भन्छन् । मेरो विचारमा अभिनयमा पनि राम्रो पैसा छ । पैसाकै खोलो बग्न सक्छ । कलाकारले अभिनयबाट राम्रो कमाएर काठमाडौँमा घर, गाडी सबै जोडेका छन् । कलाकारितमा भर्खर भर्खर भित्रिएकाको लागि भने गाह्रो छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया