आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्यसम्बन्धी नीति अब सहरउन्मुख क्षेत्रमा केन्द्रित गर्नुपर्छ : स्वास्थ्यसचिव डा. पोखरेल

शुक्रबार, २४ चैत २०७९, २० : १६
शुक्रबार, २४ चैत २०७९

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले स्वास्थ्यको पहुँचमा नपुगेकालाई समेट्नुपर्ने बताएका छन् । 

‘सबैका लागि स्वास्थ्य’ भन्ने मूल नाराका साथ स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा डा पोखरेलले स्वास्थ्यसम्बन्धी नीतिहरू विगतमा गाउँ केन्द्रित रहेकोमा अब सहरउन्मुख क्षेत्र केन्द्रित बनाउनुपर्ने बताए ।

‘६५ प्रतिशत मानिस सहरउन्मुख क्षेत्रमा धमाधम सरेका छन्, गाउँमा ३५ प्रतिशन जनता छन् । त्यसैले कार्यक्रम र नीतिहरू परिवर्तन गर्नुपर्ने बेला आएको छ,’ उनले भने ।

उनले कार्यक्रममा जनशक्ति व्यवस्थापन चुनौती थपिएको बताए । बजारमा स्वास्थ्यकर्मीको उपलब्धता हुँदाहुँदै सरकारले लिन नसकेको भन्दै उनले स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने जनशक्तिलाई कसरी व्यवस्थापन गर्ने, नयाँ जनशक्तिलाई पनि कसरी ल्याउने भनेर सम्बन्धित निकायहरूसँग बहस गर्नुपर्ने बेला आएको प्रस्ट पारे ।

हात्तीपाइले रोगविरुद्धको कार्यक्रम ६० जिल्लामा सफल हुँदा अन्य जिल्लामा १५ पटक कार्यक्रम गर्दा पनि किन सफल हुन सकिएन भनेर सोच्न र काम गर्नुपर्ने बेला आएको उनको भनाइ छ ।

यस्तै, कार्यक्रममा डा. देवी प्रसाद प्रसाईँले समग्र स्वास्थ्यमा गरिएको लगानीबाट १० गुणा फाइदा हुने बताए । ‘केही स्वास्थ्य क्षेत्रमा एक रुपैयाँ लगानी गर्दा १४ रुपैयाँ फिर्ता हुने हुन्छ, यस्तै एक रुपैयाँ लगानी गर्दा ८ रुपैयाँ फाइदा हुने हुन्छ,’ उनले भने, ‘पोलियो खोपहरूमा एक रुपैयाँ लगानी गर्दा २९ गुणा फाइदा हुन्छ ।’

त्यसैले स्वास्थ्य क्षेत्र खपत गर्ने क्षेत्र नभएर लगानीको क्षेत्र हो भनेर बुझ्न आवश्यक रहेको उनले सुनाए ।

स्वास्थ्य क्षेत्रमा सन् २००३ मा ५० प्रतिशत सरकारको लगानी र ५० प्रतिशत दाताहरूको लगानी थियो । २०२० सम्मको आँकडालाई हेर्दा दाताहरूको लगानी ५० प्रतिशतबाट घटेर ३६ प्रतिशत झरेको र सरकारको लगानी बढेर ७४ प्रतिशत पुगेको डा. प्रसाईँले बताए ।

बिरामी पहिचान, उपचार, औषधिमध्ये ६५ प्रतिशत खर्च औषधिमै हुने गरेको उनको भनाइ छ ।

यस्तै, कार्यक्रममा जनस्वास्थ्यविद् डा. शरद वन्तले प्राथमिक स्वास्थ्यको वर्तमान समयमा पनि सान्दर्भिकता नहराएको बताए । प्राथमिक स्वास्थ्य सेवा लागू गर्नका लागि विश्वभर चुनौती भए पनि नेपालमा विस्तार भएको उनले सुनाए । वर्तमान समयमा प्राथमिक स्वास्थ्य सेवा ओझेलमा परेको उनको भनाइ छ ।

डा. वन्तले भने, ‘स्वास्थ्य क्षेत्रमा हार्डवेयर र सफ्टवेयर हुन्छ । हार्डवेयर भनेको विज्ञान प्रविधि, त्यसका संरचनाहरू, मानस्रोतहरू, कार्यक्रम हेर्न, देख्न र छाम्न सक्छौँ । सफ्टवेयर भनेको मूल रुपमा प्राथमिक स्वास्थ्य सेवाले वकालत गर्ने कुरा, समानता र सामाजिक न्याय हो ’।’

जबसम्म समानता र सामाजिक न्याय प्राथमिक स्वास्थ्य केन्द्रमा हुँदैन, तबसम्म आधुनिक हार्डवेयर अर्थात् संरचना निर्माणले प्राथमिक स्वास्थ्य सेवा नहुने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप