आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ब्लग

के हरेक शुक्रबार ‘गुड फ्राइडे’ नै हो त ?

जिससको मृत्युसँग जोडिएको छ ह्याप्पी ‘गुड फ्राइडे’
शुक्रबार, २४ चैत २०७९, १२ : ३१
शुक्रबार, २४ चैत २०७९

आज ‘गुड फ्राइडे’ । सामान्यतया साताको हरेक शुक्रबारलाई ‘गुड फ्राइडे’ भनेर उत्सव मनाउने चलन छ । नेपालमा पनि हप्ता भरीका कामकाजहरु सकेर विश्राम लिने दिनका रुपमा शुक्रबारलाई लिइने गरिन्छ । शुक्रबारका दिन सबै कामहरु समयमै सकेर साँझतिर साथीभाइ, आफन्त भेटघाट गर्ने खानपिन गर्दै रमाइलो गर्ने चलन छ । सहर बजारतिर रेस्टुरेन्ट, पप, बारहरू खचाखच भरिने दिन पनि शुक्रबारै हो ।  

खासमा हरेक फ्राइडे गुड फ्राइडे नै हो त ? अथवा फ्राइडेलाई गुड किन भनियो ? के हामीले सोचेको जस्तो बिश्राम लिन पाइने र रमाइलो गर्ने दिन भएर नै फ्राइडेलाई गुड भनिएको हो त ? यसको बास्तविक अर्थ अलि फरक छ । ‘गुड फ्राइडे’ शब्द आज भन्दा करिब दुई हजार वर्ष पहिले अर्थात् पहिलो शताब्दीतिर चलाईएको थियो । अंग्रेजी शब्दबाट रुपान्तरण गरिएको उक्त शब्दलाई अंग्रेजीमा होली फ्राइडे वा ग्रेट फ्राइडे पनि भनिन्छ । जसलाई नेपालीमा असल शुक्रबार वा शुभ शुक्रबार भन्ने गरेको पाइन्छ ।  

इसाई धर्मावलम्बीहरुले हरेक वर्षको मार्च महिनाको २१ तारिखका दिनपछि पर्ने पूर्णिमा पछिको आइतबार ‘इष्टर सन्डे’  मनाउने चलन छ । ख्रीष्टियन समुदायको महत्वपूर्ण पर्वमध्ये इष्टर सन्डे एक विशेष पर्व मानिन्छ । उक्त इष्टर सन्डेको ठ्याक्कै दुई दिन अघि पर्ने शुक्रबारलाई नै गुड फ्राइडे भनेर मनाइने चलन छ । 

यस वर्षको इष्टर सन्डे  यही अप्रिल ९ तारिखमा पर्छ । त्यसैले त्यसको दुई दिन अघि अर्थात् आज अप्रिल ७ तारिखमा गुड फ्राइडे रहेको छ । सामान्यतया हरेक वर्षको अंग्रेजी महिनाको मार्च २१ पछि अप्रिल १५ तारिखको बीचमा गुड फ्राइडे पर्ने गर्छ । यसरी हेर्ने हो भने गुड फ्राइडे हामीले सोचेको जस्तो सधैँको शुक्रबार गुड फ्राइडे नभएर केवल वर्षको एक पटक मात्र हुन्छ । 

‘गुड फ्राइडे’ को वास्तविकता ?  

‘गुड फ्राइडे’ इष्टर सन्डे पर्वसँगै जोडिएर आउने भएकोले यसलाई बुझ्न पहिले इष्टर सन्डेका बारेमा बुझ्नु पर्छ । इसाई धर्मावलम्बीहरुका अनुसार जिजस क्राइस्ट मृत्युबाट बौरिएर उठेको दिनको सम्झनामा इष्टर सन्डे  मनाउने चलन छ । र, उक्त आइतबारको दुई दिन अघि शुक्रबार उनै जिजस क्राइस्ट क्रसमा निधन भएको थियो । 

त्यसैले, जिजस क्राइस्ट क्रसको निधन भएको उक्त दिनको सम्झनामा असल शुक्रबार अथवा ‘गुड फ्राइडे’ मनाउने चलन सुरु भएको हो ।  

किन भनिन्छ ‘गुड फ्राइडे’ ? 

बाइबल रक्षाशास्त्री तथा लेखक कमल अधिकारीका अनुसार इसाई धर्मावलम्बीहरुको ईश्वर जिसस क्राइस्ट एक निर्दाेष र पापरहित हुनुभए तापनि उहाँलाई दुई हजार वर्षअघ मानव जातिको पापको कारण क्रसमा टाँगिएर मारियो । 

जिसस क्राइस्ट शुक्रबार बिहान ३ बजेतिर आफ्ना चेलाहरुसँगै इजरायलको गेटसमनीको बगैचामा प्रार्थना गरिहनुहँदा गिरफ्तारमा पर्नुभयो । लगत्तै बिहान ९ बजे क्रसमा टाँगिनुभयो र ६ घण्टा क्रसमा बिताउनु भई दिउँसो ३ बजे उहाँले आफ्नो प्राण त्याग्नुभयो । 

“मानिसको पाप मुक्तिका लागि एक निष्कलंक बलिदानको खाँचो थियो, जो परमेश्वर स्वयम् मानिस भई यस संसारमा आउनु भएर क्रसमा मरी पुरा गर्नुभयो,” अधिकारी भन्नुहुन्छ, “हाम्रो पापका कारण हामी मर्नुपर्ने थियो तर त्यसको साटोमा जिसस क्राइस्टलृ जयन दिनु भएकोले हामीले हर्ष मनाउँदै यस दिनलाई असल र पवित्र भन्ने गर्दछौँ” । 

गुड फ्राइडेको दिन आज विश्वका अधिकांश देशमा सार्वजनिक बिदा दिइन्छ । पश्चिमा देशमा यस दिनलाई मानव जातिको इतिहासमा निकै गम्भीर मान्ने गरिन्छ । त्यसैले, यस दिनमा अधिकांश व्यापार, स्कुल र विश्वविद्यालय पनि बन्द गरिन्छन् । 

गुड फ्राइडेको दिनमा ख्रीष्टियनहरु उपवास बस्छन् । प्रभातफेरीमा सहभागी हुन्छन् । चर्चहरुमा विशेष सेवा सञ्चालन गरिन्छ, जसमा जिससको मृत्युको वर्णन गर्ने भजन, लघु नाटकका साथै अमर वचन प्रस्तुत गर्ने चलन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गोविन्द विश्वकर्मा
गोविन्द विश्वकर्मा
लेखकबाट थप